
पत्रकारको हकहित संरक्षण र व्यवसायिक दक्षता अभिबृद्धि गर्नकालागि गठन भएको नेपाल पत्रकार महासंघमा अहिले निकै चहल पहल देखिएको छ । महासंघको नियमित भेला बैठकमा पनि उपस्थित नहुने, महासंघको नाम समेत सुन्न नचाहने, व्यक्तिगत मुनाफाका लागि पत्रकारिताभन्दा पनि गैर पत्रकारिताका क्रियाकलापहरुमा बढी सक्रिय भएर हिड्ने पत्रकार पनि अहिले आफुलाई सक्रिय पत्रकार र महासंघप्रति धेरै चिन्तित देखाउन खोजीरहेका छन् । यो सबै हुनुकोकारण एउटा मात्र छ । त्यो हो महासंघको अधिवेशन बर्ष ।
हो, यो महासंघको अधिवेशन वर्ष हो । महासंघले आफु मातहतका सबै शाखाहरुको अबिधेशन सम्पन्न गर्ने र त्यसपछि राष्ट्रिय अधिबेशन गर्ने बैधानिक प्राव्धानअनुसार सबै शाखाहरुको अधिवेशन मिति तोकेसंगै चहलपहल बढेको छ । सोझोरुपमा हेर्दा यो पत्रकार महासंघकै अधिवेशन हुन्छ । तर, भित्रैसम्म गएर अध्ययन गर्ने हो भने यो मिनि संसदीय निर्वाचन हो । अर्थात महासंघको आबरणमा राजनीतिक दलहरुको शक्ति परीक्षण । जिल्ला जिल्लामा राजनीतिकदलका जिल्लास्तरीय नेताहरु र केन्द्रमा केन्द्रीय नेताहरु सक्रिय भएका हुन्छन् । बलियो पोजिसन भएकाहरुका मातृपार्टीले पेलेर लैजान आदेश गर्छन् र कमजोरहरुकाले कम्प्रोमाईज गर्न आदेश गर्छन् । अनि आफुलाई स्वतन्त्र ठान्ने दलका तथा नेताका हनुमानहरु नतमस्तक आज्ञा शीरोधार्य गर्छन । अब शाखा अधिबेशनदेखि केन्द्रीय अधिवेशनसम्म यो सिलसिला चल्दैजाने छ ।
त्यसो त यो सिलसिला अगाडीबाटै सुरु भईसकेको छ । नयाँ सदस्यता प्रदान गर्नेक्रममा पत्रकारितासंग गोरु बेचेको जत्तिको पनि साईनो नभएकाहरुलाई सदस्य बनाईएको छ । फर्जि समाचार कटिङ्ग, बन्दभएका स्थानीय पत्रिकाका सम्पादक बनाएर समेत सदस्यता प्रदान गर्ने काम भएको छ । कुनै समयमा लहैलहैमा लागेर एक दुई समाचार लेखेकै भरमा महासंघको सदस्यता पाएकाहरु अहिले कहाँ छन, कुन अवस्थामा छन, के गर्दैछन भन्ने समेत कुनै खोजी नगरि ठेक्काको आधारमा सदस्यता नबिकरण गरिएको छ । बिषय कुन व्यक्तिले सदस्यता पायो वा कुन व्यक्तिले पाएन भन्ने होईन । कसैको अनुहार हेरेर कसैलाई समर्थन वा बिरोध गर्ने बिषय पनि होईन तर हामीले प्रदान गरेका नयाँ सदस्यता र नबिकरण गरेको पुराना सदस्यता सबै महासंघको बिधान अनुसार छन् त ?
प्रत्येक नागरिकले आफुलाई मनपरेको राजनीतिक दलप्रति आस्था राख्न पाउनु स्वभाबिक कुरा हुँदाहुँदै पनि फलानो राजनीतिक दलप्रति आस्था राखेका कारण ऊ पत्रकार नै होईन भन्ने घटिया मानसिकता कसरी पालिन्छ ?
