पहिचान खोज्दै बाघनाथ बाबा (जङ्गल कुटी)

लक्की चौधरी

आजभन्दा एकसय ९८ वर्ष पहिले हालको गोवरडिहा ८, दाङमा भुवनेश्वरनाथ थारुले जङ्गलको बीचोबीचमा एउटा कुटी स्थापना गराउनुभएको थियो । सोही गाउँका उल्टाहा थारुले ती बाबालाई कुटी बनाई त्यहाँ बस्न सहयोग गरेका थिए । वि.सं. १८७९ मा ती बाबाले कुटी स्थापना गराएको इतिहास छ । बाबा शिव भगवानका परम भक्त हुनुहुन्थ्यो । उहाँले स्थापना गराउनु भएको कुटी नै अहिले जङ्गल कुटीको नामले परिचित छ । ती बाबा बुटवलको चारपाला क्षेत्रबाट आउनुभएको गाउँलेलाई बताउनु भएको थियो । नाम भुवनेश्वरनाथ भएपनि उहाँलाई गाउँमा बाबाको नामले जानिन्थ्यो । उहाँ एक कुशल बैद्य हुनुहुन्थ्यो । त्यतिबेला अङ्ग्रेजी औषधिमुलोको व्यवस्था गाउँमा थिएन । गाउँका मानिस विरामी पर्दा, दुःख संकट आइपर्दा तिनै बाबाले जडीबुटी र झारफुँकले उपचार गर्नुहुन्थ्यो । गाउँमा ठूलै महामारी आइपर्दासमेत बाबाले त्यसको निराकण गर्नुहुन्थ्यो । गाउँलेहरुलाई सहयोग गर्ने भएपछि उहाँको मान सो क्षेत्रमा अचाक्ली बढ्यो । गाउँका मानिसले उहाँलाई संरक्षक र देवताकोरुपमा मान्न थाले । हुन पनि ती बाबामा अदृश्य शक्ति थियो रे । बाघमा सवार भएर गाउँ डुल्नुहुन्थ्यो । त्यसैले पछि उहाँको नाम बाबा बाघनाथ राखियो । अहिले त्यही सिद्ध बाघनाथ बाबाको नाम दिइएको छ । गाउँघरमा परम्परागत रुपमा जङ्गल कुटी भनेर    बुझिन्छ ।

ऐतिहासिकता
करिब दुई सय वर्ष अघिको कुटी भएपछि त्यसै पनि ऐतिहासिक हुने नै भयो । ऐतिहासिक तथा धार्मिक हिसावले पनि यसको गरिमा बढ्दो छ । पूर्वमा चिमचिमे खोला, पश्चिम सुपैला खोला, दक्षिण डडुवा पर्वत र उत्तरमा गोवरडिहा र धैरेनी थारु गाउँको बीचमा अवस्थित जङ्गल कुटी त्यस क्षेत्रको प्रमुख धार्मिक स्थलको रुपमा परिचित छ । तर जसरी यसको ऐतिहासिकता र धार्मिक महत्व छ, त्यो स्तरको पहिचान बनाउन भने सकेको छैन । दाङ आदिबासी थारु मुदायको उदगमस्थल मानिन्छ । दाङ–देउखर उपत्यकामा प्राचीनकालदेखि थारु समुदायको बसोबास थियो, अद्यापि छ । थारु गाउँको जङ्गलमा कुटी रहेकाले यसको प्राचिनता त्यसै पनि झल्किन्छ । उहिले तराईमा आदिबासी थारु बाहेक अन्यको बसोबास थिएन । तराईको घना जङ्गल फाँडेर बस्नयोग्य बनाउने थारु जाति नै थिए । मानवबस्ती देखेपछि भुवनेश्वरनाथ आफू थारु भएको हैसियतमा सो ठाउँ छनौट गरेको हुनुपर्छ । भुवनेश्वरनाथ आफू त्यहाँ बस्दा प्रशस्त चेला बनाउनुभयो । चेलाहरु सबै थारु थिए । कारण, त्यतिबेला थारु बाहेक अरु जातिको बसोबास नै थिएन । उहाँको शेषपछि आफ्नै थारु चेलाले सन्तान दरसन्तान सो कुटीको संरक्षण गर्दैआए । अद्यापि थारुले नै त्यसको संरक्षण तथा पूजापाठ गर्दैआएका छन् ।

धार्मिक पहिचान
प्राचीन धार्मिकस्थल भएकाले यसको पहिचान पुरानो छ । नेपाल तथा भारतका भक्तजन यहाँ धार्मिक कार्यकालागि आउँछन् । विशेषगरी थारुको पर्व माघ, शिवरात्री र दशैं तथा मेला महोत्सवमा जङ्गल कुटीमा भक्तजनको घुइँचो लाग्छ । उचित बाटोघाटोको व्यवस्था नहुुँदा भक्तजन बाटैमा अलमलिने समस्या भने आइपर्छ । जङ्गलको बीचमा भएकाले एक्लै दुक्लै त्यहाँ जान पनि भक्तजन डराउँछन् । बाटोमा जङ्गली जीव जनावर तथा अपराध कार्य गर्ने मानिसको डर भक्तजनलाई हुनेगर्छ । यद्यपि अहिलेसम्म जङ्गली जीव जनावरले भक्तजनको हानी भने नगरेको स्थानीयको बुझाई छ । बाटो भड्केका भक्तजनलाई बाघनाथ बाबा स्वयम् बाघको अवतार लिएर बाटो देखाउने काम गर्दैआउनुभएको कुटीका पूजारी देवीसिंह थारुको भनाई छ । “कुटी जङ्गलमै भएकाले जीव जनावर आउने गरेको मानिसको बुझाई छ । तर त्यस्तो होइन, बाघनाथ बाबा नै कहिले बाघको अवतारमा, कहिले सर्पको अवतारमा त कहिले अन्य जीव जनावरको अवतारमा भेटिनुहुन्छ” पूजारी थारुले भने, “भक्तजनलाई अहिलेसम्म हानी र दुःख भएको पाइएको छैन, बाटो बिर्सेकालाई बाघको अवतारमा बाघनाथ बाबा स्वयम् बाटो देखाउने गर्नुभएको छ, यही यहाँको धार्मिक शक्ति हो ।” आफू स्वयम्लाई पटक पटक सर्पको रुपमा दर्शनभेट दिनुभएको तर कुनै हानी नोक्सानी नगर्नुभएको पूजारी थारुको भनाई छ ।

लेखकः लक्की चौधरी

भक्तजनहरुले सन्तान प्राप्ती, दुःखबाट छुटकारा, दुःख विमार भगाउन तथा श्रीसम्पत्तिको जोहोको भाकल गरी बाघनाथ बाबाको दर्शन    गर्छन् । भाकल गरेर फर्किन्छन् । पूरा भएपछि पुनः दर्शन गर्न आउनेगरेको पूजारी थारु बताउँछन् । थारु देवताको रुपमा पहिचान बनेकाले अहिलेसम्म बाघनाथ बाबालाई मासु, रक्सी, खीर, मिठाई लगायतका सामग्री चढाउने गरिएको पूजारीको भनाई छ । साँझ विहान आफूहरु पूजा गर्ने र समयसमयमा भजनकीर्तन तथा प्रवचनको आयेजना गर्नेगरेको उनले बताए । यसअघि आफ्ना बुवा जेदुराम थारु पूजारी भएपनि २०३१ सालदेखि हालसम्म आफूले नियमित पूजा तथा संरक्षणको जिम्मेवारी लिएको उनले बताए । बाघनाथ बाबाको संरक्षण तथा पूजाका लागि धेरै पूजारी आए पनि बाघनाथ बाबाले चाहेमा मात्र त्यहाँ टिक्न सकिने उनको बुझाई छ । बाघनाथ बाबालाई चित्त नबुझेमा अनेक रुप धारण गरेर दुःख दिने र डर त्रास देखाएर पूजारीलाई विस्थापित गराउने गर्नुभएको छ । पूजारी देवीसिंह थारु भन्छन्, “पूजापाठ र स्याहारमा चित्तबुझे बाघनाथ बाबाले सबै राम्रो गर्नुहुन्छ, चित्तबुझ्दो नभएमा अनेक दुःख दिएर विस्थापित गराउनुहुन्छ । पूजापाठमा अलिकति दाँयाबायाँ हुनेवित्तिकै परिवारका सदस्यहरुलाई अनेक दुःख विमारी लाग्नेगरेको छ ।” बाघनाथ बाबाले चाहेसम्म मात्र आफू पनि कुटीको संरक्षण र पूजापाठमा रहने उनको बुझाई छ ।

पूजारी देवीसिंह थारु

कुटीमा बाघनाथ बाबाको मूर्ति छैन । उहाँले प्रयोग गरेका खराउ, शंख, कमन्डलु आदि मात्र छ । त्यसैलाई बाघनाथ बाबाको मूर्ति स्मरण गरेर नियमित पूजापाठ गरिन्छ । समय–समयमा गाउँबासी तथा भक्तजनले बाघनाथको विभिन्न रुपमा प्रत्यक्ष दर्शन पाउने हुनाले उहाँको शक्ति जीवितै रहेको पूजारीको भनाई छ । “हामी आफूले विभिन्न स्वरुपमा बाबाको दर्शन पाइरहेकै छौं, त्यसले उहाँको शक्तिलाई प्रत्यक्ष जीवित रहेको अनुभव गराउँछ” पूजारी थारुले स्मरण गरे । उहिले बाबा बाघनाथले जङ्गलको बीचमा कुटी बनाएको भनेर तत्कालिन प्रशासनले समातेर थानामा लग्दा पनि बाबा आफै छुटेर आउँथे रे । जति थुन्दा पनि उहाँलाई थुन्नै नसकिने थियो भन्ने किंवदन्ती रहेको पूजारी सम्झन्छन् । बाघमा सवार भएर डुल्ने बाबा बाघनाथ एक अदृश्य शक्ति भएकाले जोकोहीले उहाँलाई प्रत्यक्ष देख्न सक्दैनथे । जुन मानिसलाई बाबाले देखाउन चाहेको हो उसैले मात्र उहाँको प्रत्यक्ष अवलोकन गर्न सक्थ्यो भन्ने पूर्खाहरुले बताउने गरेको पूजारी थारु सम्झन्छन् ।

भौतिक संरचना
‘जङ्गल कुटी’ धार्मिक स्थल लमही बजारदेखि करिब १९ किलोमिटर दक्षिणमा अवस्थित छ । पूर्व–पश्चिम लोकमार्गदेखि सिसिहनियाँ गाउँहुँदै त्यतिकै दूरी पार गर्दा पनि जङ्गल कुटी पुग्न सकिन्छ । धार्मिक वनको नाममा अहिले ९ विघा जमिन तारबार गरिएर संरक्षण गरिएको छ । तर त्यसले औपचारिक रुपमा धार्मिक वनको मान्यता पाइनसकेको अवस्था छ । मन्दिरको नाममा जग्गा दर्ता छैन । उहिलेदेखि सानो कच्ची कुटीमा रहेको धार्मिक स्थल अहिले पक्की निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्डको सहयोग र स्थानीय सांसदको संसदीय कोषको लगानीमा एकतले पक्की भवन निर्माण गरिएको छ । पहिलेको तुलनामा कुटी बलियो र फराकिलो छ । बस्ने व्यवस्थित प्राङ्गण र खानेपानीको व्यवस्था गरिएको छ । पुरानो कुटी नभत्काएरै त्यसको सरक्षण गर्दै पक्की भवन निर्माण गरिएको छ । बाबा बाघनाथको समाधीस्थल पनि भित्रै छ । त्यही समाधी छेउमा बाबाका खराउ, कमण्डलु, शंख र उहाँले प्रयोग गरेका अन्य सामग्री छन् ।

