नेपाली युवाः सम्भावना र चुनौति

मिरा काफ्ले

मिरा काफ्ले

Mira Kafle

विगत केहि बर्षदेखि अगष्ट २८ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउँदै आएकोमा एक युवा–महिला त्यो पनि युवाहरुकै क्षेत्रमा संलग्न भएकोले केहि लेख्न मन लागेको छ । विभिन्न विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले यो वर्षको युवा दिवस भव्य, सभ्य र सफलतापुर्वक मनाउने तयारी गरिरहेको छ । एकातिर अवको युवापुस्ताले विकास, राजनीतिक स्थिरता र दीर्घकालीन विकास चाहेको छ भने अर्कोतिर राज्यलाई सक्षम, सबल, स्वावलम्वी, स्वस्र्फुत विकास निर्माणमा सहभागि हुनसक्ने युवा नेपाली चाहेको छ । नेपालमा नै बसेर केहि गर्न सकिन्छ भन्ने आमविश्वास गुम्नलागेको आजको विकराल अवस्थामा हामीहरुले मनाउने युवा दिवस र योजनामा सीमित कार्यक्रमहरुले युवाहरुको त्यो निराशालाई बदल्न नसक्ला तर राज्यले चाहेमा गर्न नसक्ने केहि छैन ।

विदेशी चक्करमा रुमल्लिइ नसकेका धेरै युवा सामाजिक सञ्जालको चरम दुरुयोग गर्दै आफ्नै बर्बादी गरेको दृश्य हाम्रो घरघरमा देख्न सकिन्छ ।

युवा भनेको राज्यको शक्ति हो । आजको अवस्थामा हाम्रो मुलुकको यो शक्ति या अरव देशमा पसिना बेच्दैछ, कि अमेरिका युरोपमा स्थाइ बसोबास अनुमतिको खोजिमा कागजपत्र मिलाउनमा व्यस्त छ, त्यो नभए बग्रेल्ती खुलेका म्यानपावर कम्पनी र परापर्श केन्दहरुमा भिड जमाउँदैछ, भिजा प्रोसेसका लागि । विदेशी चक्करमा रुमल्लिइ नसकेका धेरै युवा सामाजिक सञ्जालको चरम दुरुयोग गर्दै आफ्नै बर्बादी गरेको दृश्य हाम्रो घरघरमा देख्न सकिन्छ । युवाहरुको बहुत सानो हिस्सा मात्रै उसको उर्जावान समय राष्ट्र निमार्णमा लगाइरहेको यथार्थता हामी सबैमा छर्लङ्ग छ ।

युवा समुहको पृष्ठभूमि हेर्दा अधिकांश मुलुकमा १५–३५ समुहलाई युवा मानेपनि विश्वव्यापी रुपमा एउटै धारणा भने रहेको पाइदैन । संयुक्त राष्ट्रसंघले १५—२४ उमेर समुहलाई युवा मानेको छ । नेपालको हकमा भने १६–४० बर्षसम्मको उमेर समुहका व्यक्तिहरुलाई युवा भनिन्छ । पछिल्लो जानसांख्यिक तथ्याङ्क हेर्दा नेपालमा १६ देखि ४० बर्ष उमेर समुहको जनसंख्या ४०.३५ प्रतिशत रहेको छ । जानसाख्यिंक रुपले यो अति नै लाभदायक अवस्था हो किनकी युवाशक्ति कुनैपनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका वाहक ठानिन्छन् । विश्वयुद्धमा आफ्नो निकै जनधनको क्षतिमात्र भएन ठूलो हिस्सामा युवा जनशक्ति गुमाएपछि जर्मनीले पुर्ननिमार्णमा टर्की लगायतका मुलुकबाट मानवस्रोत जुटाउनु परेको थियो । नेपालको सन्दर्भमा भन्नुपर्दा अहिले नेपालमा युवाशक्तिको संख्यात्मक तथ्याङ्क विकासका लागि वरदान भए तापनि यो शक्तिलाई गुणात्मकरुपमा परिचालन गर्न भने सकिएको छैन । नेपाल विश्वयुवा विकास सुचाङ्ककमा १४५ औं स्थानमा रहेको छ । केन्द्रीय तत्थ्याङ्क विभाग तथा अन्तराष्ट्रिय श्रम संगठनको तथ्याङ्क हेर्दा युवा विकास सुचाङ्कमा नेपाल दक्षिण यशियामा नै कमजोर अवस्थामा रहेको छ । नेपाली युवाको वृत्तिविकास र रोजगारीमा सरकार शिघ्र र सकृयरुपमा लाग्नैपर्ने अवस्था आइसकेको छ ।

युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालय मातहत रहनेगरी राष्ट्रिय युवा परिषद् गठन गरी युवा परिषद् ऐन २०७२ समेत जारी भइसकेको छ ।

नेपालको अहिलेसम्मको स्थितीहेर्दा थोरै भएपनि संस्थागत प्रयासहरु भने भएका छन् । नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्त अन्तर्गत राष्ट्रिय विकासमा युवा अभिबृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको पूर्ण उपयोगको वातावरणको सृजना गर्ने कुरा उल्लेख गरेको छ । वि.सं. २०६५ सालमा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको छ । त्यस्तै, नेपाल सरकारको तेह्रौं योजनाको आधारपत्र (२०७०÷०७१–२०७२÷०७३) मा युवामा उद्यमशीलता र क्षमता अभिबृदि गर्ने, स्वरोजगार र आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्नसक्ने गरी सशक्तिकरण गर्ने रणनीति तयार गरिएको छ । युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालय मातहत रहनेगरी राष्ट्रिय युवा परिषद् गठन गरी युवा परिषद् ऐन २०७२ समेत जारी भइसकेको छ । परिषद्मार्फत ७५ वटै जिल्लामा युवाहरुका साझा मुद्दाहरुको पहिचान गर्ने, संवोधन गर्ने र युवा उद्यमीको पहिचान तथा प्रोत्साहन गर्ने जस्ता अभिप्रायले युवा परिषद्लाई जिल्ला तहसम्म विस्तार गर्नेक्रममा अधिकांश जिल्लाहरुमा “जिल्ला युवा समिति” को अध्यक्षहरुको नियुक्त समेत भइसकेका छन् । यसकालागि पाँचवटा आधारस्तम्भहरु, रणनीति र कार्यक्रमहरु तयार पारी “युथ भिजन–२५” सहितको दशबर्षे रणनीतिक योजना सार्वजनिक भएको छ ।

विभिन्न संस्थागत प्रयासका वावजुद पनि व्यवहारिकपक्षमा युवाहरुको अवस्था अझैपनि गम्भिर छ । नेपाल सरकारको तथ्याङ्कले नेपालमा पुर्ण वेरोजगार युवाको संख्या २.३ % मात्रै देखाएपनि २०१४ मा अन्तराष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पूर्ण वेरोजगारी दर १९.२% र अर्ध वेरोजगारी २८.३% रहेको छ । अर्थमन्त्रालयले २०७१ मा गरेको अध्ययनले उच्चशिक्षा प्राप्त गरेकाहरुको वेरोजगारी दर २६.१% देखाएको छ जुन आफैँमा डरलाग्दो रहेको छ । नेपालमा वढ्दो शिक्षित वेरोजगारी नै बौद्धिक पलायन (ब्रेन ड्रेन) को प्रमुखकारण बनेको छ । अब त्यसलाई ब्रेन ग्रेन र ब्रेन शेयरिङमा परिवर्तन गर्नुपर्छ भन्ने वहसहरु हुनथालेको पनि केहिबर्ष भइसकेको छ । नेपालजस्तो विकासोन्मुख मुलुककालागि यो अत्यावश्यक र गम्भिर विषय पनि हो ।

दैनिक पन्ध्रसयको हाराहारीमा नेपाली युवाहरु विदेशीने गरेको तथ्याङ्कले पनि यो कुरा पुुष्ट्याउँछ ।

गाई हरियो घाँस जँहादेख्छ त्यही चर्न जान्छ भनेझै विश्वव्यापीकरणले खुलागरेको रोजगारीको विश्ववजारमा जहाँ सम्भावना र सुरक्षीत भविष्य देख्छन् युवापिढीं त्यतै पलायन हुनु स्वाभाविकै पनि हो । दैनिक पन्ध्रसयको हाराहारीमा नेपाली युवाहरु विदेशीने गरेको तथ्याङ्कले पनि यो कुरा पुुष्ट्याउँछ । धेरै नेपाली युवाहरुको साझा समस्याहरु भनेको बढ्दो वेरोजगारी, वेराजगारी सँगसँगै बढेको दुव्यशर्नीको लहर, विग्रदो युवा स्वास्थ्य र असुरक्षित खाद्यसमस्या, सामाजिक सन्जाल वा साइवर क्राइममा संंलग्न बढ्दो युवा संख्या, राजनीतिक अस्थिरता र युवाहरुको राजनीतिप्रति विश्वास नहुनु, नेतृत्वतहमा युवा संलग्नता कम, धेरै कम युवाहरुले मात्र राजनीतिक या सामाजिक अभियनताको भूमिका पाउनु, युवा परिचालनमा योजना विहिनताको अवस्था, युवापिढींमाथि कम विश्वास, युवा मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानि, व्यवहारीक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् ।

जहाँ समस्या त्यहाँ सम्भावना पनि उत्तिकै हुने गर्दछन् । हाम्रो युवाहरुकामाझ जत्ति समस्या छन र चुनौति छन् सम्भावना पनि त्यत्तिकै रहेका छन् । त्यसैले हतोत्साहित हुनेभन्दा पनि काम गर्नुपर्ने सहि समय आएको छ भन्ने अर्को युवापत्तिंm पनि यहि समाजमा क्रियाशील   छ । यो पुस्ताको युवाहरुमा भुकम्प र नाकाबन्दिले थिलथिलो पारेको अर्थतन्त्र उकास्ने जिम्मेवारी आएको छ । पुनरनिर्माणमा युवाहरुको व्यापक परिचालन गर्दै धेरै रोजगारी सृजना गर्ने अवसर पनि हो । विकास निर्माणमा युवा परिचालन गर्ने उपर्युक्त समय हो यो । लामो प्रयास र संघर्ष पछि जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान पनि प्राप्त भइसकेकाले अवको राष्ट्रिय मुद्दा भनेको आर्थिक नै हो । जसमा युवाहरुको स्पष्ट भूमिका हुनुपर्दछ । कला, साहित्य, संस्कृतिको प्रवद्र्धनमा युवाहरुको अथाह भूमिका हुनसक्छ । द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपुर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ । सत्ताकेन्द्रित हुन थालेको पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खवरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुखहुने इतिहाँसकै सहि समय आएको छ । नेपालको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ त्यसको अपनत्व युवाहरुलाई दिलाएर युवा सक्रियता बढाउने सुनौलो अवसर पनि त्यत्तिकै छ । यस्ता विविधपक्षमा ध्यान दिनसके दैनिक पलायन हुने युवा संख्या क्रमशः घट्दै जानेछ ।

राजनीतिक अस्थिरता, व्यवहारिक र व्यवसायिक शिक्षाको अभाव, सम्मानित रोजगारिको अवसरको कमि नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् ।

नेपालमा पढेलेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभुति दिन सक्दैन भन्ने सोचमा रहेका युवासमुह स्वदेशी माटोमा नरमाउन सक्छन् । राष्ट्रप्रेमी, सदाचारी, अनुशासीत र कर्मठ युवाहरुको खोजी यो मुलुकले गरिरहेको छ । राजनीतिक अस्थिरता, व्यवहारिक र व्यवसायिक शिक्षाको अभाव, सम्मानित रोजगारिको अवसरको कमि नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् । अवसर पनि यहि देशभित्र प्रसस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले बुझाउन नसकेको पनि यथार्थ हो । दुई प्रतिशत मात्रै नेपालीहरु विदेशी भूमिमा अलिकति सम्मानित जिवन विताउन सफल भएका छन् । बाँकि ठूलो हिस्सा त्यहाँ पनि जोखिम नै मोलिरहेका छन् । त्यो मेहेनत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना नभएकै कहाँ हो र ? देश वदल्नसक्ने क्षमता हामीसँगै छ । बाटो विगारेर हिंडेका शक्तिहरुलाई खवरदारी गर्दै स्वदेशमा सम्मानित जिवन विताउन सक्छौ । आवाश्यक परेको खण्डमा राज्यको ढोका ढकढकाउनुपर्दछ, कान फुट्नेगरि घण्टि लगाउनुपर्दछ तर भिजाको लागि लामलागेर राष्ट्रियताको कुरा नगरौं । नेपाली हामी रहन्छौ कहाँ नेपालै नरहे………………….।

तपाईको प्रतिक्रिया