बालुवा पेलः निकाल तेल

वीरेन्द्र रावल

एकजना बुज्रुक एवं पाका राजनीतिज्ञले समसामयिक राजनीतिका बारेमा कुरा गर्नेक्रममा भनेको कुराले मलाई स्मरण गरायो जुन कुरा भरतपुर महानगरपालिकाको स्थगित मतगणना पछि पुनः मतदानबाट शनिबार प्राप्त परिणामसँग सम्बन्धित छ । ती पाका राजनीतिज्ञले भनेका थिए कि, बाबु यो राजनीति भन्ने कुरा छलछाम, छलकपट,सामदाम, दण्ड भेदबाट मात्र गर्न सकिने व्यवसाय बनाईयो । तर राजनीति यस्तो पवित्र उद्देश्य बोकेको चिज हो जो सत्तामा जाने, जनताको सेवा गर्ने र जनसेवामा आधारित बिषय हो ।

उनले छोटो र तिखो शब्दमा भनेका थिए —समग्रमा राजनीति भनेको ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल भन्नेनै हो । ढुंगा, बालुवाबाट कदापी तेल निष्कदैन । तेल त केवल तेलहन बालीबाट निष्कन्छ । तर नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने यस्तै बनाइन थालेको   छ । नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना गर्न र विधिको कानुनी शासनको कुरा फलाँक्ने दल र तीनीहरुद्वारा सञ्चालित सरकारका गतिविधीहरुबाट नै अव यो देशको भविष्य कता जाने भन्ने कुराको ज्वलन्त उदाहरण भरतपुरलाई लिन सकिन्छ ।

न्याय नपाए गोरखा जानु भन्ने पुर्खाको अर्ति उपदेशलाई समेत चितवनको भरतपुरको १९ नम्बर वडाको पुनः मतदान र त्यसबाट प्राप्त मत परिणामलाई लिन सकिन्छ । सबैले खाए खाने राजा महेन्द्र मल्ल जो काठमाण्डौ उपत्यकामा मल्लकालमा शासन गर्दथे एकताका । गौतम बुद्ध, सीता र भृकुटी पनि बस्दथे यहि देशमा । यहि देश हो जहाँ १० बर्ष सम्म रगगतको खोलो बगेको थियो । द्वण्द्वले देश आक्र्रान्त भएको थियो ।

एक नेपालीले अर्को नेपालीको कत्लेआम भएकै थियो यहि देशमा । अनाहकमा गरिवका छोराछोरीले विनाकारण ज्यान गुमाएको देश पनि हो नेपाल । १०४ बर्षे राणा शाही र २ सय ४० बर्ष लामो शाहीकाल पनि यहि देशका जनताले भोगेकै हुन । सुनिताकाण्ड, अनिताकाण्ड लगायतका काण्डैकाण्डले भरिएको यो देशलाई फेरिपनि लोकतन्त्र, गणतन्त्र हुँदै संघीय संरचनामा जानकैलागि भएको स्थानीय निकायको निर्वाचन समेत काण्ड र कर्मकाण्डबाट अलग हुन सकेन । नेपाली जनताले खोजेको शान्ति दण्डहीनताले सजिएको नभई समुन्त, सबैको ईज्जत र सम्मान हुने र सबैका अधिकारक्षेत्रको ग्यारेन्टी हुनेखालको हुनुपर्ने हो । तर विडम्बना नेपालको राजनीतिक ईतिहासमा २००७, २०१५, २०१७, २०३६, २०४६ हुदै जनआन्दोलन ०६२÷०६३ सम्म आइपुग्दा केवल बोतल बदलिएको तर मदिरा उहि भनेझैं भएको छ, नेपालको राजनीतिक परिवर्तनको अवस्थालाई हेर्दा । नेपालमा व्यवस्था परिवर्तन भए लोकतन्त्र र गणतन्त्र भन्दापनि पर अव अरु तन्त्र जो संसारमा प्रयोग नै नभएको नयाँ प्रयोगको सम्भावना बोकेको व्यवस्था अव भेटिदैन होला नेपालमा । नेपाली जनताले पटक–पटक व्यवस्था परिवर्तनकालागि ठूलो मूल्य चुकाउनु परेको छ । जनताले समाजमा सकरात्मक परिवर्तन होस् भनेर नै हरेकपटक सरकारले आव्हान गरेका चुनावहरुमा सक्रियतापूर्वक भाग लिने गरेका छन् । जनता चुनावमा जानुको मकसद कुनै दलबिशेषलाई सत्तामा पुगाउनकालागि नभई देशमा आमूल परिवर्तन होस् भन्नका लागि नै हो ।

यसैको सन्दर्भमा १९ बर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचनमा नेपाली जनताले सक्रियतापूर्वक भागपनि लिए । मधेशबाहेक देशका अधिकांश स्थानहरुमा स्थानीय निकायको निर्वाचन पनि सफल भयो । तर भरतपुर जहाँ नेपाली काँग्रेसका सभाति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन गरेको क्षेत्र चितवनको भरतपुरमा गरेको गठबन्धनको शक्ति सापटीको फोहोरी राजनीतिले अव मूलुकको संबैधानिक अधिकार र क्षेत्रमाथिको नाङ्गो हस्तक्षेप मात्र होईन, मूलुकमा न्याय होईन सत्ता र शक्तिबाटै अन्याय हुँदो रहेछ भन्ने कुरालाई पुष्टि गरिदिएको छ ।

चितवनको भरतपुरमा गरेको गठबन्धनको शक्ति सापटीको फोहोरी राजनीतिले अव मूलुकको संबैधानिक अधिकार र क्षेत्रमाथिको नाङ्गो हस्तक्षेप मात्र होईन, मूलुकमा न्याय होईन सत्ता र शक्तिबाटै अन्याय हुँदो रहेछ भन्ने कुरालाई पुष्टि गरिदिएको छ ।

दोस्रोचरणको निर्वाचनकाक्रममा भरतपुर महानगरपालिकाको मतगणना अन्तिमचरणमा पुगेकाबेला जून बन्दरे प्रवृति माओवादी काँग्रेस गठबन्धनबाट हुनगयो त्यो कुरा नेपालको लोकतान्त्रिक व्यवस्थामा निकै ठूलो दुर्भाग्य र कलंककोरुपमा हेरिनेछ । भरतपुर महानगरपालिकाको वडानम्बर १९ र २० को मतगणना बाँकी रहेको अवस्था थियो । १९ को मतगणना भैरहेकाबेलामा दुईजना माओवादीका कार्यकर्ताले बन्दरे प्रवृति देखाउँदै मतपत्र च्यातेपछि १९ नम्बरको मतगाणना कार्य रोकियो । एमालेकातर्फबाट प्रमूख पदका उम्मेदवार देवी ज्ञावलीले नेपाली काँग्रेस र माओवादी गठबन्धनकातर्फबाट प्रमूख पदका उम्मेदवार बनेकी प्रचण्ड पुत्रि रेणु दाहालभन्दा ७ सय भोटको अन्तरमा अग्रस्थानमा रहेकाबेला हार सुनिश्चित देखिएपछि माओवादी कार्यकर्ताहरुले बन्दरे प्रवृति देखाए ।

मतपत्र च्यातिएको बिषयलाई लिएर घटनाको छानविनका लागि ३ सदस्यीय छानविन समिति पनि गठन भएको थियो । छानविन समितिको सिफारिसकाआधारमा निर्वाचन आयोगले पुनःमतदान गर्ने षडयन्त्रको जालोभन्दा बाहिर आउन सकेन । एमालेले त्यस निर्णयलाई मान्न नसकिने भन्दै सर्वोच्चमा रिट पनि गर्यो । अन्तत्वगत्वा प्राकृतिक न्यायको सिद्धान्तलाई समेत उल्टाएर साउन २० गते भरतपुर महानगरको १९ नम्बर वडामा पुन मतदानको मिति तोक्यो । यस अवधीमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस गठबन्धनले ढुंगा पेल, बालुवा पेल देऊ मेरो तेल भन्ने नीतिलाई अबलम्बन गर्दै सामदाम दण्डभेदको राजनीतिलाई व्यापक बनाउँदै लगे ।

१९ नम्बर वडा जहाँ मतपत्र च्यातिए त्यो वडामा चुनावको मिति तोकिनुपूर्व नै सत्ता र शक्तिको व्यापक दुरुयोग भयो । २१ औं शताब्दीका हामी नेपाली त्यसैमा चितवन भरतपुरका जनतालाई भेडा बाख्राको दर्जामा माओवादी शक्तिले परिणत गरायो । द्वन्द्वकाललाई चटक्कै बिर्सेछन् भरतपुरका जनताले । चितवनको माडी घटनालाई पनि चटक्कै बिर्सेछन । २० गते सम्पन्न मतदानको मतपरिणाम २१ गते शनिबार राती ९ बजेभित्र आयो कि माओवादी केन्द्रकी रेणु दाहाललाई चितवनको मुख्य निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा समेत गरे । रेणु दाहाल भरतपुर महानगरपालिकाकालागि समदामदण्डभेदबाट निर्वाचित भईन भन्नमा कुनै हिचकिचहाट रहेन । किनभने दोस्रोचरणको निर्वाचनमा प्राप्त मतको अन्तरलाई दोब्बरमा नपुगाएसम्म १९ नम्बरलाई कब्जामा नपारेसम्म चुनाब जितिदैन भन्ने लागेर नै माओवादीले बन्दरेप्रवति प्रदर्शन गर्यो । सत्ता र शक्तिको दुरुपयोग गरेको दिनको घाम झैं छर्लङग छ ।
मतपत्र च्यात्ने कारणः
जव नेकपा एमालेका उम्मेदवार देवी ज्ञावलीले ७ सयको हाराहारिमा १९ नम्बरमा अग्रता लिईरहेका थिए, त्यहिबेला उनिहरुले पराजय भोग्ने भईयो भनेर नै पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा बन्दरे प्रवृति देखाएर मतपत्र च्याते । यो पहिलो षडयन्त्र थियो ।
सर्वोच्चको फैसला 
सर्वोच्च अदालतले जसरी अवैज्ञानिक तरिकाले प्राकृतिक न्यायको सिद्धान्तलाई नै मिचेर जूनखालको फैसला गर्यो, यसले नेपालको लोकतन्त्रमाथि नै प्रहार भयो । यसले अव नेपालको राजनीतमा बन्दरे प्रवृतिलाई निष्तेज होईन प्रोत्साहन दिने पक्का छ । अव हुनेृ जूनसुकै निर्वाचनहरु किननहुन मतपत्र च्यात्ने नजिर नै बन्ने देखिन्छ ।
जनताको बिचार जलाईयो 
१९ नम्बरका जनताले प्रचण्ड गर्मिमा दिनभर लाईनमा बसेर मनपरेको उम्मेदवारलाई जसरी मत दिए त्यसको ठिक विपरित परिणाम प्राप्त भयो । भरतपुर महानगरको वडानम्बर १९ का जनताको बिचारलाई समेत जलाउने काम भएको छ । जनताले दिएको मतलाई सर्वोच्चको आदेशमा आगो लगाउने काम भएको छ । जनता यसअर्थमा दुःखी भएका छन् कि विचारमा समेत आगो लगाउने कार्य भयो भनेर ।
खुशी छैेन जनताः
शक्ति सापटी लिएर एमाले हराउनका लागि जूनखाले षडयनत्रका तानाबान बुनिए, भरतपुरमा यसबाट नेपाली जनतामा निराशा र कुण्ठा सृजना हुनु स्वभाविक हो । जनतामा कुनै उत्साह छैन । चितवनका कांग्रेसले माओवादीकी रेणु दाहाललाई जिताउनका लागि वडानम्बर १९ मा जूनखालको अवस्था सृजना गर्यो, यसले काँग्रेसजनहरुमा मात्र होईन, देशका अन्य भागमा बस्ने माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले छातिमा हात राखेर पनि भन्न सक्छन् हामीले चित्त बुझाएका छैनौ भनेर ।
सामाजिक सञ्जालमा आलोचनाः
साउन २० गते भरतपुर १९ मा पुनः मतदान गर्ने भन्ने निर्णयसंगै नेपालमा मात्र होईन विदेशमा बस्ने नेपालीहरुले आफ्ना अभिव्यक्तिहरु सामाजिक सञ्जालमार्फत दिइसकेका थिए । चितवनमा देवि ज्ञावली हराउनका लागि पुनःमतदान गर्न लागिएको हो भनेर ।
यतिमात्र होईन, साउन २१ गते राती ९ बजेपछि हरेक मानिसहरुले चितवनको मतपरिणामलाई आश्चर्य मान्दै उक्त परिणाम शक्ति, सत्ताको दुरुपयोगबाट आएको भन्दै व्यापक असन्तुष्टि र विरोधहरु हुन थालेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लोकतन्त्रमाथि नै यो गठबन्धनले प्रहार गरेको आरोप लगाए । न्याय, स्वतन्त्रता र विधीको शासनको धज्जी उडाएको उल्लेख गरेका छन् ।
अन्त्यमा
विपरित ध्रुवहरुको आकर्षणलाई विज्ञानले पनि स्वीकार्दैन । तर नेपालको राजनीतिमा कुकुर र विरालोको अवस्थामा विगत धानेका नेपाली काँग्रेस र माओवादी यी दुवै पार्टीहरु नेपालको राजनीतिबाट बाहिरीने खतरा थाहा पाएर नै अप्राकृतिक गठबन्धनको बाटो रोजेका हुन । नेपालको राजनीतिमा परम्मपरागत विरासत, नीति सिद्धान्तबाट माथिउठ्न नसकेको नेपाली काँग्रेस र नेपाली भुमिमा बन्दुकको बलमा सत्ता कब्जाको बाटोबाट अगाडी बढ्न सकिन्छ कि भनेर १० बषेर्् जनयुद्ध थालेको नेकपा माओवादी केन्द्र जो उग्रवादको पराककाष्टाबाट थलिएर जनताबाट बहिष्कृत बनेको झुण्डले देशी विदेशी प्रतिक्रियावादीहरुको आडमा नेपालको राष्ट्रवादी शक्ति एमालेलाई कमजोर बनाउनका लागि प्राविधिक रुपले गठबन्धन गरेको देखिन्छ । यो गठबन्धनलाई विदेशीको ईशारामा प्रदेश र प्रतिनीधिसभाको निर्वाचनसम्म पनि संगैलिएर जानसक्ने खतरा रहेकाले आम राष्ट्रवादी शक्तिहरु एकजुट भई अ्रजातात्रिक गठबन्धनका विरुद्धमा एक हुन जरुरी छ । राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षाकालागि सारा नेपालीले अव हुने प्रदेशसभाको निर्वाचनमार्फत राष्ट्रघातीहरुलाई बलियो झापड दिनुपर्ने बेला आइसकेको छ ।

(लेखक, नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका केन्द्रिय उपाध्यक्ष तथा हाम्रो सेती साप्ताहिक धनगढीका सम्पादक÷प्रकाशक हुन ।)

तपाईको प्रतिक्रिया