मधेसी मोर्चा र प्रतिपक्षीदलसँग सत्तारुढदलको पहिलो सुंयक्त बैठक

विद्यमान संकट समाधानमा संवेदनशील भैदिन प्रधानमन्त्रीको आग्रह


Dal1

लक्की चौधरी
काठमाडौं, मंसिर १४ गते । विद्यमान संकट अन्त्य गर्नेगरी लामो समयपछि बसेको प्रमुख तीनदल र आन्दोलनरत मधेसी मोर्चासम्बद्ध नेताहरुको छलफल सकारात्मक दिशामा अघि बढेको छ । आगामी बुधबार वार्तालाई सम्भवतः निर्णायक बनाउने नेताहरुको तयारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सक्षरुढ दल र मधेसी मोर्चाबीचको संयुक्त बैठकमा मोर्चाले राखेको ११ बुँदे मागमा प्रमुख दलका नेताहरु गम्भीररुपले प्रस्तुत हुनुभएपछि वार्ता सकारात्मक बनेको बुझाई नेताहरुको छ ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान समस्या समाधानका लागि वार्ता र संवादबाटै सम्भव रहेकाले सबैलाई गम्भीरतापूर्वक छलफल गर्न आग्रह गर्नुभएको थियो । मधेसी मोर्चाले राखेको मागबारे दलका नेताहरुले आ–आफ्नो पार्टीमा आन्तरिकरुपले छलफल गरी त्यसलाई चाँडो निस्कर्षमा पु¥याउनमा संवेदनशील भैदिनुस् आग्रह गर्नुहुादै सरकारको तर्फबाट आफू तयार रहेको प्रतिवद्धता प्रधानमन्त्री ओलीले बैठकमा गर्नुभएको थियो ।

बैठकमा मधेसवादी दलका नेताले शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको बलप्रयोग तत्काल रोकिनुपर्ने र पक्राउ परेकाहरुलाई विनासर्त रिहा गरिनुपर्ने माग राखेको थियो । सो विषयमा दलका नेताहरु सहमति जनाएपछि बैठक सकारात्मक दिशामा अघि बढेको नेताहरुको बुझाई छ । मधेसवादी नेताहरु समेत समस्या समाधानमा गम्भीर रुपले बैठकमा प्रस्तुत हुनुभएको थियो ।

भारतीय अघोषित नाकाबन्दीले मुलुक संकटमा फँस्दैगएको र मधेसवादी दलको आन्दोलनले नेपालको अर्थतन्त्र तथा नेपाली जनजीवन नराम्रोसँग प्रभावित भएकोले चाँडै समस्या समाधान गर्नेतर्फ नेताहरु गम्भीर बनेको बैठकमा सहभागी नेताहरुले प्रतिक्रिया दिनुभयो । निकासका लागि सबै नेताहरु सकारात्मक देखिनुभयो बैठकमा सहभागी एक नेताले भन्नुभयो ।

सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आव्हान गर्नुभएको बैठकमा सबै दलका नेताहरुलाई समस्या समाधान हुनेगरी सार्थक ढंगले प्रस्तुत हुन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको प्रस्तावअनुसार नेताहरु बैठकमा मधेसको मागमा केन्द्रीत भएर धारणा राख्नुभएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले जानकारी दिनुभयो । मधेसको मागको सबै विषयमा गम्भीरतापूर्वक नेताहरुबीच छलफल भएको छ, सम्भवतः अर्को बैठकले सार्थकता पाउँछ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाले मधेसी मोर्चाले अघि सारेको ११ बुँदे मागमा गम्भीर छलफल भएको जानकारी दिनुभयो । मधेसको मागलाई वार्ता र संवादबाटै समाधान खोज्न सकिन्छ भन्नुहुँदै उहाँले सम्भवतः अर्को बैठकमा निकास आउन सक्ने विश्वास व्यक्त गर्नुभयो । अर्को बैठक बुधबार पुनः बस्ने सहमति बनेको उहाँले बताउनुभयो ।

नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा भइरहेको आन्दोलनमा सरकारी बलप्रयोगलाई तत्काल रोक्ने र वार्तालाई निस्कर्षमा पु¥याउने विषयमा सबै दलका नेता गम्भीर देखिनुभएकाले बैठक सकारात्मक दिशामा गएको बताउनुभयो । बैठकमा आफूले मधेसले उठाउँदै आएको ११ बुँदे मागमध्येको सिमाङ्कनको विषयलाई तत्कालका लागि थातीराखेर बाँकी विषयमा सहमति गरेर अगाडि बढौं भन्ने प्रस्ताव राखेको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

मधेसी मोर्चाले राखेको मागका विषयमा प्रमुख दलले आ–आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर आवश्यक गृहकार्य गर्ने र पर्सी पुनः संयुक्त बैठक बस्ने सहमति बनेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा ठोस सहमति बन्न नसकेपनि विषयवस्तुमा गम्भीरतापूर्वक छलफल भएको छ उहाँले भन्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले धेरै विषयमा गम्भीरतापूर्वक छलफल भएपनि सिमाङ्कनको विषयले बैठकमा प्रवेश नपाएको बताउनुभयो । मधेस आन्दोलनमा भइरहेको सरकारी दमनलाई रोक्ने हाम्रो प्रस्तावमा सबै नेताहरु तयार हुनुभयो उहाँले जानकारी दिनुभयो ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेस आन्दोलनका क्रममा शहादत्त प्राप्त गरेकाहरुको उचित क्षतिपूर्ति, पक्राउ परेकाहरुको रिहाई र घाइतेको समुचित उपचार गर्ने प्रस्ताव सरकार र नेताहरु समक्ष राखेको बताउनुभयो । सो विषयमा सरकार र नेताहरु संवेदनशील देखिएकाले वातावरण सकारात्मक बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बैठकमा एमालेबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष भिमरावल, नेपाली कांग्रेसबाट सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेलको सहभागिता थियो ।

त्यस्तै, एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, फोरम (लोकतान्त्रिक) का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार, मोर्चाको तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया