पत्रकार दुर्घटना बीमा घोषणा


FNJ1

काठमाडौं, मंसिर १० गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको दुर्घटना वीमाको पहिलो चरणको ‘पत्रकार दुर्घटना वीमा’ कार्यक्रमको घोषणा गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विहिबार आयोजित पत्रकार दुर्घटना विमा शुभारम्भ कार्यक्रममा मन्त्री राईले त्यसको घोषणा गर्नुभएको हो । पहिलो चरणमा ५५४ जना पत्रकार विमित हुनुभएको छ । बाँकी पत्रकारको लगत आउनेक्रम जारी रहेकाले प्रक्रिया पु¥याएर सबै पत्रकारको वीमा गरिने मन्त्री राईले बताउनुभयो ।

एकवर्षका लागि एनएलजी इन्स्योरेन्स कम्पनीले कम विमा शुल्कमा दुर्घटनामा परी निधन हुने पत्रकारलाई पाँचलाख रुपिया र घाइते भएमा उपचारकालागि दुईलाख रुपिया पत्रकारले पाउने व्यवस्था गरिएको छ । सो बापत श्रमजीवी पत्रकारले वार्षिक ३३९ रुपिया विमा कम्पनीलाई बुझाउनुपर्ने छ । सरकारले त्यसको ७५ प्रतिशत र सञ्चार प्रतिष्ठान वा पत्रकार स्वयम्ले २५ प्रतिशत रकम वार्षिक तिर्नुपर्ने पत्रकार दुर्घटना विमा निर्देशिका २०७० मा व्यवस्था छ ।

सो अवसरमा मन्त्री राईले पत्रकारको दुर्घटना वीमा मंसिर १० गते विहिबारदेखि लागु हुनेगरी घोषणा गर्नुहुँदै पत्रकारका लागि कम भएपनि ऐतिहासिक उपलब्धी भएको दावी गर्नुभयो । पत्रकारको स्वास्थ्य तथा सञ्चार सामग्रीको वीमागर्ने प्रक्रिया पनि शुभारम्भ गर्ने उहाँले सो अवसरमा विश्वास दिलाउनुभयो । त्यस्तै, आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन, सञ्चार नीतिलाई समयानुकुल परिमार्जन गर्ने प्रक्रिया शुरु भइसकेको मन्त्री राईले बताउनुभयो ।

“श्रमजीवी पत्रकारको कार्य सम्पादनका क्रममा कुनै दुःखद् घटनाा नघटोस् भन्ने सरकारको पहिलो प्राथमिकता हो, कथंकदाचित घटिहालेमा सम्बन्धित पत्रकार वा परिवारलाई बीमा पोलिसीका आधारमा उपचार र क्षतिपूर्ति हुनेगरी बीमाको व्यवस्था गरिएको छ” मन्त्री राईले जानकारी दिनुभयो ।

सञ्चार मन्त्रालयका निमित्त सचिव कविराज खनालले पत्रकार दुर्घटना विमाका लागि सरकारी तवरबाट बजेटको अभाव हुन नदिइने प्रतिवद्धता जनाउनुभयो । पत्रकारहरु जोखिम मोलेर देश र जनताकालागि समाचार संकलन गर्ने र नागरिकलाई सुसुचित गराउने हुनाले पत्रकारको अन्य वीमाका विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकारको भौतिक तथा मानसिक जोखिम दुवै रहेकाले दुर्घटना विमाले केही भएपनि राहत पुग्ने विश्वास दिलाउनुभयो । महासंघमा देशभरका १० हजार ७७ जना पत्रकारको लगत भएपनि पहिलो चरणमा ५५४ जना पत्रकारको मात्रै विमा गर्न सम्भव भएको बताउनुभयो ।

बाँकी सदस्यहरुको लगत आउनेक्रम जारीरहेकाले लगत आएको आधारमा प्रक्रिया पु¥याएर वीमा गरिने उहाँले जानकारी दिनुभयो । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको गठन र स्वास्थ्य वीमाका लागि पनि महासंघले पहल गरिरहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले पत्रकारलाई सूचना विभागको कार्ड र महासंघको परिचयपत्रको आधारमा बीमा गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । दुर्घटना बीमाले पत्रकारलाई खोजी समाचार गर्नमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, न्यूनतम पारिश्रमक समितिका अध्यक्ष पोषण केसी, एनएलजी बीमा कम्पनीका कर्मचारी तथा महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया