आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन


लक्की चौधरी
काठमाडौं, कात्तिक २ गते । दशैंको दशौंदिन आज हिन्दू धर्मावलम्बीहरु मान्यजन तथा पूर्खाको हातबाट टीका ग्रहण गरी धुमधामकासाथ दशैं मनाउँदैछन् । थारु समुदायमा सामुहिक टीका ग्रहण गरी पूर्खाको आशीर्वाद थाप्ने प्रचलन छ ।

विहान ९ बजेर ५१ मिनेटलाई टीकाको शुभसाइत मानिए पनि दिनभरी टीका ग्रहण गर्नसक्ने बताइएको छ । थारु समुदायमा प्रायः सेतो टीका, टीकाको साथमा जमरा र दौनावेवुरीको फूल कानमा लगाइदिने गरिन्छ । टीकासँगै पूर्खाले सुख शान्ति, प्रगति तथा सुस्वस्थ्यको शुभकामना दिने गर्नुहुन्छ ।

थारु समुदायमा प्रायः सामुहिकरुपले टीका ग्रहण गरिने गरिन्छ । घरको मान्यजनको हातबाट घरका सदस्यहरुले सामुहिकरुपमा टीका ग्रहण गर्छन् । त्यस्तै, गाउँघरका सदस्यले गाउँका वडघरको हातबाट टीका ग्रहण गर्छन् । सोहीअनुसार गाउँका सदस्यले आफ्ना घरगुरुवा, गाउँका केसौका, मुखिया, महतोको हातबाट पनि सामुहिकरुपमा टीका लगाउँछन् ।

थारु गाउँमा सखीया र झुम्रा नाच नाचिन्छ । दशैंमा नाच नाच्ने सदस्यहरुले घर घरमा गई गाउँका मान्यजन तथा बडगरका सदस्यबाट सामुहिकरुपमा टीका ग्रहण गर्ने र मीठो मसिनो खाने प्रचलन रहेको छ । यसरी टीका ग्रहणगर्दा आशीर्वादसँगै गच्छअनुसारको रुपियाँ पनि दक्षिणाकोरुपमा ग्रहण गर्ने गरिन्छ ।

दशैंको टीकापछि थारु गाउँमा दशैं पर्व सकिन्छ । तर अन्य समुदायले भने द्वादसीसम्म आफन्तको हातबाट टीका थाप्ने प्रचलन छ । धेरै थारु गाउँमा सखीया नाच दशैंबाट समाप्त गरिन्छ । तर केही गाउँमा भने दीपावलीसम्म सखिया नाच नाचिन्छ । देवता बैठाउने दिनसम्म सखिया नाच्ने प्रचलन छ । दशैंको गीत गाएर सकाएपछि नाच पनि स्वतः अन्त्य हुन्छ ।

दशैंको टीकापछि सामुहिकरुपमा घरमा बनाइएका थारु परिकारको मीठो मसिनो खाने, दुःख सुखका कुराहरु साटसाट गर्ने, सन्देशहरु प्रवाह गर्ने प्रचलन छ । दशैंमा विवाहित चेलीहरुलाई माइतमा ल्याई मीठो मसिनो खाने र खुवाउने प्रचलन थारुहरुको छ ।

गाउँघरमा सेतो टीका ग्रहण गर्ने गरेपनि आजभोलिका युवाहरुले रातो टीका पनि ग्रहण गर्नेगरेको देखिन्छ । गैरथारु समुदायले रातो टीका ग्रहण गर्ने गरेकाले देखासेकीमा रातो टीका लगाउने प्रचलन पनि बढ्दैगएको छ । सेतो टीकाको महत्व प्रकृतिसँग जोडिएको भएपनि माता भगवतीलाई रातो रंग प्रिय भएकाले कतिपयले रातो टीका ग्रहण गर्नेगरेको मानिन्छ ।

गाउँभरीका सदस्यहरुले र घरका सदस्यहरुले सामुहिकरुपमा मान्यजनबाट टीका ग्रहण गर्दा सौहद्रता बढ्ने, भातृभाव बढ्ने र पारिवारिक सम्बन्ध कायम हुन्छ । समाज चलाउन पनि सामुहिकताको खाँचो पर्ने हुनाले गाउँघरमा सबै कामकाज समाजसँग मिलेर गर्दा एकता र सहयोगी भावनाको विकास हुनेगर्छ ।

दशैंमा थारु पूर्खाहरुले बड्कीमार गीतको पैढार गाउने प्रचलन छ । महाभारत कथामा आधारित बड्कीमारको गीत दशैंकालागि अति उत्तम मानिन्छ । बड्कीमार गीतले दशैंको रौनकता बढाउने काम गर्छ । युवाहरुलाई बड्कीमारका बारेमा खासै जानकारी नभएकाले पूर्खाहरुले सो गीत गाएर गाउँमा मनोरन्जन गराउने गर्छन् ।

तपाईको प्रतिक्रिया