नेपाल पत्रकार महासंघ दलगत राजनीति गर्ने थलो होईन । तर, यसलाई जबरजस्ती दलगत राजनीतिकरण गरिदैछ । यदि पत्रकारहरु महासंघको कुनैपनि तहमा चुनाब लड्ने हो र पत्रकार नै जित्ने हो भने नानाथरी हत्कण्डा अपनाएर सदस्यता बृद्धि गर्नुपर्ने कारण के हो । महासंघ कुनै राजनीतिकदलको भातृसंगठन जस्तो बनाउनु पर्छ भन्ने बुझाई भएका र पत्रकारको खोल ओढेका केही डेढ अक्कले मित्रहरुले राजनीति गर्ने ठाउँ अन्य छन् भन्ने बुझ्नु पर्ने हो । कुनै व्यक्ति पार्टीको उच्च पदमा बसिरहँदा समेत, पत्रकारिताबाटै सधैंकालागि पलायन भईसक्दा समेत उसलाई नयाँ सदस्यता प्रदान गर्नुपर्ने, उसको सदस्यता नबिकरण गर्नुपर्ने तर कसै व्यक्तिले कुनै राजनीतिक दललाई भोट दिएकै कारण वा कुनै राजनीतिक दलप्रति आस्था राखेकैकारण उसले महासंघको सदस्यता नपाउने हो भने कुनै राजनीति दलले आयोजना गरेको कार्यक्रममा ‘हाम्रो पार्टी उत्कृष्ट हो र फलानो पार्टी चोर हो’ भनेर भाषण गर्नेहरुलाई किन सदस्यता दिइन्छ ? मानवअधिकारको बिश्वव्यापी घोषणापत्र १९४८, नागरिक राजनीतिक अधिकार सम्वन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र—१९६६ र नेपालको संबिधान—२०७२ ले कुनैपनि व्यक्तिलाई कुनै राजनीतिक बिचारमाथि आस्था राख्न पाउने छुट दिएको छ । त्यसकारण प्रत्येक नागरिकले आफुलाई मनपरेको राजनीतिक दलप्रति आस्था राख्न पाउनु स्वभाबिक कुरा हुँदाहुँदै पनि फलानो राजनीतिक दलप्रति आस्था राखेका कारण ऊ पत्रकार नै होईन भन्ने घटिया मानसिकता कसरी पालिन्छ ?
यहाँ कुनै एक संगठनलाई मात्रै आक्षेप लगाउन खोजिएको होईन । प्रबृत्ति नै यस्तै बनेको छ । जुन जिल्लामा जुन संगठनको बाहुल्यता छ, त्यहाँ सबैले यस्तै गरेका छन् । मात्रात्मकरुपमा कतै बढी होला, कतै कम होला त्यो फरक पाटो हो । कसले के ग¥यो भन्ने बिषयभन्दा पनि प्रबृत्ति के हो र नियत के हो भन्ने बिषय महत्वपूर्ण हो । कर्मचारीहरुले राजनीति ग¥यो, शिक्षकहरुले राजनीति ग¥यो, गैससहरुले राजनीति ग¥यो, फलानाहरुले राजनीति ग¥यो भनेर समाचार बनाउने हामी पत्रकारहरुले राजनीति गरेका छौं कि छैनौं ? बैचारिकरुपले हामी कुनै दललाई समर्थन गर्ने र चुनाबमा मतदान गर्ने बिषय एउटा पाटो हो । बैचारिकरुपमा फलानो पार्टीको बिचार यो यो कारणले ठिक र फलानो पार्टीको बिचार यो यो कारणले बेठिक भनेर बिश्लेषण गर्ने बिषय पनि अर्को पाटो हो । पत्रकारिताभित्र जस्तो खालको जमात भएपनि आम पाठकबर्गले पत्रकारहरुलाई सचेत नागरिकको रुपमा हेर्छ, त्यसकारण कुनै बिचारमाथि आफ्नो दृष्टिकोण राख्ने कुरा पनि