लक्की चौधरी
काठमाडौं, चैत ६ गते । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आइतबारबाट निर्वाचनका लागि मतपत्र छपाई शुरुभएको आयोगले जानकारी गराएको छ ।
आयोगले तोकिएकै समय आगामी वैशाख ३१ मा निर्वाचन गराउन दृढ संकल्पित रहेको प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले बताउनुभयो । आइतबार यहाँ पत्रकार सम्मेलन गर्दै आयोगले सबैको साथ, सहयोग र विश्वासको खाँचो आवश्यक रहेको औल्याउनुभयो ।
राजनीतिक दलहरुबीच अपेक्षित सहमति, सहकार्य र विश्वासको वातावरण बन्न नसक्दा आयोग गम्भीर बनेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी गराउनुभयो ।
निर्वाचन सम्पन्न गर्न आयोग अगाडि बढिरहेको अवस्थामा राजनीतिक दलहरुबीच अपेक्षित सहमति, सहकार्य र विश्वासको वातावरण बन्न नसक्दा आयोग गम्भीर बनेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी गराउनुभयो । उहाँले सबै दलका नेताहरुलाई निर्वाचन व्यवस्थापनलाई सहज बनाउन निर्वाचनको अभियानमा जुट्न अनुरोध गर्नुभयो ।
वैशाख ३१ गते हुने निर्वाचनको समय विहान ७ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको आयोगले जानकारी दिएको छ । यस निर्वाचनबाट ४० प्रतिशतभन्दा वढी महिला निर्वाचित हुने र दलित तथा अल्पसंख्यकसहितको समावेशी स्वरुप निर्वाचनबाट कायम हुने आयोगले बताएको छ । अवको निर्वाचनले लोकतन्त्रको जगलाई बलियो बनाउने विश्वास आयोगले गरेको छ ।
निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनबारे सही सूचना सम्प्रेषण गरेर सहयोग गरिदिन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता उल्लंघन नहोस् भन्नेतर्फ समेत खवरदारी गरिदिन उहाँले मिडियाकर्मीसँग सो अवसरमा आग्रह गर्नुभयो ।
संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनबाट मुलुकभरबाट १३ हजार ३६० जना महिला निर्वाचित हुने आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचनमा ७४४ वटा स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन हुने आयोगले जानकारी दिएको छ । अवको निर्वाचनले ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी ७२६ जना निर्वाचित हुनेछन् । त्यस्तै, ६ हजार ६८० वडाबाट त्यतिकै संख्यामा वडाअध्यक्ष र देशभरबाट २६ हजार ७२० वडा सदस्य निर्वाचित हुनेछन् ।
संविधानले गरेको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनबाट मुलुकभरबाट १३ हजार ३६० जना महिला निर्वाचित हुने आयोगले बताएको छ । त्यस्तै, ६ हजार ६८० जना दलित महिलाको प्रतिनिधित्व हुने र दलित तथा अल्पसंख्यक गरी एकहजार ७५१ प्रतिनिधि समेत निर्वाचित हुने आयोगका डा. यादवले जानकारी गराउनुभयो ।
निर्वाचनका लागि आयोगले ६७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गर्नुपर्ने बताएको छ । नेपालमा उपलब्ध हुने सामग्रीको व्यवस्थापन आयोगले आफै गर्ने र नेपालमा उपलब्ध नहुने सामग्री छिमेकी मित्रराष्ट्रहरुसँग आग्रह गरिएको आयोगका डा. यादवले जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवकाअनुसार अहिले आयोगले विभिन्न ६ आकारका मतपत्रको डिजाईन गरेको जानकारी दिंदै ७५ जिल्लामा दर्ता भएका दलको संख्यालाई ध्यानमा राखी ७५ प्रकारका मतपत्र छपाई गरिनेछ । आयोगले शनिबारबाट नमुनाकालागि मतपत्र छपाई गरे पनि आइतबारबाट मतपत्रको सक्कल प्रति छपाई शुरु गरेको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार चैत २० गतेसम्म मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी आयोगको छ । मुलुकभर एक करोड ४० लाख मतदाता संख्या रहने आयोगको अनुमान छ । गत फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुले मात्र मताधिकार पाउने कानूनी व्यवस्था रहेको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
फागुन ९ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुले मात्र मताधिकार पाउने कानूनी व्यवस्था रहेको आयोगका प्रमुख निर्वाचन आयुक्त डा. यादवले बताउनुभयो ।
मतदाताका लागि मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र निर्माण भइरहेको आयोगले जानकारी गराएको छ । आयोगले परिचयपत्रमा भायड प्याण्टोग्राफ, माइक्रोटेक्ष्ट, वाटरमार्क र प्रमाणिकरण गर्न सकिने क्यूआर कोड राखिएको बताएको छ । स्थानीय तहको निर्वाचनमा मतदातालाई शिक्षा दिनु सबैभन्दा चुनौतिको विषय रहेको आयोगका पदाधिकारीहरुको भनाई छ ।
यस पालिको निर्वाचनमा महिला उम्मेदवार बढी रहने हुनाले महिला मतदातासहित उम्मेदवारलाई परिलक्षित गरेर विशेष मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउने तयारी आयोगले गरेको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो । एक मतदान केन्द्र एक मतदाता शिक्षाको व्यवस्था मिलाउने बताउँदै आयोगले यसपाली २१ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ ।
आमसञ्चार माध्यममा समेत मतदाता शिक्षा सम्बन्धी सामग्री प्रकाशनको तयारी आयोगले गरेको छ । त्यसकालागि विभिन्न १७ भाषामा मतदाता शिक्षा सम्बन्धी सामग्री प्रकाशनको तयारी भएको आयोगका डा. यादवले बताउनुभयो । करिब २१ हजार मतदान केन्द्रका लागि आवश्यक पर्ने मत पेटिकामध्ये नपुग करिब ३० हजार मतपेटिका खरिद प्रक्रिया अघि बढिसकेको आयोगले बताएको छ ।
स्थानीय तहको निर्वाचनका लागि हाल आयोगमा ११३ वटा राजनीतिक दल दर्ता भएको आयोगले जानकारी गराएको छ । त्यसमध्ये सबैभन्दा वढी काठमाडौंमा ४७ दल र सबैभन्दा कम मनाङमा ६ वटा मात्र दल दर्ता भएका छन् ।
डा. यादवले भन्नुभयो, “कार्यालयमा ६ हजार ८४६ जना कर्मचारी खटिने छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजना कर्मचारी र तीनजना स्वयम्सेवक खटिने छन् ।”
निर्वाचनलाई व्यवस्थित बनाउन आयोगले निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा केन्द्रीयस्तरमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरेको छ । त्यस्तै, जिल्लामा क्षेत्रीय प्रशासक, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन कार्यालय लगायतले पनि आचारसंहिता उल्लंघनको अनुगमन गर्ने आयोगले जानकारी दिएको छ ।
२०७० सालको संविधानसभा निर्वाचनमा १० हजार १३ स्थानमा १८ हजार ४३८ वटा मतदान केन्द्र रहे पनि यसपल्ट कति मतदान केन्द्र रहनेबारेको यकिन चैत १० गतेसम्म हुने आयोगले बताएको छ । निर्वाचनका लागि ७५ जना मुख्य निर्वाचन अधिकृत र ६६९ जना निर्वाचन अधिकृतको नेतृत्वमा ७४४ वटा कार्यालय स्थापनाको तयारी भएको प्रमुख निर्वाचन आयुक्त डा. यादवले जानकारी दिनुभयो ।
आगामी वैशाख ३ गतेभित्र सबै निर्वाचन कार्यालय स्थापना भइसक्ने जानकारी दिंदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो, “कार्यालयमा ६ हजार ८४६ जना कर्मचारी खटिने छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजना कर्मचारी र तीनजना स्वयम्सेवक खटिने छन् ।”