फोनिजको २४ औं स्थापना दिवस : पहिचानको मुद्दामा साझा धारणा


हमार पहुरा डट कम
विराटनगर, साउन २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २४ औं स्थापना दिवस आज भव्यताका साथ मनाएको छ । विराटनगरमा आयोजित कार्यक्रमको उदघाटन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी थारुले गर्नुभयो ।

मन्त्री मोदीले कार्यक्रमको उदघाटन सांस्कृतिक रुपमा दमाहा बजाएर गर्नुभयो । सो अवसरमा उहाँले पहिचानको मुद्दामा सबै आदिबासी जनजातिबीच एकता अनिवार्य रहेको बताउनुभयो । प्रदेशको नामकरण ऐतिहासिक पहिचानको आधारमा हुनुपर्ने चर्चा गर्नुहुँदै उहाँले आगामी दिनमा सबै जनजातिको एकताको ताकतले प्रदेशको नाम पहिचानको आधारमा संंशोधन गर्न सकिने बताउनुभयो ।

आदिबासी थारु समुदायले पनि आफ्नो पहिचानको आधारमा प्रदेश प्राप्त गर्न नसकेको चर्चा गर्नुहुँदै मन्त्री मोदीले सबैको साझा प्रयासले त्यो सम्भव रहेको बताउनुभयो । पहिचानको लडाईमा पत्रकारको साथ र सहयोग पनि अपरिहार्य रहेको उहाँको भनाइ छ । जनजातिको मुद्दामा फोनिजले खेलिरहेको भूमिकाको उहाँले प्रसंशा गर्नुभयो ।

पहिचानवादी नेता प्रेम लिम्बुले प्रदेश १ को नाम पहिचानको आधारमा परिमार्जन नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो । प्रदेश १ मा जारी आदिबासीको आन्दोलनमा केही मिडियाले अफवाह फैलाउने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो । अव विभेद स्वीकार्य नभएको भन्दै उहाँले प्रदेश १ को नामकरणमा किरात, लिम्बुवानको पहिचान अनिवार्य रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका नेता बिक्रम लुइटेलले प्रदेश १ को नामकरणमा साझा पहिचानमा जान सकिने भए पनि त्यसका लागि दलीय सहमति आवश्यक रहेको बताउनुभयो । प्रदेश १ मा जारी आन्दोलन शान्तिपूर्ण रुपमा हुनुपर्ने र पहिचानको मुद्दामा सबैलाई कन्भिन्स गर्नेगरी आन्दोलन पक्षले काम गर्नुपर्ने सुझाव दिनुभयो । फोनिजले पहिचानको मुद्दा सँगसँगै श्रमजीवि पत्रकारको मुद्दामा पनि नेतृत्व लिनुपर्ने बताउनुभयो ।

फोनिजका संघीय अध्यक्ष गजुरधन राईको अध्यक्षतामा भएको कार्यक्रममा फोनिजका सल्लाहकार आङ्दावा शेर्पा, नेफिनका ध्रुब सुब्बा,  नेपाल पत्रकार महासंघ प्रदेश १ का लिलाबल्लभ घिमिरे, फोनिजका सन्तबीर लामा, प्रेस सेन्टरका विवेक गौतम, प्रेस युनियनका डिल्ली खतिवडा लगायतले धारणा राख्नुभएको थियो ।

कार्यक्रममा पत्रकार दिलिप थापामगर, देव पचभैया, जीवन लामा, उन्नति चौधरी, सुजाता लिम्बु, विदुर खवासलाई नगदसहित सम्मानित गरिएको थियो । त्यस्तै मरणोपरान्त पुरस्कार किसन राई र नेवा भाषाको दैनिक पत्रिका नेपाल भाषा टाइम्स दैनिकलाई पनि नगद सहित सम्मानित गरिएको छ ।  सो अवसरमा फोनिज संंघीय समितिले प्रकाशन गरेको फोनिज स्मारिका २०८० लाई मन्त्री मोदी थारुसहित अतिथिहरुले विमोचन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया