संकटमा रहेको थारु ग्रामथान संरक्षणका लागि अभिमुखीकरण कार्यक्रम


सुनिल चौधरी
झुम्का, मंसिर १४ गते । तराइका भूमिपुत्र थारु समुदायको ऐतिहासिक धरोहर तथा पहिचानकै रुपमा रहेको डिहवार (ग्रामथान) संकटमा छ । भूमाफियाहरुले राज्य तथा स्थानीय तहको सरकारसँग मिलेमतो गरी ग्रामथान विस्थापन गर्ने प्रपञ्चमा लागेका छन् ।

इटहरी उपमहानगरपालिका ८ टेंग्राटोलस्थित बिच्छुधामी ग्रामथान र जितियाघाट २०७५ जेठ २० गते प्रहरी लगाएर भूमाफियाले भत्काएका थिए । रामधुनी नगरपालिका ४ स्थित इक्राकीटोलको डिहवार ग्रामथान बिस्थापित गर्न २०७६ मा जिल्ला अदालतमा मुद्दा चल्यो । मर्मत सम्भारमा समेत बाधा गर्ने अदालतबाट स्टेअर्डर ल्याएर दुःख दिनेसम्मको काम गरे ।

यसैगरी रामधुनी ३ को परियारपुर टोलको डिहवारथानको जग्गा ब्यक्तिले अतिक्रमण गर्दै घर नै ठड्याएको छ । यति मात्र हैन, ग्रामथानको सांस्कृतिक भुमि टाठाबाठाले कित्ताकाट गरी हत्याउन समेत चलखेल गरिरहेका छन् । इटहरीको मुख्यबजार छेउमा सडक बिकासको नाममा बिकल्प बिना अतिक्रमण गरी बिस्थापित हुने अवस्थामा ग्रामथान पुगेको छ ।

इटहरी टेंग्राटोलकै बिच्छुधामी ग्रामथानको प्राङ्गणमा गैरथारुले शिव मन्दिर बनाएर थारु संस्कारअनुसार पुजापाठमा बन्देज लगाएका छन् । सयौ ग्रामथान बिस्थापित गरेर धरोहर नै मास्ने षडयन्त्र भइरहेको थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

संंस्कृति बिरोधि यस प्रकारका घटनाले प्रष्ट हुन्छ कि ऐतिहासिक धरोहर त्यसमा पनि थारु समुदायको डिहवार ग्रामथान संरक्षणका लागि सरकारले कुनै योजना ल्याएन । थारु कल्याणकारिणी सभा नगर समिति देखि जिल्ला, केन्द्रिय समिति सम्म पनि संरक्षण गर्नु पर्ने चेतना देखिएको छैन । यस्लेगर्दा ग्रामथान संकटमा पर्दैगएको छ ।

ग्रामथान संरक्षण समिति सुनसरी इटहरीको नेतृत्वमा डिहवार (ग्रामथान) संरक्षण रणनीति तयार गरिएको छ । जिल्ला प्रशासन कार्यलयमा एक बर्ष अगाडि दर्ता भएर संरक्षणका कार्य गर्दैआएको छ । समस्यामा परेका ग्रामथानलाई संरक्षणका लागि त्यहाँका स्थानियहरुलाई अभिमुखिकरण, अन्तरसम्वाद, छलफल मार्फत सचेतना जगाउने काम समितिले गरिरहेको छ ।

यसै क्रममा बैधानिक तथा कानुनीरुपले स्थानियतह मार्फत नै संरक्षण हुनुपर्ने मान्यता राख्दै छलफलबाट प्रदेश १ स्तरीय संरक्षण रणनीति तयार भएको छ । लाहुर्निप काठमाडौंको सहयोगमा समितिले थारु वसोवास भएको प्रदेशका ४ जिल्ला सुनसरी, मोरङ, झापा र उदयपुरको ग्रामथानको ग्रामिण र नेतृत्वकर्ता पंक्तिका ब्यक्तिहरु सहभागी गराई रणनीति तयार गरिएको हो ।

कार्यक्रमबाट घोषणापत्र जारी गर्दै कार्यान्वयन गराउने प्रतिबद्धता समेत गरिएको छ । रणनीतिअनुसार स्थानिय सरकार संचालन ऐन–२०७४ का आधारमा थारु जातीय धार्मिक तथा सांस्कृतिक महत्वका ग्रामथानहरु दर्ता गर्ने प्रक्रियालाई युद्धस्तरीय ढंगबाट अभियानका रुपमा अगाडि बढाउने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ ।

जिल्ला स्तरीय ग्रामथान अनुगमन समिति गठन गरी ग्रामथान संरक्षण बारे थारु तथा अन्य समुदायलाई सचेत, सक्रिय र सहयोगी बनाई नियमित अनुगमन गर्ने प्रतिवद्धता पनि गरिएको छ । थारु समुदायलाई भुमि, संस्कृति र अन्य अधिकार सम्बन्धी सचेतना बढाउने कार्य र कार्यक्रमहरु निरन्तर जारी राख्ने प्रतिवद्धता गरिएको छ ।

कार्यक्रममा लाहुर्निप क्षेत्रिय प्रमुख गोपाल देवान, दिलबहादुर थेवे, ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरी, सचिव साबित्रा चौधरी, पत्रकार धिरेन्द्र चौधरी, सुनिल चौधरीले सहजिकरण गरेका थिए । कार्यक्रममा चार जिल्लाका ३५ जना थारु अगुवाको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया