शासन व्यवस्थालाई सिकलसेल होस


Sickle

दी न्यु योर्क टाइम्सको जुन १३ को ‘दी वर्ल्ड कुड एन्ड एडस इफ इट ट्राइड’ शीर्षकको सम्पादकीयमा राजनीतिक इच्छाशक्ति हुने हो भने औषधि र प्रविधिको विकासका कारण अब संसारलाई केही वर्षमा एडस मुक्त बनाउन सकिनेछ भन्ने उल्लेख गरिएको छ । एडसले बीसौं शताब्दीको अन्तिम दशकतिर संसारलाई नराम्ररी तर्साएको थियो । जनसंख्या र विकासका क्षेत्रमा संलग्न रहेका कारण त्यो भयावहता मैले पनि थाहा पाउने मौका पाएको थिएँ । रोगीलाई छुँदैमा एडस् सर्दैन भन्ने धेरै पटक पढेको भए पनि अमेरिकन फाउन्डेसन फर एडस रिसर्चको निम्तोमा सन् १९९४ मा न्यु योर्क गएका बेला हस्पिसहरूमा राखिएका बिरामीसँग हात मिलाउन निकै डर, घीन र हिचकिचाहट भएको अझै सम्झना छ । सँगै जाने अर्का साथी त सकेसम्म परिचयको समय नै छल्थे । अस्पतालहरूमा त अमेरिकामै समेत एचआईभी संक्रमितहरूको उपचार गर्न अस्वीकार हुने गरेको गुनासो सुनिन्थ्यो ।

काठमाडौं ब्यांकक र बम्बईको बीचमा छ भनेर धेरै जनाले धेरै पटक तर्साउँथे । तर, एडस विश्वव्यापी महामारी बन्न नपाउँदै नियन्त्रित भयो । यद्यपि, अझै यसको जोखिम उन्मूलन भइसकेको छैन । गएको वर्ष ११ लाख मानिस एडसबाटै मरे रे १ यसैगरी २१ लाख व्यक्ति एचआईभीको संक्रमणमा परेका छन् । यसैले होला संयुक्त राष्ट्रसंघले गत साता सन् २०३० सम्ममा यो रोग सर्ने अवस्था अन्त्य गर्ने महत्त्वाकांक्षी कार्य योजना सार्वजनिक गरेको छ । न्यु योर्क टाइम्सको सम्पादकीय धारणा छ धनी मुलुकहरूले उदारतापूर्वक सहयोग बढाउनु पर्छ । एडससम्बन्धी कार्यक्रममा गरिएको सन् २०१४ को १९ अर्ब २० करोड डलर बढाएर सन् २०२० मा २६ अर्ब डलर पुगेमात्र यो महत्वाकांक्षी लक्ष्य हासिल हुनसक्छ । विश्व संस्था यो महत्त्वाकांक्षी उपलब्धि हासिल गर्न सफल होस् ।

यस्तै व्यापक र भयावह नभए पनि ‘सिकल सेल’ भनिने एउटा वंशानुगत अवस्थाबाट पनि व्यक्ति पूर्ण मुक्त हुन सक्तैन । नेपालमा मध्य तथा सुदूर पश्चिमका थारु समुदायमा सिकल सेलको वंशाणु देखिएको छ । यसका बारेमा चेतना भने देखिएको छैन । सिकल सेलको उपचार हुँदैन । तर, यसको व्यवस्थापन गर्न सके असर कम गर्न र फैलनबाट रोक्न सकिने रहेछ । रिकाबीजस्तो बाटुलो आकारको रक्त कोष ९ब्लड सेल० बिस्तारै हँसियाजस्तो बांगो भएपछि बांगिएका कोषलाई सिकल सेल भनिदो रहेछ । कुनै व्यक्तिमा यसको संख्या बढेमा रक्त अल्पताबाट लाग्ने अरू रोग लाग्न सक्छ । सिकल सेलका प्राविधिक जानकारी दिने उपयुक्त व्यक्ति म हैन । यसैले यसको प्राविधिक पक्षबारे विस्तारमा नजाऊँ ।

सरकारले अरूलाई नदिएजस्तै आफूले पनि गर्ला भन्ने विश्वास भने छैन । स्वास्थ्य मन्त्री नै सुदूर पश्चिमका थारु हुँदा र उनले थाहा पाउँदा त यसरी पन्छाइन्छ भने अरू बेला के आशा गर्नु र, यसैले सरापेको यो शासन व्यवस्थालाई सिकल सेल होस् ।

