पुस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दैछ थारू मौलिक हुर्राहुर्री नाच


हमार पहुरा डट कम
सुनसरी, कात्तिक २४ गते । थारू समुदायको मौलिक संस्कृति, परम्परा र कृषि जीवनशैलीसँग जोडिएको हुर्रा नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ ।

गोरु तिहारको अवसरमा परम्परागत रूपमा खेलिने हुर्राहुर्री नाच नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा हुर्रा नाच सङ्कटमा परेको बताइएको छ । थारू समुदायमा पुस्तौँदेखि खेलिदैआएको हुर्रा नाच अहिले गाउँघरमा समेत कम देखिन थालेको इनरुवा नगरपालिका –५ बलाहाका ६७ वर्षीय बद्रीलाल चौधरीले बताउनुभयो ।

उहाँका अनुसार पहिले थारू बस्तीमा सामूहिक रूपमा मनाइने यो परम्परा अहिले सहरीकरण, खेतीपातीको शैलीमा आएको परिवर्तन र पशुपालन घट्दै जाँदा सङ्कटमा परेको छ । थारू समुदायको कृषि जीवनशैलीसँग जोडिएको हुर्राहुर्री खेल औँसीको दिनदेखि सुरु हुने परम्परा रहेको चौधरी बताउनुहुन्छ ।

औँसीको दिन काँससहित विभिन्न वनस्पति र जडीबुटी मिसाएर साना मुठा बनाइन्छ । ती मुठालाई एकै ठाउँमा जम्मा गरी ठुलो बोजा बनाइन्छ र डोरीले बाँधेर इनार, पोखरी वा तलाउमा रातभरि भिजाइन्छ । औँसीको भोलिपल्ट गोरु तिहारका दिन बिहानै घरआँगन लिपपोत गरी चामलको पिठो र सिन्दूरले सजाउने गरिन्छ ।

खेतीपातीमा प्रयोग हुने हलो, जुवा लगायतका कृषिऔजार सफा गरी पूजा गर्ने चलन छ । घरबारीका बोटबिरुवालाई समेत सजाउने गरिन्छ । पुरुषहरूले खेतबारीबाट कालो मास, विभिन्न दाल र अन्य वनस्पति सङ्कलन गरेर ल्याउने गरिन्छ ।

गाईवस्तुका लागि नयाँ धानको घाँस काटेर खुवाउने चलन थियो । महिलाहरूले घरमा खसी, कुखुरा, बङ्गुर, हाँस र परेवाको मासु तथा बगिया लगायतका परम्परागत परिकार तयार बनाउँथे ।

पर्वमा गोरुलाई विशेष प्रकारको तेल खुवाउने परम्परा रहेको चौधरीले बताउनुभयो । पित्तलको भाँडामा तोरीको तेल तताएर त्यसमा विभिन्न जडीबुटी, मरिच तथा घरको छानोमा लागेको कालो जालो मिसाएर तयार पारिएको मिश्रण बाँसको ढुङ्ग्रीबाट गोरुलाई नाक हुँदै खुवाउने गरिन्छ ।

नाकबाट खुवाउन नसके मुखबाट खुवाउने चलन पनि छ, चौधरीले भन्नुभयो । यसले गोरुको शरीरमा भएका कीटाणु नष्ट भइ गोरु स्वस्थ र बलियो हुने परम्परागत विश्वास रहेको उहाँको भनाइ छ ।

गोरु तिहारको दिन बिहानको खाना खाएर हुर्राहुर्री खेल सुरु हुन्छ । युवाहरूले अघिल्लो दिन पानीमा भिजाएर तयार पारेको वनस्पति सहितको बोजा बोकेर गाउँका घरघरमा पुग्थे । बोजा बोकेर पुगेका युवाले घरमा त्यसलाई भुइँमा राख्नुअघि आँगनमा लिपपोत गरी पिठो र सिन्दूरले पूजा गरिन्थ्यो ।

घरधनीले बोजा बोक्ने युवाको टाउकोमा तेल खन्याइदिने, शरीरमा पिठो र सिन्दूर लगाइ दिने र धान, दुबो, धूप, दीप र दक्षिणा चढाउने परम्परा छ । गाउँका प्रत्येक घरमा पुगेर पूजा तथा आशीर्वाद ग्रहण गरिन्छ । गाउँका घर–घरमा पुग्ने कार्यक्रम सूर्यास्त अघि नै सम्पन्न गर्नुपर्ने चलन रहेको चौधरीले बताउनुभयो ।

घर–घरमा पुग्ने कार्यक्रम सकिएपछि बोजालाई गाईवस्तु जम्मा पारिएको खुला चौरमा राखिन्छ । बोजामा डोरी बाँधेर गाईभैँसीको बथानको बिचमा फालिन्छ र एक जनाले डोरी तानेर गरिन्छ । डोरी तान्ने क्रममा कुनै गाई वा भैँसीले सिङले बोजामा हानेपछि हुर्राहुर्री खेल समाप्त भएको मानिन्छ ।

जुन पशुले बोजामा हानेको हो, त्यसको धनी पत्ता लगाएर बोजाको डोरी तान्ने युवालाई एक जोर लुगा उपहार दिने परम्परा रहेको चौधरीले बताउनुभयो । खेल सकिएपछि बोजामा बाँधिएका साना मुठा सहभागी युवाहरूले बाँडेर घर लैजाने गरिन्छ । लगेका मुठा खेतबारीमा लगेर गाड्ने चलन छ ।

थारू समुदायमा हुर्रा नाचको अभ्यास घट्दै जाँदा नयाँ पुस्तामा हुर्राको ज्ञान र सिप हस्तान्तरण हुन नसक्दा परम्परागत रुपमा रहेको मौलिक संस्कृतिक पर्व लोप हुँदैगएको झुम्काका सुनिल चौधरीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो पुस्ताले परम्परागत नाच, खेल र त्यससँग जोडिएका विधिबारे पर्याप्त जानकारी नहुँदा मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा लोप हुँदै गएको छ ।

पहिले गाउँमा पर्याप्त गाईवस्तु, खुला चौर र खेतीयोग्य जमिन हुने भएकाले सामूहिक रूपमा हुर्राहुर्री खेल्न सजिलो थियो । अहिले सहरीकरण, जग्गा प्लटिङ, खेतीपातीमा हलोको सट्टा ट्याक्टरको प्रयोग र पशुपालन घट्दै जाँदा हुर्रा खेल्ने वातावरण साँघुरिएको बद्रीलाल चौधरीहरूको भनाइ छ । मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि नयाँ पुस्तालाई हुर्रा नाचको इतिहास, विधि र महत्वबारे जानकारी गराउनुपर्ने उहाँको भनाइ छ ।
(गोरखापत्रअनलाइन डट कम बाट)

तपाईको प्रतिक्रिया