जङ्गल कुटीलाई थारु समुदायले देउथानको रुपमा पनि चिन्छन् । तर वास्तविक पहिचान जङ्गल कुटीकै नामले बनेको छ । कुटीसम्म पुग्ने बाटोघाटो कच्ची छ । ठाउँ ठाउँमा समान्य ग्राभेल गरिएको भएपनि पर्याप्त छैन । बाटोमा ठूलठूला रुख र बुट्यान छन् । बर्खाका बेला गाडी लिएर त्यहाँ पुग्न भक्तजनलाई ठूलो सकस छ । पूर्वमन्त्री तथा राजपरिषदका सभापति पर्शुनारायण चौधरीको गाउँ ईलाकामा जङ्गल कुटी अवस्थित भएपनि भौतिक संरचनामा खासै उनको योगदान देखिदैन । प्रचार प्रसारको कमीले पनि बाघनाथ बाबाको पहिचान ओझेलमा छ । चौधरीको गाउँमा आलीशान भवन छ । त्यहाँको सिंहदरवारको नामले परिचित भवनको केही टाढा अवस्थित जङ्गल कुटीको संरक्षण भएको छैन । त्यस क्षेत्रको प्रमुख धार्मिकस्थलको नामले परिचित जङ्गल कुटीमा सरकारी लगानी पुगेको छैन । न त सरकारले त्यसलाई पहिचान गर्न सकेको छ । त्यही कारण बाघनाथ बाबाको पहिचान अझै बन्न सकेको छैन ।

सुझाव
दुई सय वर्ष पुरानो प्राचीन इतिहास बोकेको धार्मिक स्थलको पहिचान राज्यले गर्न नसक्नु दुःखद हो । अहिले देश संघीयतामा गएको छ । तीन तहका सरकार बनेको छ । प्रदेश तथा स्थानीय सरकारले जङ्गल कुटीको धार्मिक पहिचान कायम गर्न आवश्यक लगानी बढाउन अनिवार्य छ । राम्रो र व्यवस्थित लगानी गरेर त्यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलकोरुपमा विकास गर्नु आवश्यक छ । रमणीय प्राकृतिक छटाले भरिभराउ रहेको सो क्षेत्रलाई व्यवस्थित बनाउन सके वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिन्छ । त्यसले स्थानीय स्तरमा आर्थिक प्रवद्र्धनको ढोका खुल्नेछ । पूर्व–पश्चिम लोकमार्गबाट नजिकै रहेकाले पनि बाटोघाटो निर्माण गर्नमा खासै ठूलो लगानी गर्नु पर्दैन ।

जङ्गलको बीचमा रहेकाले त्यो क्षेत्र सरकारी वनमा अवस्थित छ । त्यसलाई धार्मिृक वनको नाम दिएपनि औपचारिकता पाएको छैन । कुटीको नाममा कुनै सरकारी प्रमाण प्राप्त छैन । त्यसको संरक्षणका लागि पनि त्यस क्षेत्रलाई धार्मिक वनकोरुपमा दर्ता गर्नु अनिवार्य छ । भक्तजनका लागि स्नान गर्ने पोखरी, प्रवचन गर्ने सभाहल, ध्यान केन्द्र तथा आवत जावतका लागि बाटो निर्माण अनिवार्य छ । अहिलेसम्म थारु समुदायका पूजारीले संरक्षण र पूजापाठ गर्दैआएकाले सो कुटीको प्रमुख संरक्षणका लागि थारु पूजारी नै नियुक्तीको वैधानिक व्यवस्था गरिनुपर्छ । धेरै धार्मिक स्थलमा परम्परागत पूजारीलाई विस्थापित गरी अन्य समुदायका पूजारी नियुक्त गर्ने राजनीतिक चलखेल देखिदैआएको छ । जङ्गल कुटी थारुले निर्माण गरेको कुटी र पूजारी पनि शुरुदेखि थारु नै रहेकाले त्यसको संरक्षणको हक पनि थारुकै लाग्छ । जङ्गल कुटीको संरक्षण तथा विकासका लागि सरकारी तवरबाटै आर्थिक खर्चको व्यवस्थापन तथा स्थानीयकै नेतृत्वमा संरक्षण समिति गठन गरी काम गर्नसके विकास तथा संरक्षणको कामले गति लिनसक्छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी सोही क्षेत्र देउखुरीमा जाने निर्णय भएपछि अब सो क्षेत्रको विकास हुनेमा आशा भने गर्ने ठाउँ छ ।  त्यसमा प्रदेश तथा स्थानीय सरकार तथा स्थानीय गाउँबासीले समुचित ध्यान दिनुपर्छ ।

तपाईको प्रतिक्रिया