गएका २,३ वर्ष सिकल सेलको परीक्षण र व्यवस्थापनमा सहयोग जुटाउने सानो परिमाणको काममा अप्रत्यक्ष संलग्न हुने मौका मिलेको थियो । देउखुरी उपत्यकाका केही गाउँमा बसोबास गर्ने थारु समुदायका मानिसहरूमा सिकल सेलको परीक्षण गर्न क्यानाडाको एउटा विश्वविद्यालयका चिकित्साशास्त्रको विद्यार्थीले सहयोग गरेका थिए र स्थानीय स्वास्थ्यकर्मीहरू पनि संलग्न थिए । परिक्षणमा केही व्यक्तिमा सिकल सेल भेटियो । तीमध्ये धेरैमा यो सामान्य अवस्थामा रहेकाले चिन्ता गर्नैपर्ने अवस्था थिएन । अत्यन्त थोरैमा मात्र यो अलि चिन्ताजनक अवस्थामा भेटियो । सरकारले सिकल सेलको उपचार गराउन परे एक लाख रुपियाँसम्म उपलब्ध गराउने पनि निर्णय गरेको   छ ।

यस वर्ष पनि देउखुरीकै अर्को थारु गाउँमा सिकल सेलको परीक्षण गर्न उत्साहपूर्वक आएका क्यानाडाका विद्यार्थी भने अलि निराश भएर    फर्के । गैरसरकारी संस्थाले सामान्य अवस्थामा सरकारको सम्बन्धित निकायको स्वीकृति नलिई काम नगर्ने परम्परा पालन गरेर गत वर्षजस्तै स्वीकृति माग्दा यस वर्ष स्वास्थ्य मन्त्रालयले ३ महिनाभन्दा बढी फाइल यता र उता गरेर अन्त्यमा उनीहरू आउने दिनसम्म पनि निर्णय नै गरिदिएन । सिकल सेल पाइने क्षेत्र र समुदायकै स्वास्थ्य मन्त्री छन् । उनले निर्णय गरिदिन भनेका पनि थिए रे । तर स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले निर्णयै गरिदिएनन् । स्वीकृति नदिने नै पनि निर्णय बेलैमा गरिदिएको भए ती विद्यार्थीले दुःख पाउने थिएनन् । जेहोस्, यो वर्ष त्यहाँ अरू जाँच हुन सकेन ।

सिकल सेलको पनि एडसकै जस्तो निको हुने औषधि छैन । गाउँका गरिब थारुहरू खोजेर जँचाउन पनि जाँदैनन् । पैसा र चेतना दुवैको अभाव छ । सुनेअनुसार सिकल सेलका कारण रक्त अल्पता भएका व्यक्तिलाई अरू औषधिले झन् बिगार गर्छ । तर गएको वर्षसम्म मध्य र सुदूर पश्चिमका अधिकांश अस्पतालहरूमा समेत सिकल सेल परीक्षण गर्ने व्यवस्था थिएन । अहिले कति भयो थाहा छैन । बजेटमा व्यवस्था गरिएको सिकल सेल उपचारको पैसा खासै खर्च नभएको सुनेको छु । यसले पनि चेतनाको कमी भएको पुष्टि गर्छ ।

हाम्रो संस्थालाई सिकल सेलको थप जाँच गर्ने अनुमति नदिएकोमा खासै गुनासो हैन । संस्था अरू नै क्रियाकलापमा संलग्न छ । थारु समुदायमा काम गरेको संस्थाका नाताले तिनकै स्वास्थ्य परीक्षणका लागि सहयोग जुटाइएको थियो । सरकारले नै व्यापक अभियान संचालन गरेर पहिलो चरणमा थारु र त्यसपछि उनीहरूसँग नजिक रहेको समुदायको परीक्षण गराए हुन्थ्यो । आमाबाबुमध्ये एक जनामा मात्र सिकल सेल भए छोराछोरीलाई हुने जोखिम निकै कम वा नभए बराबर हुने र दुवै जनामा भए सन्तानलाई सिकल सेल हुने जोखिम बढी हुने रहेछ । विवाह गर्ने उमेरका थारु युवाको मात्रै पनि परीक्षण गर्न सके अर्को पुस्तामा यसको विस्तार रोक्न सकिन्थ्यो ।

सरकारले अरूलाई नदिएजस्तै आफूले पनि गर्ला भन्ने विश्वास भने छैन । स्वास्थ्य मन्त्री नै सुदूर पश्चिमका थारु हुँदा र उनले थाहा पाउँदा त यसरी पन्छाइन्छ भने अरू बेला के आशा गर्नु र, यसैले सरापेको यो शासन व्यवस्थालाई सिकल सेल होस् ।

(साभारः बाह्रखरीबाट)

तपाईको प्रतिक्रिया