समाचारको थुप्रो अगाडि

श्याम रिमाल

Shyam

सामुन्ने टेबुलमा छन्
समाचारदाताले सम्प्रेषण गरेका थुपैै्र समाचार
हत्या, बलात्कार र अपहरणका
चक्काजाम, हडताल र बन्दका
छान्नु छ तिनलाई एक एक

दाइजो नल्याएर घरबाट निकालिएकी महिला
सीमापारि बेच्न लगिएकी चेलीहरु
सर्कसमा लैजान हिँडाइएका बालबालिका
काँटछाँट गर्नु छ फाइलबाट झिकेर

राजनेताहरुका उच्चाटलाग्दा भाषण,
मन्त्रीहरुका एकोहोरा आश्वासन
दलहरुका डरलाग्दा चेतावनी
पुनःलेखन गर्नु छ हतारहतारमा

भाषा र व्याकरण
वर्णविन्यास र वाक्यसंरचना
शैली र प्रस्तुति
शब्द मितव्ययिता, सम्प्रेषणीयता र सरलता
बित्छ समय सम्पादनमा
देशको चिन्ता कति बेला पो गर्न भ्याउनू ?

देश जलिरहेछ
देशवासी डुबिरहेछन्
अक्षरहरु खेल्दै गर्दा देश नै बिर्सन पुगिँदोरहेछ
समाचारका थुप्रो अगाडि
निरीह बस्नुपर्दाेरहेछ ।

तपाईको प्रतिक्रिया