बदलिंदो लैङ्गिक भूमिका

गायत्री आचार्य

गायत्री आचार्य

Gayatri

एकपटक एउटा कक्षामा शिक्षकले विद्यार्थीलाई घरमा तिमीहरु आमालाई र बुबालाई के प्रश्न गर्छौ भनेर सोध्नुभएछ । विद्यार्थीले आमा र बुबालाई सोध्नेगरेको प्रश्नलाई सर सेतोपाटीमा लेख्दै टिपोट गर्नुभएछ । टिपोट यस्तो थियो । आमा मेरो जुत्ता खोई ? आमा मेरो पोशाक खोई ? आमा मेरो किताव कता छ ? आमा खुट्टा दुख्यो । आमा जाडो भयो । बुवा आमा खोई ? यो प्रश्नले हामी महिलाले घरायसी रुपमा के काम गर्नुपर्छ र पुरुषले के काम गर्नुपर्छ भनी आँकलन गर्न सक्छौ । महत्व कम पाउने र पैसा नआउने काममा महिलाले बढी समय व्यतित गर्नुपर्दा घरपरिवारमा महिलाको कामको गणना नगरिने प्रचलन छ । घर व्यवहारका काम महिलाले धानिदिएर पुरुषले पाएको समयलाई आर्थिक कार्यमा लगाउँदा त्यसको हिस्सा महिलाले पाएको देखिदैन । खासगरी घरायसी र आर्थिक महत्व कम भएको कार्यमा महिलाले बढी समय विताउनु परेकाकारण महिलाले स्रोत तथा साधनमा पहुँच पु¥याउन सकेका छैनन । पहुँच कम भएकै कारणले उनीहरुमा नेतृत्वदायी र निर्णायक भूमिका कम हुनजान्छ । घरपरिवारमा निर्णायक भूमिका नभएपछि महिलाले हिङ्सा सहन बाध्य हुनुपरेको छ ।

प्राकृतिक लिङ्गका आधारमा महिला तथा पुरुषबीच हुने भिन्नता त छँदैछ तर समाजले तोकेका लैङ्गिक जिम्मेवारीले महिलाको क्षमता विकासमा बाधा पुगेको छ । लैङ्गिक जिम्मेवारीकारुपमा महिलालाई धेरै जिम्मेवारी दिई घरायसी कार्यमा सीमित गरेको परिवेश हामीबाट लुक्नसकेको छैन । घरेलु काममा विश्व समुदायले पनि महिलालाई नै बढी जिम्मेवार बनाएको उदाहरण छन् । विकसित मूलुकमा यसको मात्रा कम र विकासोन्मुख देशमा बढीभएको अध्ययनहरुले देखाएका छन् । नेपालमा महिलाले दैनिक २६८ मिनेट र पुरुषले ५६ मिनेट समय घरायसी कार्यमा खर्च गरेको देखिन्छ । त्यसैगरी केन्याका महिला दैनिक ९९ मिनेट र पुरुषले ३८ मिनेट घरायसी काममा समय बिताएको एक अध्ययनले देखाएको छ । अमेरिकाको केन्द्रीय श्रम तथ्याङ्क अनुसार ६३ % पुरुष र ८४% महिलाले घरायसी कार्यमा संलग्न भएको र महिलाले २.५७ घण्टा समय घरायसी कार्यमा बिताएको देखिन्छ । यो ११ वर्ष यताको तथ्याङ्क हेर्दा ९ मिनेटले मात्र कम हो । महिलाहरुले यस्ता घरायसी कार्यमा व्यस्त हुनु परेको कारणबाट पनि आफ्नो व्यक्तित्व विकासमा प्रतिकुलता थपिएको निष्कर्ष अध्ययनहरुको छ ।

अमेरिकाको केन्द्रीय श्रम तथ्याङ्क अनुसार ६३ % पुरुष र ८४% महिलाले घरायसी कार्यमा संलग्न भएको र महिलाले २.५७ घण्टा समय घरायसी कार्यमा बिताएको देखिन्छ । यो ११ वर्ष यताको तथ्याङ्क हेर्दा ९ मिनेटले मात्र कम हो ।

लैङ्गिक जिम्मेवारी महिलालाई बढी हुनुमा पुरुषप्रधान समाज एउटा पाटो हो जसले घरायसी कार्यमा महिलालाई व्यस्त राख्न सघाएको छ । समाजमा विदयमान गलत लैङ्गिकताको अवधारणाका कारण महिलाले यी कार्यमा व्यस्त हुनुपर्ने बाध्यता छ । महिलाले के गर्ने र पुरुषले के गर्ने भन्ने कार्यको जिम्मेवारी समाजले नै तयगरेको छ ।

महिलाको जैविककारण पनि अर्कोपक्ष हो जसले महिलालाई घरायसी कार्यमा संलग्न गराउँछ । केही निर्विकल्प कार्य जो महिलालेमात्र गर्न सक्छन् त्यसमा उनीहरु संलग्न हुनैपर्ने अनिवार्यता छ । जस्तै बच्चा जन्माउने, स्तनपान गराउने, मातृत्व प्रदान गर्ने कार्य महिलाले मात्र गर्नुपर्ने जैविक बाध्यता हो । यसैको जगमा महिलाले धेरै घरायसी कार्यमा समय विताउनुपर्ने हुन्छ । ती विशेष काम बाहेकको काम जसले गरेपनि हुन्थ्यो तर त्यसमा महिला नै संलग्न हुनेगरेका छन् । यद्यपि अमेरिकाकै केन्द्रीय श्रम तथ्याङ्कले त्यहाँका महिलाले बालबच्चाको हेरचाहमा एकघण्टा बिताउने र पुरुषले २५ मिनटे मात्र खर्चने देखाउँछ । त्यसकारण आर्थिक हैसियत विकास नगर्ने कार्यमा महिला बढी सक्रिय भएकै कारणबाट पनि महिलाले अन्य आर्थिक हैसियत विकास चुनौती हुन्छ ।

यौनिक रुपमा पनि महिलालाई उपभोग्यवस्तुको रुपमा लिईनु र त्यसको उपभोगमा पुरुष बढी सक्रिय हुने कारणले पनि महिलालाई घरबाहिरका कार्यमा सहज पहुँच नभएको अर्को तत्वले महिलालाई घरभित्रका कार्यमामात्र सीमित गराउनमा भूमिका खेलेको पाईन्छ ।

जैविक तथा शारीरिक रुपले केही कमजोर मानिएका महिलालाई कडा परिश्रम गर्नेकार्यमा नलगाएर त्यस्ता घरबाहिरका काममा महिलालाई नलगाउने परम्परागत परिपाटी तुलनात्मक रुपमा केही लाभदायक भएपनि त्यसको सट्टामा महिलाले बढी समय खटिनुपर्ने बाध्यता पनि छ । यौनिक रुपमा पनि महिलालाई उपभोग्यवस्तुको रुपमा लिईनु र त्यसको उपभोगमा पुरुष बढी सक्रिय हुने कारणले पनि महिलालाई घरबाहिरका कार्यमा सहज पहुँच नभएको अर्को तत्वले महिलालाई घरभित्रका कार्यमामात्र सीमित गराउनमा भूमिका खेलेको पाईन्छ ।

शिक्षा र चेतना त अनिवार्य तत्व नै हुन जसले महिलालाई सक्षमताको विकास गर्नका लागि र घरायसी कार्यमा सीमित नराख्न प्रमुख भमिका निर्वाह गर्दछ । घर, परिवार र समाजले महिलालाई सशक्तिकरण गर्नका लागि कति भूमिका निर्वाह गरेको छ भन्ने कुराले पनि उनीहरुको सक्षमताको निर्धारण गर्दछ ।

