छलरामले संसद गार्डनमा छल गरेनन्

लक्की चौधरी

SAM_4060

वार्षिक आठ करोड ४९ लाख सरकारी भाडा असुल्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आकर्षण अहिले प्राङ्गणको गार्डन (बगैचा) भएको छ । व्यवस्थापिका संसदका सदस्य, राजनीतिक दलका नेता, सरकारी मन्त्री, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा दर्शकदिर्घाकालागि सम्मेलन केन्द्र पुग्ने जोकोही त्यहाँको बगैचाको आकर्षणबाट प्रभावित हुनेगर्छन् । बगैचाको आकर्षणका केन्द्र हुन् त्यहाँका गार्डनर सुपरभाइजर छलरामप्रसाद पौडेल । चीन सरकारले करिब एक अर्व लागतमा निर्माण गरिदिएको सो भवनको उद्घाटन तत्कालिन राजा वीरेन्द्रले २०५० मंसिर ३ गते गरेका थिए । चीनका तत्कालिन प्रधानमन्त्री लिफङले २०४६ मंसिर ५ मा सो भवनको सिलन्यास गरेका थिए ।
एकसय ५४ रोपनी जग्गामा फैलिएको सम्मेलन केन्द्रको करिब दुईतिहाई खाली भागमा गार्डनले भरिएको छ । सोह्रजना गार्डन सजावटमा कार्यरतरहे पनि प्रमुख गार्डन डिजाइनर तथा योजनाकार हुन् छलराम । गार्डनमा रोपिएका थरिथरिका फूल, जडिबुटीका बुटा तथा रुखहरु किनेर रोपिएका हैनन् । अधिकांश बोटविरुवा तथा फूलहरुको बुटा छलरामले आफन्तकहाँ, चिनेजानेका तथा सोही पेशागर्नेसँग मागेर ल्याउने गरेको बताउँछन् । उनलाई साथ दिन्छन् गार्डनमा कार्यरत अन्य कर्मचारीले पनि । चार पुरुष र १२ महिला गरी १६ जना कर्मचारी गार्डन्मा कार्यरत छन् । छरछिमेक तथा आफन्तको घरबाट समेत फूलका विरुवाहरु मागेर ल्याउने गरेको अनुभव सुनाउँछन् छलरामले । “सम्मेलन केन्द्रलाई आर्थिकभार नहोस् भनेर बोटविरुवा निःशुल्क खोजेर ल्याउँछौं, गार्डनमा सम्मेलनको आर्थिक लगानी न्यून छ” छलरामले भने ।

सम्मेलनकेन्द्र परिसरमै पातपतिङ्गर थुपारेर, त्यसलाई जलाएर बनेको खरानीको मल प्रयोग गर्दै आएको बताउने छलराम पौडेलले कहिलेकाहीं विरुवामा लाग्ने किरा मार्नकालागि मात्रै औषधि खरिद गरी ल्याउने गरेको बताउँछन् । “कमसेकम आर्थिकभार परोस् भनेर हामीले काम गर्छौं, सबैले गार्डनको आकर्षणबाट प्रभावित हुन्छन् तर गार्डनमा काम गर्नेकोबारेमा खासै चासो लिंदैनन्” छलरामले गुनासो सुनाए । संसदभित्र ६०१ सांसदहरु रहेपनि अधिकांशलाई गार्डन स्याहार गर्नेकोबारेमा चासो छैन, तर प्रसंशा भने सबले गर्ने गर्छन्” पौडेलको आत्मसन्तुष्टि छ ।

DSC_5474

२०५० सालमा वनस्पति उद्यानबाट ३ महिने गार्डन स्याहार सम्बन्धी तालिम लिएका पौडेल निकै मेहनती र लगनशील छन् । गतसाल गार्डन् सजावटकालागि सम्मेलन केन्द्रले टेण्डर आव्हान गरेको थियो तर कसैको टेण्डर नपरेपछि त्यसको जिम्मेवारी छलरामले नै लिनुप¥यो । विश्वको नजरमा सञ्चारमाध्यमबाट पुग्ने सम्मेलन केन्द्रको आकर्षणका निम्ति दिलोज्यान दिएर काम गर्नेगरेको छलराम सुनाउँछन् । “हाम्रो ठाउँबाट सजावटमा कुनै कमी कमजोरी हुन दिएका छैनौं, अहिलेसम्म सबैले गार्डन आकर्षक छ भन्ने गरेका छन्” उनले खुशी व्यक्त गरे । “मुलुकको प्रमुख आर्थिक केन्द्र सिंहदरवार पस्दा निराश हुने मन सम्मेलनकेन्द्र पुग्दा गार्डनको आकर्षणले मन प्रफुल्लित हुन्छ” सांसदहरुले सुनाउनेगरेको छलराम सम्झिन्छन् ।
फूल रोपेर मात्र नहुने बताउँदै छलरामले फूलबारीमा विरुवा उमार्न पनि सन्तानलाई स्याहार गरेकोजस्तो महुशस हुनेगरेको बताउँछन् । “फूल, विरुवा रोपेर मात्रै हुँदैन, त्यसको गोडमेल, उचित समयको सिंचाई, मलजले सही स्याहार हुन्छ” भन्दै पौडेल भन्छन् “सन्तान हुर्काउने र विरुवा हुर्काउने काम उस्ताउस्तै हो ।”

गार्डनभित्र के के छन् ?
जडिबुटी र फूल ः रातकी रानी, सयपत्री, डिजी, गोदावरी, बकुल्पुष्प, पारीजात, निम, भ्रींगीराज, तुलसी, करबीर, अमला, हँसिना, आंक, साइकस, इन्द्रकमल, रुद्राक्ष, बेल, श्रीखण्ड, श्वेत अशोका, राजवृक्ष, साकुरा, सिप्लीकान, तेजपात, काइँयो, कपुर, कल्की, अम्बा, काम्रो, एबोकार्डो, कोइरालो, टिकुमा आदि । गार्डन्मा अरु सिजनल फूलहरु रोप्ने गरिन्छन् । अधिकांश फूलका विरुवा आफन्तकहाँबाट मागेर ल्याइने हुनाले कतिपय फूल र विरुवाको नाम गार्डनर छलरामलाई पनि थाहा छैन ।

उसो त सम्मेलन केन्द्रले आफ्नो शाखाहरु वस्तार गर्ने तयारी गरिरहेको सम्मेलन केन्द्रका निर्देशक पुष्कर अमात्यको भनाई छ । सम्मेलन केन्द्रकालागि पोखराको नयाँ बजारमा ५० रोपनी जग्गा र गोदावरीको ललितपुरमा ३०० रोपनी जग्गा लिने तयारी सम्मेलन केन्द्रले गरेको उहाँको भनाई छ । कागजी प्रक्रिया अघि बढिसकेकाले चाँडै सो जग्गा खरिद गरिने तुलाधरले बताए । गार्डन सजावटमा संलग्न कर्मचारीहरुलाई एक महिने तालिम दिएर कामको जिम्मा दिएको पनि अमात्यले सुनाए । कर्मचारीको तलब बाहेक वार्षिक १० लाखजति गार्डनमा सम्मेलन केन्द्रले खर्च गरिरहेको भनाई उनको छ । गार्डनमा काम गर्ने तल्लो तहका कर्मचारीको तलब स्केल मासिक १३ हजार छ भने त्यसमा ८० प्रतिशत भत्ता थप सुविधा छ ।

SAM_4071

SAM_4020

व्यवस्थापिका संसदको गार्डन संरक्षक छलराम प्रसाद पौडेल

SAM_4046

तपाईको प्रतिक्रिया