महिला हिंसाको जड नेपालीको घर–घरमा छः महिला नेतृहरु


sam_7491

काठमाडौ, मंसिर २५ गते । नेपालका ऐन कानूनले धेरै हदसम्म महिला अधिकार सुनिश्चित गरेको भएपनि व्यवहारमा कार्यान्वयन नभएर महिला हिंसामा न्यूनिकरण हुन नसकेको महिला नेतृहरुको तर्क छ ।

महिला किसान संघ, नेपालद्वारा शनिबार यहाँ आयोजित खाद्यअधिकार, भूस्वामित्व तथा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले त्यस्तो तर्क गर्नुभयो । महिला हिंसाको अन्त्य गर्नकालागि घर परिवारबाटै त्यसको कार्यान्वयन आवश्यक रहेको उहाँहरुको सुझाव छ । कार्यालय, कार्यक्रम र सार्वजनिक स्थानमा महिलाको पक्षमा वकालत गर्नेहरु आफ्नै घरमा महिला हिंसा गर्नमा उद्वतरहेको आरोप महिला नेतृहरुको छ ।

कार्यक्रममा बोल्दै पूर्व पशुपन्छि विकास मन्त्री तथा एमाले नेतृ शान्ता मानवीले संवैधानिक र कानूनीरुपमा नेपाली महिलाहरु अधिकारसम्पन्न भएपनि व्यवहारमा ठीक उल्टो रहेको तर्क गर्नुभयो । महिलामाथिको हिंसाको जड नेपालीको घर–घरमा छ भन्दै उहाँले व्यवहार र प्रबृत्तिमा परिवर्तन नहुँदासम्म महिला हिंसा अन्त्य हुन नसक्ने बताउनुभयो ।

अधिवक्ता शान्ति खनालले नेपालमा १७ देखि २० प्रतिशत महिला मात्र जमिनका मालिक रहेको तर्कगर्दै भूस्वामित्वमा समान हैसियत नहुँदासम्म महिला हिंसा नघट्ने दावी गर्नुभयो ।

घरजग्गा र श्रीसम्पत्ति सबै राज्यको नाममा गरेर सबैलाई समान हैसियत बनाएमात्र भेदभाव र हिंसा अन्त्य हुने दावीगर्दै उहाँले खाद्य अधिकारबाट समेत नेपाली चेलीहरु बञ्चित रहेको बताउनुभयो । उहाँले विश्वभर नै महिला हिंसा रहेकाले नै महिला हिंसाविरुद्धको अभियान सञ्चालन भइरहेको बताउनुभयो ।

अधिवक्ता शान्ति खनालले नेपालमा १७ देखि २० प्रतिशत महिला मात्र जमिनका मालिक रहेको तर्कगर्दै भूस्वामित्वमा समान हैसियत नहुँदासम्म महिला हिंसा नघट्ने दावी गर्नुभयो । आदिम साम्यवादमा महिलाप्रधान समाज रहेपनि पछि पुरुषको मुठ्ठीमा समाज आएदेखि महिलामाथिको दुव्र्यवहार बढेको उहाँले तर्क गर्नुभयो । समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक सोच्ने प्रबृत्ति हावीरहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारकी सहसचिव इन्दिरा दाहालले समाजले सूर्य र छोरालाई समानरुपले हेर्नेगरेको तर्क गर्नुभयो । सूर्यको वरिपरि ग्रहहरु घुमेजस्तै छोराको वरिपरि परिवारका सदस्यहरु घुम्ने प्रबृत्ति नेपाली समाजमा हावी रहेको बताउनुभयो । संविधानमा महिला अधिकार छ भनेर मख्ख परेर बस्नुभन्दा त्यसको कार्यान्वयनमा नेपाली महिला लाग्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

प्राध्यापक डा. केशव खड्काले खानपाउन अधिकार मानवाधिकारको पहिलो अधिकार भएकाले महिलालाई त्यसबाट बञ्चित गर्न नहुने बताउनुभयो । महिलाले घरका सदस्यलाई खुवाएर मात्र आफू खाने नेपाली प्रबृत्ति रहेको चर्चागर्दै उहाँले त्यस्तो प्रचलनको अन्त्य हुनुपर्ने बताउनुभयो । कानून र संविधानमा लैङ्गिक समानता भएपनि घरपरिवार भित्र त्यो कहिले कायम हुन नसकेको उहाँले तर्क गर्नुभयो ।

महिला किसान संघ, नेपालकी अध्यक्ष जीवन्ती पौडेलको सभापतित्वमा भएको कार्यक्रममा पशुपति कुँवर, कमला बोहरा लगायतले महिलामाथि हुनेगरेको घरेलु हिंसा र समाधानको उपायका बारमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया