रिहर्सलमा भुरभुरा रहरः नाटकमा थारु समाजको जीवन्त अभिनय


लक्की चौधरी
काठमाडौं, पुस १३ गते । नाटककार तथा साहित्यकार सुशील थारुको पछिल्लो नाटक ‘भुरभुर्रा रहर’ मञ्चनको तयारीमा छ । पुस १५ देखि २३ गतेसम्म कालिकास्थान काठमाडौंको सर्वनाम थियटरमा मञ्चन हुने बताइएको छ ।

नाटककार थारुले भुरभुरा रहर शीर्षक दिएर नाटकलाई मञ्चन गर्ने तयारीमा हुनुहुन्छ । नाटकको निर्देशन गर्नुभएको छ प्रणव आकाशले । नाटक मञ्चनको अन्तिम चरणमा पुग्नैलाग्दा कलाकारले रिहर्सललाई तिव्र बनाएका छन् । नाटकका कलाकारले दर्शकदीर्घालाई पुरानो थारु संस्कृति र समाजमा फर्काउने प्रयासमा छन् ।

नाटकको कथा जति सरल र सरस छ, कलाकारहरुको अभिनयको रिहर्सल अझै प्राकृतिक अवस्थामा पुग्न सकेको छैन । अवको दुई दिनमा त्यो आभास कलाकारले दर्शकदीर्घालाई गराउनु पर्नेछ । कलाकारहरुको विश्वास छ, आगामी शुक्रबारसम्म आफ्नो अभिनयलाई जिवन्त बनाउने ।

सखियानाच थारु समुदायको पुरानो र प्रचलित नाच हो । सो नाचमा थारु अविवाहित चेलीहरु नाच्ने गर्छन् । मादलेले मादल बजाउँदा लहरै समूहमा लाइन लागेर सखिया नाच्ने प्रचलन थारु गाउँमा उहिल्यैदेखिको हो । थारु सखियानाचले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ ।

कृष्णजन्मस्टमीदेखि शुरुहुने सखियानाचको शुरुवात दशैं तिहारसम्म चल्नेगर्छ थारु गाउँमा । सो नाचमा नाच्नकालागि थारु चेलीबेटीहरु निकै हौसिएका हुन्छन् । तर आर्थिक अभावकाकारण नाच्ने सामग्रीको जोहो गर्न नसक्दा वर्षदिनभर नाच्ने रहरलाई कतिपयले मनमै खुम्च्याउनुपर्ने अवस्था पनि आउने गर्छ । भुरभरा पनि हातमा रिवनसहितको बनाउने एउटा सामग्री हो । नाच्नेबेला त्यो सामग्री अनिवार्य हुन्छ । त्यससँग नयाँ कपडाको पनि आवश्यक पर्छ ।

नाटकमा नाटककारले गुल्पी पात्रलाई प्रमुख भूमिकामा उतारेका छन् । गुल्पीको घरको आर्थिक अवस्था कमजोर भएकाले सखिया नाचमा चाहिने आवश्यक सामग्री भुरभुराको जोहो हुन सकिरहेको हुँदैन । कैयौं दिन तिनी भुरभुराको अभावमा नाच्न पाउँदिनन् । उनका साथी संगीहरु नाच्न जान्छन् । उनलाई रहर धेरै हुन्छ तर सामग्रीको अभावले नाच्न नपाउँदा रहरलाई मनमै डवाएर राख्न बाध्य हुन्छिन् ।

गुल्पीका साथीसँगीले पैंचोमा भुरभुरा दिने बताए पनि गुल्पी मागेर नाच्न नजाने निधो गर्छिन् । आफ्नो बुवा आमा, बज्यैलाई सो सामग्रीको जोहो गर्न आग्रह गर्छिन् । उनको रहरलाई पूरा गर्न गुल्पीकी बज्यै र आमाले उनको बुवा जलवीरलाई भुरभुरा किन्न आग्रह गर्छन् । तर जलवीरेसँग पैसा हुँदैन । सबैको सल्लाहअनुसार घरको गर्भवती भेँडीलाई विक्री गर्ने निर्णय गर्छन् । गुल्पीको बज्यैले आफ्नो पुरानो गहना विक्री गर्न लगाउँछिन् । जलवीरेले चिन्ता मानीमानी घरको गहना विक्री गरेर गुल्पीका लागि चाहिने सामग्री किनेर ल्याउँछन् ।

नाच्ने सामग्री प्राप्त भएपछि गुल्पी निकै खुशी हुन्छिन् र अरु साथीकोजस्तै खुशी भएर नाच्न जान्छिन् । उनको रहर पूरा हुन्छ । नाटक अवधिभर अन्य संवाद र गतिविधि पनि हुन्छन् । पोखरी तलाउमा माछा मार्नेदेखि, दशैंमा टीका लगाउनेसम्मको थारु परम्परालाई नाटकलाई झन जिवन्त बनाउँछ ।

नाटकले गुल्पीको रहर त पूरागर्छ तर परम्परागत विषयलाई मात्रै नाटकले उठान महुशस हुन्छ । थारु परम्परा र संस्कृतिको उजागर निकै हदसम्म राम्रो छ । तर नाटक भनेको आफैमा सन्देशबाहक हुनुपर्छ । भुरभुरा रहर नाटकले गुल्पीको रहर पूरा त गर्छ । त्यसपछि उसको नयाँ जीवनकालागि के सन्देश दिने ? नाटक मौन छ । गुल्पीको रहर पूरा भएपछि नाचगान हुन्छ, नाटक सकिन्छ ।

नाटकमा कलाकारहरुको अभिनय राम्रो छ । अझै उत्कृष्ट बनाउन संवादलाई प्राकृतिक बनाउन सक्नुपर्छ । नाटक नौ दिनसम्म सर्वनाम थियटरमा मञ्चन हुने तयारीमा छ । नाटकको पूर्ण सफलताको शुभकामना ।

नाटकमा नन्दु चौधरी, दोसहरण चौधरी, अन्जु चौधरी, इन्द्र चौधरी, मिनु चौधरी, सरिता, शान्ति, दीपा, भीष्मा, भूमिका, गायत्री, दीपक दीप, बाबु निरज चौधरी लगायत १३ जना कलाकारको जिवन्त अभिनय छ । शुक्रबारबाट मञ्चन हुने नाटकका लागि १००, २०० र ५०० रुपियाँ टीकट शुल्क तोकिएको छ । नाटककारको कथा उत्कृष्ट त छ नै, निर्देशकको पनि मेहनत लोभलाग्दो छ ।

तपाईको प्रतिक्रिया