आयोगले माघ १ गतेसम्म उजुरीको म्याद थप्यो, अहिलेसम्म १९० उजुरी


लक्की चौधरी
काठमाडौं, पुस १५ गते । तराई मधेस र थरुहट लगायतका क्षेत्रमा राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका घटनाको अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले उजुरी दिने समय माघ १ गतेसम्म पन्ध्रदिनका लागि थप गरेको छ ।

यसअघि एक महिने मंसिर १६ देखि पुस १५ सम्मको उजुरी लिने समयसीमा तय गरेको आयोगले सो अवधिमा उजुरी न्यून परेपछि पन्ध्रदिन समय बढाएको बताएको छ । आयोगका अध्यक्ष तथा सर्वोच्चका पूर्व प्रधान न्यायाधीश गिरिशचन्द्र लालले उजुरी अपेक्षाकृत कम आएको बताउनुभयो । उहाँकाअनुसार शुक्रबारसम्म एकसय ९० वटा विभिन्न प्रकृतिका उजुरी परेका छन् ।

आयोगका अध्यक्ष तथा सर्वोच्चका पूर्व प्रधान न्यायाधीश गिरिशचन्द्र लालले उजुरी अपेक्षाकृत कम आएको बताउनुभयो । उहाँकाअनुसार शुक्रबारसम्म एकसय ९० वटा विभिन्न प्रकृतिका उजुरी परेका छन् ।

आयोगले उजुरीका आधारमा घटनाको अध्ययन र छानविन गर्ने बताएको छ । तर अपेक्षित ठाउँबाट उजुरी नआएको आयोगको भनाई छ । मधेस आन्दोलनका उजुरी निकै न्यून मात्रामा आएको भएपनि आउनेक्रम जारी रहेको अध्यक्ष लालले जानकारी दिनुभयो ।

थरुहट तराईको घटनाको उजुरी न्यून आएपनि माघ १ गतेसम्म प्रशस्त आउने विश्वास अध्यक्ष लालले गर्नुभयो । उजुरी आएपछि आयोगले त्यसलाई सर्ट लिष्टिङ गर्ने र सम्बन्धित सरोकारवालापक्षहरुसँग छलफल गर्ने तयारी आयोगको छ । अध्ययन र छानविनका लागि आयोगले समबन्धित ठाउँमा गएर घटनाको अध्ययन गर्ने तयारी समेत गरेको आयोगका अध्यक्ष लालले बताउनुभयो ।

आयोग गठनको सूचना ०७३ असोज २ गते राजपत्रमा प्रकाशित भएको थियो । तर आयोगका अध्यक्षसहितका सदस्यहरुले कात्तिक २ गतेमात्र पद तथा गोपनीयताको शपथ खानुभएको थियो । आयोगको म्याद ६ महिनाको भएपनि सो अवधिमा घटना अध्ययनको काम नसकिने अध्यक्ष लालले बताउनुभयो ।

गठनको डेढ महिनासम्म बजेट र पूर्वाधारविना निस्क्रिय रहेको आयोग गठनको करिब तीन महिना सकिए पनि आयोगले भर्खर उजुरी लिनेकामको शुरुवात गरेको छ । समयमा सरकारले बजेट उपलब्ध नगराएपछि आयोगको काममा ढिलाई हुन गएको अध्यक्ष लालले दावी गर्नुभयो ।

आयोगमा अध्यक्ष लालसहित सात सदस्यीय समिति रहेको छ । जसमा पूर्व नायव महान्यायाधीवक्ता सूर्य कोइराला, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक नवराज ढकाल, पूर्व अतिरिक्त मुख्य अनुसन्धान निर्देशक सुखचन्द्र झा, अधिवक्ता सुजन लोप्चन, अधिवक्ता खुशीप्रसाद थारु र गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी सदस्यसचिव रहनुभएको छ ।

तपाईको प्रतिक्रिया