अबको समाजमा बदलिँदो लैङ्गिकताको अवधारणा पनि विकास भएको छ । महिला र पुरुषले गर्ने कार्य के हुन ? भन्ने विषयको सीमानिर्धारण अबको समाजले गर्न सक्दैन । महिलाका लागि बर्जित गरिएका कार्यपनि महिलाले गरेर देखाइदिइसके भने पुरुषमा पनि महिलाको भावनाको विकास हुने र महिलामा पनि पुरुषको भूमिकाको भावना विकास भइरहेको छ । यही परिवर्तित सोच नै बदलिँदो लैङ्गिकता हो । विश्वमा भएका विविध सामाजिक तथा राजनीतिक परिवर्तन, विज्ञान र प्रविधिको चरम विकास, सूचना र प्रविधिको व्यापक प्रयोग, नवीनतम सोच तथा अवधारणाहरुको प्रतिपादन भएका कारणले पनि महिला र पुरुषमा समता र समानताका अवधारणा आइरहेका छन् । समाजको परिवर्तन तथा विकाससँगै महिलामा पनि धेरै जिम्मेवारी बहन गर्ने क्षमताको विकास भएको छ ।

आवश्यकता र क्षमताका आधारमा महिलाले गर्ने भनिएका काम पुरुषले र पुरुषले गर्ने भनिएका कार्य महिलाले गर्ने पद्धतिको विकास भएको छ । महिला र पुरुषको समझदारी तथा जिम्मेवारीबोधको अवधारणा विकास भएका कारणले पनि लैङ्गिक भूमिका परिवर्तन हुन्छ ।

तसर्थ महिला र पुरुषको भूमिका अब परम्परावादी नभई युगसुहाउँदो र क्षमता अनुरुपको हुनुपर्दछ । आवश्यकता र क्षमताका आधारमा महिलाले गर्ने भनिएका काम पुरुषले र पुरुषले गर्ने भनिएका कार्य महिलाले गर्ने पद्धतिको विकास भएको छ । महिला र पुरुषको समझदारी तथा जिम्मेवारीबोधको अवधारणा विकास भएका कारणले पनि लैङ्गिक भूमिका परिवर्तन हुन्छ । त्यसैले अब लैङ्गिक भूमिकामा परिवर्तन हुनुपर्छ र पर्याप्त मात्रामा नभए पनि केही मात्रामा भने भईनैरहेको पनि छ । पुरुषले गर्ने भनिएका कार्य र जिम्मेवारी महिलाले निर्वाह गरेको र महिलाले गर्ने भनिएका कार्य र जिम्मेवारी पुरुषले पनि गरिरहेको तथ्यहरु बाहिर आउँदैछ । यो भूमिका परिवर्तन सबै घरपरिवार, क्षेत्र आदिमा पनि हुन जरुरी छ ।

हुन त लैङ्गिकता समाजले समयसापेक्ष तयगर्ने र परिवर्तनशील हुन्छ । यो सदैव एउटै मान्यतामा स्थिर रहँदैन परिवर्तन भइरहन्छ । अबको समाज लैङ्गिकताको विषयमा परम्परागत रुपमा जस्तो लैङ्गिक भूमिकामा कट्टर देखिदैन । यसलाई नयाँ आयामकोरुपमा विकास गर्नु आजको आवश्यकता पनि हो । जसलेगर्दा चुलोचौकामा सीमित महिलाको भूमिकालाई सर्वशक्तिमान भूमिकामा पु¥याउन सक्छ । नेपालमै पनि हेर्ने हो भने राष्ट्रपति विद्यादेवी भण्डारी, विश्वकै शक्तिशाली महिलाको सूचीमा पर्न सफल हुनु, देशका अन्य प्रमुख कार्यकारी पदमा महिला पुग्नु बदलिँदो लैङ्गिक भूमिकाको उदाहरण हुन् । तसर्थ लिङ्गका आधारमा नभई सक्षमताका आधारमा भूमिका निर्वाह गर्ने वातावरण तयार हुनु आजको अपरिहार्यता हो । लैङ्गिक भूमिकामा आएको परिवर्तनले महिलालाई थप सक्षम र सबल बनाउन सहयोग गर्नेछ जसले समतामूलक समाजको निर्माण गर्न मद्दत गर्नेछ ।

(लेखिकाः दोलखाको पत्रकारितामा आवद्ध छिन् ।)

तपाईको प्रतिक्रिया