कुचो बेचेर जीविकोपार्जन गर्दै रानाथारू समुदायका एकल महिला


अविनाश चौधरी
धनगढी, भदौ २ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१५ उर्माकी बन्धोदेवी राना एकल महिला हुनुहुन्छ । कैयों वर्ष अगाडि उहाँको श्रीमान अर्की महिला लिएर भारततर्फ भागेपछि उहाँ एक्लो हुनुभएको हो ।

अर्की महिला लिएर भागेका उहाँको श्रीमान सम्पर्कविहीन भएपछि बन्धोको जीवनमा दुःखको पहाड मात्रै खसेन, आर्थिक अभावले समेत थिच्न थाल्यो । एकातिर दुई छोरी हुर्काउनु पर्ने जिम्मेवारी, अर्कोतिर अभावले थिचिएकी उहाँको दिमागमा एउटा जुक्ति फु¥यो, कुचो बनाएर बेच्ने । त्यसपछि जङ्गली खजुुरको कुचो बनाएर धनगढी बेच्न थालेकी उहाँलाई जीविकोपार्जन गर्न सजिलो भएको छ ।

बन्धोदेवी आफ्नो दौतरीसहित करिब तीन घण्टा पैदल हिड्दै धनगढी पुगेर कुचो बेच्ने गर्नु भएको छ । उर्मा र धनगढीबिचको दूरी झन्डै १३–१४ किलोमिटर रहेको छ । “यसरी हिड्दै कुचो बेच्दै गरेको धेरै वर्ष भइसक्यो” बाटोमा भेटिनु भएकी उहाँले भन्नुभयो, “एक दिनमा एक हजार ५०० सम्मको बिक्री हुने गर्दछ । यसले नुन तेल, साबुन, सर्फ किन्नेदेखि लिएर घर खर्च चलेको छ ।”

बन्धोदेवीकी दुई छोरीमध्ये जेठीको विवाह भइसकेको छ । कान्छी घरमै छिन् । उनले बिचमै पढाइ छोडिसकेको बन्धोको भनाइ छ । कुचोले फोहोर सफामात्रै गर्दैन, यसले जीविकोपार्जनलाई पनि माथि उठाउने गरेको उदाहरण बनेकी बन्धोदेवीजस्तैै विपन्न परिवारका महिलाका लागि खजुरको कुचो आम्दानी गर्ने माध्यम बनेको छ । धनगढी आसपासको गाउँका महिलाले खजुरको कुचो बनाएर बिक्री गर्दै आएका छन् ।

एक दिनमा एक हजार ५०० सम्मको बिक्री हुने गर्दछ । यसले नुन तेल, साबुन, सर्फ किन्नेदेखि लिएर घर खर्च चलेको छ ।

पहिले खेतीकिसानीको काममा मात्रै निर्भर आफूले कुचो बनाएर बिक्री गर्न थालेपछि आर्थिक रुपमा आत्मनिर्भर बनेको उर्माकै जनकियादेवी रानाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले आम्दानी नगर्दा थुप्रै समस्यासँग जुध्नु परेको थियो । अब गुजारा गर्न सहज भएको छ । घरमा यत्तिकै बसेर दुःख भोग्नुभन्दा केही कमाउनका लागि दुःख गर्नु उचित छ ।”

महिलाले जङ्गली खजुरकोे पात र डाँठबाट बनेको कुचो प्रतिमुठा कुचो ३५ देखि ४० रुपियाँमा बिक्री गर्ने गरेका छन् । कुचो बनाउनका लागि नजिकै रहेको जङ्गलबाट खजुर काटेर ल्याउने गरेको जनाइएको छ । पटकैपिच्छे १५ रुपियाँको पुर्जी कटाएर सामुदायिक वनबाट खजुर ल्याउने गरेको बन्धोदेवीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जङ्गलबाट काटेर ल्याएको खजुरलाई पहिले सुकाउने र त्यसपछि कुचो बनाउने गरिएको छ । यो सबै काम आफूहरुले गरेर बिक्री वितरण पनि घर–घरै पुगेर आफूहरुले गर्ने गरेको बन्धोको भनाइ छ । “यसमा मिहिनेत पनि छ । तर, गर्न सकियो भने १५ रुपियाँ लगानी गरेर एकै दिनमा एक हजार पाँचसय रुपियाँ कमाउन सकिन्छ” उहाँले भन्नुभयो ।
गोरखापत्र अनलाइन डट कमबाट

तपाईको प्रतिक्रिया