अन्यथा हुँदैन होला । तर, अमुक पार्टीले गरेका सबै काम जनपक्षीय र अमुक पार्टीले गरेका सबै काम जनबिरोधी देख्ने, कुनै पार्टीको नेताले खोकेको पनि राम्रो समाचार हुने कुनै पार्टीको नेताले राम्रै काम गरेपनि गलत समाचार बन्ने खालको फोहोरी राजनीतिक संस्कारले गाँजेको छ नेपाली पत्रकारितालाई । यो सत्य कुरा हो । अहिले त फेरि फलानो पार्टीभित्र पनि फलानो नेता वा फलानो गुटको पिछलग्गु हुनुपर्ने अबस्था सृजना भएको छ ।
राजनीति गर्नकालागि पत्रकारहरु नै आबद्धभएका राजनीतिकदलका भातृ संगठनहरु छन् । ती संगठनमै बसेर राजनीति गरे भईहाल्यो नि ! किन छुट्टै पत्रकार महासंघ चाहियो र ? यदि अहिले देखिएको यो अवस्था सधैं रहिरहने हो भने पत्रकार महासंघ भन्ने संस्थाको औचित्य छैन ।
पत्रकार निश्पक्ष हुनुपर्ने कि पत्रकारिता अब, बहस चलाईनु पर्छ । हामीले पत्रकारिता निश्पक्ष खोज्नु पर्छ । पत्रकारिता निश्पक्ष खोज्नकालागि पत्रकार महासंघलाई निश्पक्ष बनाउनु जरुरी छ । महासंघको सदस्यता पाउनकालागि व्यवसायिक पत्रकार हुनुपर्छ । फलानो पार्टीको भए सबै ठिक हुने, फेरि पनि ऊ स्वतन्त्र पत्रकार हुने । उसलाई कुनै पनि प्रकारको प्रतिबन्ध नहुने तर अलानो पार्टीप्रति सामान्य आस्थामात्र राखेपनि ऊ नेता भईहाल्ने ? यो कस्तो चस्मा हो ? के पत्रकार महासंघ कुनै अमुक राजनीतिक दलको भातृ संगठन हो ? जहाँ फरक बिचारका व्यक्तिहरुले प्रवेश गर्न पाउदैनन् ? अब यसलाई बहसको बिषय बनाईनु पर्छ ।
राजनीति गर्नकालागि पत्रकारहरु नै आबद्धभएका राजनीतिकदलका भातृ संगठनहरु छन् । ती संगठनमै बसेर राजनीति गरे भईहाल्यो नि ! किन छुट्टै पत्रकार महासंघ चाहियो र ? यदि अहिले देखिएको यो अवस्था सधैं रहिरहने हो भने पत्रकार महासंघ भन्ने संस्थाको औचित्य छैन । क्रियाशिल पत्रकारहरु सदस्यता पनि नपाउने तर पत्रकारिता भनेको के हो भन्ने पनि जानकारी नभएकाहरु सदस्यता पाउने र अनि अधिबेशनका बेलामा आफ्नो पार्टीको मान्छे जिताउनका लागि भोटमात्रै हाल्ने हुन भने किन चाहियो पत्रकार महासंघ ? यस अर्थमा पत्रकार महासंघ नै आबश्यक हो कि होईन भन्ने बिषयमा बहस केन्द्रित गर्न जरुरी छ ।
त्यसकारण यदि पत्रकार महासंघलाई पत्रकारिता क्षेत्रको निश्पक्ष संगठन बनाउने हो भने बैचारिक राजनीतिक धरातलभन्दा माथि उठ्नु जरुरी छ । शाखामा, केन्द्रमा फलानो पार्टीको वा फलानो पार्टीको भातृ संगठनको उम्मेद्वार भएर प्रस्तुत हुनुभन्दा निश्चित आबधिक कार्यदिशाअनुसार प्रस्तुत हुने बातावरण तयार गरिनु पर्छ । अर्थात, अबको तीन वर्षमा म पत्रकारहरुको व्यवसायिक सुरक्षा र सृदृढीकरणका लागि यो यो काम गर्न सक्छु भन्ने व्यक्तिलाई उसको योजनाको बैज्ञानिकताको आधारमा सहयोग गर्ने हिम्मत हामीले राख्नुपर्छ । नेतृत्वमा पुगेर म के गर्छु भन्ने कुरा आफैलाई पनि थाह हुँदैन तर ‘हाम्रो पार्टीको हो’ भन्ने आधारमा चुनाव जिताउने परिपाटी नै महासंघका लागि र सिङ्गो पत्रकारिताका लागि दुःखदायी पक्ष हो ।
नेपाल पत्रकार महासंघको साधारण सदस्यहरुको सूचीमा रहेका कतिजना व्यक्तिहरु साँच्चै पत्रकार हुन त ? कुनै पार्टीको मुखपत्रकै लागि कामगर्ने भए पनि चित्त बुझाउन सक्ने आधार कति जनाको हकमा छ ? नित्तान्त राजनीतिक गर्नका लागि वा महासंघको नेतृत्व हत्याउनकै लागि कति जनालाई सदस्यता बनाईएका छन् ? यसको हिसाव गर्नु जरुरी छ । त्यसका लागि फेरि राजनीतिक सहमतिनै गर्नुपर्ने बिडम्बना बनिसकेको छ । तिनै राजनीतिक संगठनहरुले महसुस गर्नुपर्छ कि महासंघमा हामीले जे गरेका छौं त्यो गलतै गरेका छौं । अब यसलाई सुधार गरेर लैजान जरुरी छ । यदि समयमै यस्तो सहमति हुन सकेन भने महासंघ गैर पत्रकारहरुको संगठन बन्नेछ । पत्रकारहरु सबै बाहिर हुनेछन् ।
महासंघजस्तो गरिमामय संगठनको सदस्यता पाउनु नै ठुलो कुरा हो, त्यसमा पनि पदाधिकारी हुनु त स्वर्णिम कुरा नै भैहाल्यो ।
आप्mनो पार्टीप्रति आस्था राख्ने भए त्यो सरकारी कर्मचारी भएपनि महासंघको सदस्य, त्यो नटबोल्ट कस्ने भएपनि सदस्य, त्यो कलेजको बिद्यार्थी भएपनि सदस्य, कतैको ठेकेदार भएपनि सदस्य, व्यापारी भएपनि सदस्य, एनजिओकर्मी भएपनि सदस्य । तर, फरक बिचार राख्ने हो भने ऊ व्यवसायिक पत्रकार भएपनि नेता, सुराकी, सिआईडी, गैर पत्रकार यस्ताखालका आरोप लगाउन कति उपयुक्त होला ! पद पाए सवै ठिक, पद नपाए सवै गलत भन्ने मानसिकता बोकेकाहरुले वेलैमा आप्mनो बुद्धिमा लागेको बिर्को खोल्नुपर्छ । होईन भने हामी सबैकालागि त्यो दुःख पूर्ण अवस्था हुनेछ । जब पत्रकार महासंघ पूर्णरुपमा राजनीतिक शक्ति परीक्षणको केन्द्र बन्नेछ ।
पत्रकारिता पेशालाई व्यवसायिक, मर्यादित र सञ्चारकर्मीहरुको हकहितको संरक्षण गर्ने कुरामा आफुलाई खरो प्रस्तुत गर्न नसक्नेहरु पनि अहिले फेरि पदकालागि सल्वलाउन थालेका छन् । महासंघजस्तो गरिमामय संगठनको सदस्यता पाउनु नै ठुलो कुरा हो, त्यसमा पनि पदाधिकारी हुनु त स्वर्णिम कुरा नै भैहाल्यो । स्वभाविकरुपमा पदकालागि प्रतिस्पर्धा गर्नुपर्छ र हुन्छ पनि । तर, दुःखलाग्दो कुरा के मात्र हो भने प्रतिस्पर्धा यति घृणित तरिकाले हुनथालेको छ कि त्यो व्याख्या पनि गर्न गा¥हो भइसक्यो ।



