कथाकार रामलाल जोशीको कथासंग्रह ऐना विमोचित


SAM_3731

काठमाडौं, वैशाख ५ गते । राष्ट्रकवि माधव घिमिरेले नेपाली भाषा सुदूरपश्चिमबाटै सृजना भएकाले सुदूरपश्चिमको योगदानलाई कम आँक्न नहुने बताउनुभएको छ । नेपाली भाषा साहित्यको क्षेत्रमा सुदूरपश्चिमको भूमिका अतुलनीय रहेको उहाँले चर्चा गर्नुभयो ।

साहित्यकार रामलाल जोशीको नयाँ कथासंग्रह ‘ऐना’ को आइतबार यहाँ लोकार्पण गर्दै र राष्ट्रकवि घिमिरेले त्यस्तो बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति हुँदा सुदूरपश्चिम साहित्य समाजका लागि धनगढीमा एक विघा १७ कठ्ठा जग्गा उपलब्ध गराएको उहाँले स्मरण गर्नुभयो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहयोगमा सो काम फत्तेभएको बताउनुभयो ।

सुदूरपश्चिमसँग आफ्नो गहिरो नाता रहेकाले अस्वस्थ अवस्थामा पनि कार्यक्रममा आउने हौसला बढेको उहाँले बताउनुभो । कार्यक्रममा राष्ट्रकवि घिमिरेले जोशीको कथासंग्रह ऐनाको लोकार्पण गर्नुभयो ।

सो अवसरमा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले जोशीले स्तरीय कथासंग्रह प्रकाशन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । सदूरपश्चिम र मध्यपश्चिमबीच अहिले गजलमा प्रतिस्पर्धा भइरहेको बताउँदै उहाँले कृतिकार जोशी गजलकारसँगै कथाकारमा पनि आफ्नो नाम कृति प्रकाशन गरेर दर्जगरेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कथाकार जोशीले आञ्चलिक कथा लेखेर नेपाली साहित्यिक क्षेत्रमा ठूलो गुन लगाएको बताउनुभयो । नेपाली समाज र सुदूरपश्चिमको जनजीवनलाई कृतिमा छर्लङ्ग उतारेको दावी गर्नुभयो । सुदूरपश्चिम अरु सबैचिजमा पछाडि रहेपनि साहित्य र प्राकृतिक स्रोतसाधनमा अगाडि रहेको उहाँले चर्चा गर्नुभयो ।

साहित्यकार सुवासचन्द्र भण्डारीले कृतिकारले स्तरीय कथा रचना गरेर नेपाली साहित्यिक क्षेत्रमा एक ईटा थपेको चर्चा गर्नुभयो । सुदूरपश्चिममा कार्यरत साहित्यकारले राष्ट्रियस्तरको परिस्कृत कथा रचना गरेर आफूलाई सबैमाझ परिचित गराएकोभन्दै उहाँले कथाकार जोशीको लेखनीको प्रसंशा गर्नुभयो ।

प्रसंशा संरक्षण समूहको आयोजनामा भएको लोकार्पण कार्यक्रममा सो संस्थाका अध्यक्ष अम्बादत्त भट्ट, वरिष्ठ समालोचक महादेव अवस्थी, समालोचक डा. तुलसीप्रसाद भट्टराई, हरिकृष्ण कडायत लगायतले कृतिबारे चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया