
हमार पहुरा डट कम
काठमाडौं, कात्तिक २८ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनसम्बन्धी टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप –३१) को पहिलो सत्रमा हिमाली क्षेत्र र त्यहाँका समुदायको समस्या अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन हिमाली क्षेत्रका दिदीवहिनीहरुले लगाउने शेर्पा पोसाक लगाएर कार्यक्रममा प्रस्तुत हुनुभयो ।
हिमाली क्षेत्रको आदिबासी शेर्पा समुदायको परम्परागत पोसाक बख्खु लगाउँदा सामान्य त्रुटि हुन गइ मुजा अगाडिको पछाडि पर्न गयो । तराईको थारू समुदायकी चेली मन्त्री चौधरी हिमाली क्षेत्रको दिदीबहिनीहरुको पोसाक लगाउँदा भेउ पाउन सक्नु भएन । शेर्पा समुदायको अगुवाहरुको सल्लाह र सुझावअनुसार आफूले ड्रेस लगाएको र सबैले ‘ठिक छ’ भनेपछि कार्यक्रममा उपस्थित भएको बताउनुभयो ।
तर बख्खुको मुजा पछाडिको अगाडि पर्न गएको विषय आफूले ठम्याउन नसकेको उहाँको भनाइ छ । सोही पोसाक लगाएको विषयलाई सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आउनु उचित नभएको शेर्पा समुदायकै अगुवाहरुको बुझाइ छ । आदिबासी शेर्पा समुदायको पोसाकलाई सम्मान गरी अन्तर्राष्ट्रिय मञ्चमा देशको मन्त्रीले लगाएर प्रस्तुत हुँदा सकारात्मक सन्देश गएको शेर्पा समुदायका अगुवाहरुको ठम्याइ छ ।
जलवायु परिवर्तनका कारण गम्भीर असर भोग्न बाध्य भइरहेका हिमाली क्षेत्रका समुदायको समस्या मञ्चमा उठाउँदा पर्वतीय क्षेत्रको संरक्षणको मुद्दा विश्व समुदाय माझ उजागर हुने विश्वास लिएर मन्त्री चौधरीले शेर्पा पोसाक लगाउनुभएको मन्त्रीका सचिवालयका सदस्यहरुको दावी छ ।
शेर्पा समुदायका अगुवा आङ छिरिङ शेर्पाले भन्नुभयो, “तराईको चेली चौधरी मन्त्रीज्यूले हिमालको पोसाक लगाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्दा राम्रो सन्देश गएको छ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शेर्पा पोसाकले अन्तर्राष्ट्रिय मञ्चमा सकारात्मक सन्देश गएको छ, विश्व समुदायसामु शेर्पा समुदायको नाम चिनाउने काम भएको छ, बख्खु लगाएको उल्टो पाल्टो भए पनि ।”
शेर्पा समुदायका अर्का अगुवा तथा पत्रकार छेटु शेर्पाले बख्खु लगाएको मुजा अगाडि पछाडि पर्नु सामान्य विषय भएको बताउनुभयो । त्यसलाई इस्यू बनाउन आवश्यक नभएको भन्दै उहाँले थप्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चमा शेर्पा महिलाले लगाउने बख्खु प्रस्तुत हुनु आफैमा राम्रो सन्देश हो । मन्त्रीज्यूले सम्मानसाथ शेर्पा पोसाक लगाउनुभयो धन्यवाद दिनुपर्छ । लगाउँदा उल्टो पर्न गयो भनेर नकारात्मक टिप्पणी गर्नु उचित होइन ।”
सुदूरपश्चिमको कञ्चनपुरमा जन्मनु–हुर्कनु भएकी चौधरी आज देशको मन्त्रीको हैसियतले हिमाली क्षेत्रको दिदीवहिनीको पोसाक लगाएर अन्तर्राष्ट्रिय मञ्चमा उभिनु नै राम्रो सन्देश भएको पत्रकार शेर्पाको भनाइ छ । ‘मन्त्री चौधरीलाई शेर्पा समुदायले धन्यवाद दिनुपर्छ’ उहाँले भन्नुभयो । थारू समुदायको महिलाले लगाउने आफ्नै विशिष्ट खालको पोसाक हुँदाहुँदै सांकेतिक रुपमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा हिमाली क्षेत्रका महिलाको पोसाकको प्रतिनिधित्व गरिदिनु राम्रो पक्ष भएको उहाँको बुझाइ छ ।
कृषि, वन तथा पर्यावरणमन्त्री चौधरी नेपालको प्रतिनिधित्व गरी कोप ३१ मा सहभागिता जनाइरहनुभएको छ । नोभेम्बर २० तारेखसम्म चल्ने सम्मेलनको अन्तिम समयसम्म उहाँ नेपाल सरकारको प्रतिनिधित्व गरी कार्यक्रममा सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ ।




