आदिबासी जनजातिको मुद्दा कोप ३१ मा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी


हमार पहुरा डट कम
आन्तल्या (टर्कीए), कात्तिक २८ गते । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनको असर आदिबासी जनजातिमा प्रत्यक्ष परिरहेकाले विश्व मञ्चमा आफूले जोडदा रुपमा उठाएको बताउनुभएको छ ।

टर्कीएको आन्तल्यामा आयोजना भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको रुपरेखा सम्मेलनको ३१ औँ संस्करण (कोप ३१) मा सहभागी आदिबासी जनजातिका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौधरीले सो अवसरमा आफू आदिबासी जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले पनि राष्ट्रिय, क्षेत्रीय र विश्व मञ्चमा पाएको सबै अवसरमा जलवायु परिवर्तन विश्व सम्मेलनमा पनि जलवायु परिवर्तनले आदिबासी जनजातिमा पारेको असरबारे प्रस्तुति गरेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य, आदिबासी जनजातिका नेता, अभियन्ताहरुसँगको भेटको क्रममा उहाँले रसुवा भोटेकोशी बाढीको बितण्डाले आदिबासी जनजातिलाई बढी प्रभावित गरेको बताउनुुभयो ।

मन्त्री चौधरीले बाढी लगायतका प्राकृतिक विपत्तिले आदिबासी जनजातिले थातथलो छाड्नु पर्ने बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयलाई मैले कोप सम्मेलनका बहुपक्षीय र द्विपक्षीय वार्ता तथा सम्बादमा कुरा उठाएकी छु । यो आवाज जहाँ पनि उठाउने छु ।”

मन्त्री चौधरीले जलवायु परिवर्तनले हिमाली क्षेत्र प्रभावित भएसँगै नेपाली समाजको स्वरुप पनि परिवर्तन हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा हिमाल छ, प्रशस्त नदीनाला छन् । हरेक वर्ष जसो प्राकृतिक विपत्ती भोग्दै जाने हो भने नेपाली समाजको स्वरुप पनि परिवर्तन हुने स्थिति देखियो ।”

सो अवसरमा आदिबासी जनजाति नेता तथा अभियन्ताहरुले प्राकृतिक विपत्तीले पारेको प्रभाव बारेमा अन्तर्राष्टिय मञ्चमा जोडबलका साथ कुरा उठाउन आग्रह गरेका छन् । कोप सम्मेलनका बिभिन्न सम्बाद र वार्तामा नेपालले हानी नोक्सानी कोषबाट रकम पाउनुपर्ने विषयमा बहस भइरहेको पनि मन्त्री चौधरीले जानकारी दिनुभयो । मन्त्री चौधरीले कोपको बाँकी समयमा पनि यस विषयमा नेपालले आफनो एजेण्डा जिवन्त राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया