भारतीय केलाको आयातले कैलालीका कृषकको उठिबास हुने चिन्ता


kela

लक्की चौधरी
धनगढी, कात्तिक ६ गते । भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसक्दा कैलालीका केराखेती कृषकहरु ठूलो मर्कामा परेका छन् । भारतबाट कम गुणस्तरका सस्तो मूल्यमा केलाहरु नेपाल भित्रेपछि स्वदेशी केलाले बजार पाउन नसकेको कृषकहरुको गुनासो छ ।

भारतसित करिब एकसय १ किलोमिटर खुला सिमाना जोडिएको कैलाली जिल्लामा भारतबाट आयातहुने केलाहरुले बजार लिएका छन् । भारतीय सरकारको सहुलियतमा उत्पादित भारतीय कृषकका केलाहरु नेपाली कृषकको केलाभन्दा निकै सस्तोमा पाउने भएपछि बजारमा स्वदेशी केलाले बजार पाउन नसकेका हुन् ।

भारतबाट आउने काँचो केलाहरु प्रति दर्जन २५ रुपियामा विक्री वितरण भएपनि कैलालीका केलाहरुको लगानी नै २८ रुपियाँ पर्नेगरेको र प्रति दर्जन ३० देखि ३५ रुपियासम्म विक्री वितरण हुन्छ । नेपाली केलाको तुलनामा प्रतिदर्जन तीन रुपियाँसम्म सस्तो भारतीय केलामा पर्ने भएपछि यहाँका केला व्यापारीहरु स्वदेशी केलाको सट्टा भारतीय केला किन्ने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग बुझ्दा उहाँले केला कृषकहरु पीडामा रहेको जानकारी रहेको र समाधानको उपायबारे पहल भइरहेको बताउनुभयो । “कैलालीमै उत्पादित केलाको बजारका लागि सरोकारवाला पक्षहरुसँग छलफल शुरुभएको छ, चाँडै त्यस विषयमा ठोस निर्णय गरेर स्वदेशी उत्पादित केलाले बजार पाउँछ” उहाँले भन्नुभयो ।

भारतमा उत्पादित केलाहरु कैलालीसहित सुदूरपश्चिमको पहाडि क्षेत्रमा समेत बजार लिएपछि यहाँ उत्पादित केलाहरु खेतमै सुक्नेगरेको कृषकहरुको आरोप छ । कैलाली र कञ्चनपुरका कृषकहरु विरोध स्वरुप केहीदिन अगाडि काचो केला सडकमा फालेका थिए । कृषकहरुले भारतीय केला आयातमा रोक लगाउनुपर्ने, कम गुणस्तरका केलाको क्वारेन्टाइन चेकजाँचमा कडाई गरिनुपर्ने माग राखेका    छन् ।

सोही मागगर्दै कैलालीका कृषकहरुले प्रमुख जिल्ला अधिकारीलाई केहीदिन अघि ज्ञापनपत्र बुझाउँदै समस्या समाधानको माग गरेका थिए । भन्सारमा बसेका क्वारेन्टाइन चेकपोष्टका कर्मचारीहरुले भारतीय व्यापारीसँगको मिलेमतोमा कम गुणस्तरका केला समेत नेपाली बजारमा ल्याउन छुट दिएको आरोप नेपाली कृषकको छ ।

केरा विकास सञ्जाल कैलालीका सल्लाहकार लक्षिराम आचार्यले भारतीय व्यापारीसँगको मिलेमतोमा भन्सारमा बसेका क्वारेन्टाइन चेकपोष्टका कर्मचारीले कम गुणस्तरका केला भित्र्याउनमा सहयोग गरिरहेको आरोप लगाउनुभयो । कैलालीमा उत्पादित केलाले बजार नपाइरहेको अवस्थामा भारतीय केलाको विगविगी बजारमा हुनुले नेपाली केलाखेतीका कृषक निराश भएको र पेशा नै त्याग्नुपर्ने अवस्था आएको उहाँको गुनासो छ ।

कृषक आचार्यले २० विघा जमिनमा केलाखेती गरिरहेको बताउँदै त्यसबाट उत्पादित केलाको पच्चिस प्रतिशत पनि बजार नपाएको बताउनुभयो । सरकारले कृषकको समस्या नसुने सबै लगानी डुब्ने उहाँको चिन्ता छ ।

सञ्जालका कैलाली संयोजक विनोद साहले भारतीय केलाखेतीका कृषकलाई भारतीय सरकारले दिने सहुलियतजस्तै नेपालमा पनि सरकारले सहुलियत प्रदान गरे भारतीय कृषकसँग आफूहरु प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो । “सरकारको एक रुपिया सहुलियत छैन, मलखाद, विउ सबै महंगो पर्छ कसरी हामी भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छौं ?” साहले जिज्ञासा गर्नुभयो ।

साहले कैलालीको टीकापुर क्षेत्रमा सय विघा जमिन ठेक्कामा लिएर केलाखेती गर्दैआएका छन् । खेतमा उत्पादिन केलाको १० प्रतिशत पनि बजार नपाएको गुनासो साहले गर्नुभयो । केलाले व्यापार नपाउँदा करोडौंको ऋण डुब्ने अवस्थामा रहेको उहाँले गुनासो गर्नुभयो । भारतीय केला पैठारीले कैलालीमा केला कृषकको उठीबास गराउने साहको चिन्ता छ ।

जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले कैलालीमा उत्पादित केलाले बजार नपाएको सत्य भएको बताउनुभयो । भारतमा उत्पादित सस्तो मूल्यका केलामा यहाँका व्यापारी लहसिएपछि स्वदेशी केलाले बजार नपाएको उहाँको भनाई छ । गुणस्तरहिन भारतीय केला आयात भइरहेको जिज्ञासामा उहाँले त्यस्तो गुनासो आफूकहाँ अहिलेसम्म नआएको बताउनुभयो ।

कैलालीमा करिब १ हजार हेक्टर जमिनमा केला खेती हुनेगरेको छ । टीकापुर, चौमाला, राजीपुर, अत्तरिया, लालपुर, भजनी लगायतको क्षेत्रमा केलाखेती हुनेगरेको जिल्ला कृषि कार्यालयको भनाई छ । कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा वार्षिक करिब २२ हजार मेट्रिकटन केला उत्पादन हुन्छ ।

भारतबाट आउने केलाको क्वारेन्टाइन चेकजाँच गर्दा गुणस्तरीयता जाँचमा कमजोरी हुनसक्ने तर कर्मचारीको मिलेमतोमा कम गुणस्तरका केला आयात गर्ने काम नभएको उहाँको भनाई छ । चेकजाँचमा सुविधा सम्पन्न मेशिन नहुँदा समस्या रहेको स्वीकार्दै अधिकृत पाण्डेले भन्नुभयो, “हाम्रो यहाँ खाद्य प्रविधियुक्त चेकजाँच गर्ने मशिन छँदैछैन, सामान्यरुपमा क्वारेन्टाइन चेकजाँचमात्र गर्छौं ।” उपभोक्ताबाट केलाको गुणस्तरीयतामा गुनासो आए त्यस विषयमा छानविन गर्ने प्रतिवद्धता पाण्डेले जनाउनुभयो ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग बुझ्दा उहाँले केला कृषकहरु पीडामा रहेको जानकारी रहेको र समाधानको उपायबारे पहल भइरहेको बताउनुभयो । “कैलालीमै उत्पादित केलाको बजारका लागि सरोकारवाला पक्षहरुसँग छलफल शुरुभएको छ, चाँडै त्यस विषयमा ठोस निर्णय गरेर स्वदेशी उत्पादित केलाले बजार पाउँछ” उहाँले भन्नुभयो ।

कैलालीमा करिब १ हजार हेक्टर जमिनमा केला खेती हुनेगरेको छ । टीकापुर, चौमाला, राजीपुर, अत्तरिया, लालपुर, भजनी लगायतको क्षेत्रमा केलाखेती हुनेगरेको जिल्ला कृषि कार्यालयको भनाई छ । कार्यालयले दिएको जानकारीअनुसार कैलालीमा वार्षिक करिब २२ हजार मेट्रिकटन केला उत्पादन हुन्छ । कैलालीमा उत्पादित केलाहरु सुदूरपश्चिमको पहाडि जिल्लासहित बाँके, सुर्खेत, दाङ र काठमाडौंसम्म विक्री हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया