अध्ययनका लागि पुस्तकालयतर्फ युवाको आकर्षण बढ्दो


लक्की चौधरी
धनगढी, माघ ५ गते । कैलाली जिल्लाको प्रमुख व्यापारिक शहर धनगढी उपमहानगरपालिकाको मेनरोडमै अवस्थित कैलाली जनपुस्तकालयमा अध्ययनका लागि युवाहरुको आकर्षण ढ्दैगएको छ ।

यस क्षेत्रकै पुरानो वि.सं. २०१४ मा स्थापना भएको यस पुस्तकालयमा विभिन्न पुस्तक, पत्रपत्रिका पढ्न मासिक तीन हजार जना आउने गरेको पुस्तकालयको रेकर्ड छ । पहिले प्रायः बुढापाकाहरु राष्ट्रिय र स्थानीयस्तरका पत्रपत्रिका, पुराना साहित्यिक पुस्तक तथा ग्रन्थहरुको अध्ययनका लागि आउने गरेपनि पछिल्लो समय अध्ययनमा युवाहरुको चासो बढ्दैगएको बुझाई पुस्तकालयका अध्यक्ष उमाकान्त जोशीको छ ।

अहिले अध्ययनका लागि दिनहुँ एक सयजनाको हाराहारीमा आउनुहुन्छ, त्यसमध्ये ८० प्रतिशत युवाहरु भएको अध्यक्ष जोशीले बताउनु भयो । अध्ययनमा युवाहरुको क्रियाशीलता बढ्नुमा विभिन्न जागीरका लागि प्रतिस्पर्धा गर्नु रहेको बताउँदै अध्यक्ष जोशीले भन्नुभयो, “पुस्तकालमा सबै पत्रपत्रिका र सामान्यज्ञानका पुस्तक उपलब्ध छन्, त्यसैले पनि युवाहरु घण्टौं लगाएर पुस्तकालयमा अध्ययन    गर्नुहुन्छ ।”

पुस्तकालयमा आएर अध्ययन गर्न चाहने पाठकका लागि कुनै शुल्क नतोकिएको बताउँदै अध्यक्ष जोशीले युवाहरुको चासो पुस्तकालयप्रति बढ्दैगएकोमा आफू खुशी भएको बताउनुभयो । उहाँकाअनुसार पुराना र नयाँगरी पुस्तकालयमा हाल करिब दश हजार थान विभिन्न विधाका पुस्तकहरु संग्रहित गरेर राखिएका छन् ।

ज्ञानगुनका पुस्तकसँग कलेज विद्यालयका पाठ्यक्रमका केही पुस्तक उपलब्ध भएपछि बजारमा नपाइने पुस्तक पढ्न विद्यार्थीहरु पुस्तकालय धाउने गरेको बुझाई पुस्तकालयका प्रमुख ग्रन्थपाल डिल्लीराज योगीको भनाई छ । पुस्तकालयको आम्दानीको स्रोत कम भएपनि घरभाडाबाट प्राप्त हुने आम्दानीबाट पुस्तकको जोहो गर्नेगरेको भनाई योगीको छ ।

कैलाली जनपुस्तकालय अध्ययनकर्ता पाठककालागिमात्र संगमस्थल नभएर यहाँका साहित्यकार, सर्जक र स्रष्टाको साझा थलोकोरुपमा परिचित रहेको बुझाई साहित्यकार तथा पुूस्तकालयका सल्लाहकार यज्ञराज यात्रीको छ । सुदूरपश्चिमका साहित्यकारहरुका लागि संगमस्थलकोरुपमा पुस्तकालय रहेको यात्रीले बताउनुभयो ।

पुस्तकालयको स्तरबृद्धिका लागि थप पुस्तकको माग रहेको बताउँदै अध्यक्ष जोशीले पुस्तकको संख्या बढाउन सके अझ यस क्षेत्रका युवालाई पुस्तकालयतर्फ आकर्षित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । पुस्तक, पत्रपत्रिका अध्ययनमा युवाहरुको क्रियाशीलता पछिल्लो समय बढेसँगै युवालाई आकर्षित गर्ने पत्रपत्रिका, सामान्य ज्ञान र लोकसेवाका पुस्तकसमेत पुस्तककालयमा जोहो गरिरहेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

पुस्तकालयसँग अहिले करिब एक करोडको भौतिक सम्पत्ति रहेको छ । दुईवटा दुईतलाको भवन र कार्यक्रमका लागि सुविधासम्पन्न एउटा हल रहेको छ । करिब ६० वर्षको लामो समयको अथक प्रयास र समाजसेवी तथा सहयोगीहरुको ठूलो सहयोगले पुस्तकालय टंग्रिन थालेको अध्यक्ष जोशीको बुझाई छ ।

पुस्तकालयमा हालसम्म देवकान्त पन्त, घनबहादुर शाह, दीनानाथ भट्ट, कृष्णबहादुर श्रेष्ठ र उमाकान्त जोशी अध्यक्ष रहिसक्नुभएको छ । अध्यक्ष जोशी २०६८ बाट अहिलेसम्म पुस्तकालयको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । पुस्तकालयको स्तरोन्नतिकालागि आफूले थप प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया