नेपाली समाज विविध जाती, समुदाय, भाषा र पर्वले धनी छ । समुदायका आफ्नै मौलिक संस्कार र संस्कृति छन् । संस्कृतिका धनी नेपाली यिनै संस्कृतिका माध्यमबाट रमाइलो गर्छन् । गरिबी, बेरोजगारी र अनेक प्राकृतिक विपत्तिले थिलथिलो हाम्रो समाजको मन बहलाउने माध्यम यिनै विविध संस्कृति बनेका छन् । आर्थिक वर्ष सुरु भएपछि पहिलो पर्वको रुपमा गुरही पर्व आउँछ । नेपाली समाजमा यसलाई नागपञ्चमीले चिनिने गरे पनि थारू समुदायले ‘गुरही’ को रुपमा मनाउँछन् ।
नागबाबालाई पूजा गर्दा सर्प घरमा नआउने विश्वास गरिन्छ । बज्रपात घरमा नपर्ने, रोगव्याधी र महामारी घरमा नआउने विश्वास पनि गरिन्छ । नागबाबालाई घरको द्वारमा टाँसेर पूजा गर्नुको आशय घरमा कुनै दुःख नपसोस् भन्ने हो । थारू समाजमा यो पर्व र पूजालाई अलि फरक किसिमले हेरिन्छ । परापूर्वकालदेखि मनाउँदै आएको यो पर्व सरकारको नयाँ आर्थिक वर्ष सुरु भएपछि पर्ने पहिलो पर्व हो ।
नागबाबालाई पूजा गर्दा सर्प घरमा नआउने विश्वास गरिन्छ । बज्रपात घरमा नपर्ने, रोगव्याधी र महामारी घरमा नआउने विश्वास पनि गरिन्छ ।
खेतीपातीको काम सकेर घरका सदस्यहरु फुर्सदिला भएकाबेला गुरही आइपुग्छ । यो पर्व प्रायः साउन महिनामा पर्छ । पञ्चमीमा पर्ने तिहार भएकाले यसलाई नागपञ्चमी भनिन्छ । यो वर्ष नागपञ्चमी साउन २५ गते परेको छ । थारु समाजमा यसलाई ‘गुरही, गुर्या, नुरही’ भनेर चिनिन्छ । थारू समाजमा ठाउँअनुसार ‘गुरही’ मनाउने चलन फरक फरक छ ।
वर्ष दिनमा आउने यो अगुवा पर्व हो । साँझ गाई गोरु गोठमा भित्र्याएपछि गाउँको बरघर (भलमन्सा) को अगुवाइमा गाउँका बालबालिका, दाजुभाइ, दिदीबहिनीहरु नयाँ कपडा पहिरेर घर बाहिर निस्किन्छन् । थाल र ढकीमा भुजा र कपडाको रंगीविरंगी गुडीया बोकेर गाउँको चौराहामा जम्मा हुन्छन् । जहाँ ‘गुरही’ ठटाउने गन्तव्य कायम गरिएको हुन्छ । चौराहामा गाउँका भद्र भलादमी, बच्चादेखि बुढासम्म रमाइलो हेर्न भेला हुन्छन् । त्यहाँ भुजा माग्न र रमाइलो हेर्न गाउँलेहरु जम्मा भएका हुन्छन् ।
गाउँका बरघरले एकै साँसमा (एक संस्सु) दुबो घाँस वा कुसमा गुडियालाई गाँठोपारी बाँध्छन् । गाँठो पारीसकेपछि त्यसलाई ठटाउने आदेश दिन्छन् । त्यहाँ जम्मा भएका केटाकेटीहरुले आफुसँग ल्याएको लठ्ठी, कोर्राले ठटाउँछन् । “देउ घुघरी” “लेउ घुघरी” नारा लगाउँछन् । ‘गुरही’ ठटाउँदा गाउँघरका रोगव्याधी र दायन भूतको दुःखबाट छुटकारा पाइने विश्वास गरिन्छ । त्यसरी गुरही ठटाउँदा गाउँबाट विभिन्न रोगव्याधी र दुःख कष्ट हट्छ भन्ने जनविश्वास छ । गुरहीलाई दुःखको प्रतीक, रोग र शत्रुको प्रतीक मानेर ठटाउने गरिन्छ ।
केटाकेटी आकारमा लुगाको पुतला बनाएर कुस वा दुबोमा बाँधिएको हुन्छ । त्यसलाई गाउँको मूल चोकमा लगेर ठटाउने गरिन्छ । थारु समाजभित्र तिरस्कृत रहेको बोक्सी, कुरीतिलाई समाजबाट बहिस्कृत गरेको संकेत पनि यसले गर्छ । थारू समाजभित्र अन्धविश्वासले जडा गाडेको छ । त्यसको अन्त्य होस् भन्ने कामना यो पर्वमा गरिन्छ । महिलालाई एकातिर जननी जगतमाताको रुपमा पुजिने गरिन्छ । अर्कोतिर बोक्सी आरोपमा अपमान गरिने कुसंस्कारलाई यस पर्वले तिलाञ्जलि दिने प्रेरणा दिन्छ । लुगाको सानो आकारको गुडिया कुविचार, कुप्रथा, रोग, भोग र शत्रुको प्रतिनिधित्व गरेको हुन्छ । त्यसलाई अन्त्य गर्न बालबालिकाले लठ्ठी, कोर्राले पिट्छन् । सांकेतिक रुपमा एकातिर बालबालिका रमाइलो गर्छन्, अर्कोतिर कुविचार र शत्रुको अन्त्य गर्छन् । यो काम सामुहिक रुपमा गर्छन् ।
‘गुरही’ पिटेपछि त्यहाँ जम्मा भएका थारु युवतीहरुले ‘गुरही’ ठटाएकै ठाउँमा खुशीयाली मनाउँछन् । घरबाट ल्याएको ताजा भुजा प्रसादको रुपमा वितरण गर्छन् । बालबालिकाले चना, मकै, केराउ लगायतका परिकारका भुजा ल्याएका हुन्छन् । थालको भुजा नसकिँदासम्म त्यहाँ जम्मा भएकाहरुलाई भुजा बाँड्छन् । भुजा माग्दा थारु केटाकेटीहरु “देऊ भुजा, लेऊ भुजा” भन्छन् । गुरही ठटाएको ठाउँमा पनि भुजा चढाउँछन् ।
भुजा बाँडिसकेर चोकमा ठटाएको गुरहीको कपडाको टुक्रा, दुबो र चढाएको भुजा लिएर सहभागीहरु घर जान्छन् । त्यसरी ठटाइएका ती पुतलाको टुक्रा घरको द्वारमा बाँध्छन् । भुजालाई घरको छानामा छर्कन्छन् । दुबोलाई घरको छानोमा राख्दा घरमा रहेको दुःख कष्ट र सर्पहरु बाहिर निस्केर भाग्छन् भन्ने विश्वास गरिन्छ ।
दुलोबाट बाहिर निस्केका सर्प, विच्छी र गोजर गुरही मनाएको दिनदेखि पुनः दुलोमा पसेर लोप हुन्छन् भनिन्छ ।
‘गुरही’ लाई पिटिसकेपछि चौराहाबाट उठाएर नदी, कुलोको पानीमा त्यसको अन्त्येष्ठी गरिन्छ । त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र संकट पानीसँगै बगेर जाने विश्वास गरिन्छ । नागपञ्चमीमा गैर थारूले नागको फोटो लगाएर घरमा पूजा गर्ने चलन छ । तर थारू समुदायले त्यसो गर्दैनन् । आजभोलि शहरबजारमा बस्ने थारूले नागको तस्बिर राख्न थालेका छन् । तर त्यो देखासेकी मात्र हो ।
दुलोबाट बाहिर निस्केका सर्प, विच्छी र गोजर गुरही मनाएको दिनदेखि पुनः दुलोमा पसेर लोप हुन्छन् भनिन्छ । अर्कोतिर नागपूजा गर्नाले घरमा बज्रपात पर्दैन पनि भनिन्छ । ‘गुरही’ मान्नुको वैज्ञानिक पक्षबारे प्रमाणित नभए पनि पुर्खादेखि चलेको चलनप्रति थप खोज अनुसन्धान जरुरी छ । रंगीविरंगी कपडाको पुतला बनाएर त्यसलाई गाउँको चौराहामा लगेर कोर्राले पिटने, पिटीसकेपछि उसैको खुशीयालीमा भुजा बाँडेर खाने चलन रहस्यपूर्ण छ । संक्षेपमा भन्नुपर्दा गाउँको शत्रुको रुपमा रहने रोगव्याधी, कुरीति, कुविचारलाई गाउँ निकाला गरी गाउँको उन्नति प्रगतिको कामना गर्नु यो पर्वको मुख्य ध्येय देखिन्छ ।
मूलतः बालबालिकाले यो पर्व मनाउँछन् । तर त्यसको अगुवाई बरघरले गर्छन् । यसको पूजाविधि र मनाउने प्रचलनबारे गाउँका गुरुवा (भर्रा) ले सिकाउँछन् । यो पर्व बालबालिकाको पर्व भनिए पनि अहिले यसलाई थारू समुदायका युवापुस्ताले पनि मनाउन थालेको छ । आजभोलि बालबालिकासँगै युवा, वयस्क, गाउँका अगुवाहरु स्वयम् सहभागी भएर सामुहिक रुपमा गुरही पर्व मनाउने परम्परा सुरु भएको छ । कैलालीको धनगढीस्थित क्याम्पस रोडमा गुरही चोक बनाइएको छ । त्यही ठाउँमा गुरही मनाइने हुनाले सो चोकको नाम गुरही चोक नामकरण गरिएको छ । यो पर्वको अन्तरवस्तुबारेमा सांस्कृतिक अध्ययन गरी यसको महत्वबारे उजागर गर्न सक्ने हो भने यसको ऐतिहासिकता थप बलियो हुने विश्वास थारू अगुवाहरुको छ ।