मन शान्त पार्ने शान्तिवन

लक्की चौधरी

लक्की चौधरी

Shanti ban

पृष्ठभूमि
काठमाडौं उपत्यका भित्रकै एक कुनामा अवस्थित ‘शान्ति वन’मा शनिबार बाहेक अन्य दिन धेरै चहलपहल हुँदैन । मिडियाको नजरमा शान्तिवन नपर्नु नै चहलपहलको कमी हो भन्ने स्थानीयको बुझाई छ । ‘नजिकका देवता हेला’ भनेजस्तै अवस्था छ शान्ति वनको । ललितपुरको गोदावरी –७, पौंडोलको स्थानीय एक डाँडामा अवस्थित शान्तिवन काठमाडौंबाट धेरै नजिक छ । रत्नपार्कबाट जम्मा १३ किलोमिटर र ललितपुरको लगनखेल बसपार्कबाट जम्मा ९ किलोमिटर दूरीमा अवस्थित छ शान्तिवन । हरियाली र शान्त वातावरण भएको यस वन भने सञ्चारमाध्यमको नजरमा पर्न सकेको देखिदैन । स्थानीय र त्यहाँ आउने आगन्तुकको आरोप पनि त्यही छ । अस्तव्यस्त काठमाडौंमा बस्ने आन्तरिक र वाह्य पर्यटकका लागि मन बहलाउने उपयुक्त ठाउँ भने शान्तिवन हुनसक्छ । एक पटक त्यहाँ पुग्नेलाई पुनः अर्को रोजाईको गन्तव्य बन्नेगरेको अनुभव धेरैको छ ।
विश्व शान्तिको सन्देश दिने उद्देश्यस्वरुप निर्माण गरिएको शान्तिवन एकान्त र प्राकृतिक मनोरम छटाले भरिएको छ । शान्तिका प्रतीक भगवान गौतमबुद्धको ठूलो र आकर्षक मूर्ति र हरियाली वन तथा शान्त वातावरण नै त्यसको प्रमुख आकर्षणको हो । शान्तिवनमा बुद्धको २५ फिट अग्लो मूर्ति प्रतिष्ठापन गरिएको छ । अभियानस्वरुप नेपालमा तीन ठाउँ (लुम्बिनी, धुलीखेल र गोदावरी) र एक ठाउँ विदेश क्याम्बोडियामा बुद्धको मूर्ति प्रतिष्ठापन गरिएको शान्तिवन सञ्चालक समितिको भनाई छ । विश्वभर एकसय आठ मूर्ति प्रतिष्ठापन गरेर विश्वलाई शान्तिको सन्देश दिने लक्ष्य सञ्चालक समितिको छ ।

मूर्तिको प्रतिष्ठापन
शान्तिवन निर्माणका लागि जग्गा खरिद भएको करिब २६ वर्ष पुग्नलाग्यो । तर परिसरमा बुद्धको मूर्ति स्थापना गरेको भने २०५९ जेठ ११ गते हो । मूर्ति प्रतिष्ठापन गरी धार्मिक परम्पराअनुसार पूजापाठ गरेर शान्तिवनको उद्घाटन गरिएको थियो । २५ फिट अग्लो मूर्ती ढुंगा, माटो, फलाम, इटा र सिमेन्टले तयार गरिएको छ । मूर्तिका डिजाइनर हुन् मूर्तिकार लोकमान शाक्य (पाटन) । मूर्ति निर्माण गर्न करिब ६ महिना लागेको शाक्यको भनाई छ । ५० लाख रुपैयाँ खर्चेर भगवान बुद्धको मूर्ति निर्माण गरिएपछि शान्तिवनको मूल आकर्षण नै अहिले सोही मूर्ति बनेको छ । त्यसको अतिरिक्त हरिया डाँडा, प्राकृतिक बोटविरुवा र मनोरम दृश्य त्यहाँ पुग्नेको मन लोभ्याउँछ ।
सोपछि बुद्धको जन्मथलो लुम्बिनीमा २०६२ भाद्र २५ गते सोही आकारको बुद्धको मूर्ति प्रतिष्ठापन गरिएको थियो । शान्तिवनको नामले निर्माण गरिएको सो मूर्ति लुम्बिनीमा आउने पर्यटक तथा दर्शकहरुको अर्को आकर्षणको केन्द्रविन्दु बनेको शान्तिवनका सञ्चालकहरुको दावी छ । काभ्रेको धुलीखेल बजारमाथिको डाँडामा पनि शान्तिवनकै नाममा जग्गा खरिद भई बुद्धको मूर्ति प्रतिष्ठापन गरिएको छ । बजारबाट दक्षिण किनारको डाँडामा मूर्ति स्थापना भएपछि बुद्धधर्मका अनुयायी तथा स्थानीय र बाह्य पर्यटकको गन्तव्यस्थल त्यो पनि बन्नेगरेको    छ ।

Shanti ban2

शान्ति वनको अवधारणा
हत्या, हिंसा र अराजकताले गुज्रिरहेको विश्वमा नेपालबाटै विश्व शान्तिको सन्देश दिनुपर्छ भन्ने उद्देश्य राखी शान्तिवनको अवधारणा बनेको संस्थापक अध्यक्ष विजय बज्राचार्य बताउँछन् । शान्तिवनमा भगवान बुद्धको मूर्ति प्रतिष्ठापनपछि सर्वसुलभरुपमा दर्शन, ध्यान, शिविर र मानवताका आवश्यकताहरु परिपूर्ति हुने विश्वास वन सञ्चालकहरुको छ । लक्ष्यअनुसार विश्वभरी पहिलो चरणमा एकसय आठ मूर्ति प्रतिष्ठापन गर्न सकेमा विश्व शान्तिका लागि शान्तिवनको ठूलो टेवापुग्ने अनुमान सञ्चालकहरुको छ । सोही उद्देश्यअनुरुप कामहरु अगाडि बढाइएको अध्यक्ष बज्राचार्य बताउँछन् ।
संस्थापक बज्राचार्य भन्छन् “सबै धर्मालम्बीको जाने ठाउँ र लक्ष्य एउटै हुन्छ । खाली जानेबाटो मात्रै फरक हो । कोही गोरेटो, कोही पक्की सडक, पानी जहाज, कोही गाडी, हवाई जहाजबाट जान्छन् । तर पुग्ने ठाउँ एउटै हो । सबै धर्मको आ–आफ्नो बाटो हुन्छ, अन्ततः पुग्ने ठाउँ (गन्तव्य) एउटै हो ।”

शान्तिवनको आकर्षण
धुलो धुवाँ र उकुसमुकुसले दिक्दार उपत्यकाबासीका लागि शान्तिको स्वास फेर्ने र थकान मेट्ने रमणीयस्थल हो शान्तिवन । प्राकृतिक मनोरम दृश्यले भरिएको सो वनले जस्तोसुकै थकानलाई सहजै निमिट्यान्न पार्छ । फुलचोकी डाँडाको काखैमा अवस्थित शान्तिवनमा पदार्पण गर्न सडकबाट माथि एकसय ४४ वटा पक्की खुड्किला उक्लिनु पर्छ । उक्लिनेबेला स्वाँ–स्वाँ भएपनि क्षणभरमै थकान मेटिन्छ । भगवान बुद्धको दर्शनले मनका सबै अशान्तिहरु क्षणभरमै शान्त हुन्छन् । शान्तिवनको उत्तरमा विशंखु गा.वि.स., पूर्वमा काभ्रेपलान्चोक, पश्चिममा बड्खेल गा.वि.स. र दक्षिणमा मकवानपुरको बड्खेल पर्छ ।
जंगलकै किनारको साढे सात रोपनी निजी जग्गामा फैलिएको शान्तिवनमा थरीथरीका जीवजनावर पाइन्छन् । बाघ, चितुवा, मृग, हरिण, कालिज, लामपुछ«े चरा, ढुकुर, चिल, वनकुखुरा सो वनमा रहेको शान्तिवनका हेरालु बताउँछन् । त्यस्तै, सो वनमा सल्ला, बाँस, कुसुम, जामुन, निम, तितेपाती लगायतका रुख तथा जडिबुटी छन् । सो स्थानबाट फुलचोकी डाँडा, काठमाडौं, ललितपुरको दृश्यावलोकन सजिलै गर्न सकिन्छ । अन्नपूर्ण, गणेश हिमालको दृश्यावलोकनले मन लोभिन्छ । नजिकको डाँडा, छहरा, खोला, सन्तानेश्वर मन्दिर, ललितपुर उद्यान तथा गाउँघरको दृश्यले मनलाई थप आनन्दित पार्छ । चिसो हावा र चराको चिरविर आवाजले त झन थकित मनलाई शितलता प्रदान गर्छ । निशुल्क प्रवेश गर्न पाइने शान्तिवन आन्तरिक तथा बाह्य पर्यटकका लागि राम्रो गन्तव्य हो ।

Shanti ban3

कसरी पुग्ने शान्ति वन
काठमाडौंको पुरानोबसपार्कबाट छुट्ने लगनखेलका गाडीहरु नै गन्तव्यका लागि उपयुक्त साधन हुन् । ललितपुरको लगनखेलबाट छुट्ने गाडीहरु सातदोबाटो, हात्तीवन हुँदै सिधैं गोदावरी बसपार्कमा रोकिन्छन् । बसपार्कबाट पश्चिम दक्षिणको डाँडामा अवस्थित शान्तिवन पुग्न पैदल आधा घण्टाजति हिड्नुपर्छ । मोटर बाइकमा त्यहाँ जानेलाई खासै समस्या छैन । शान्तिवनको छेउमै गाडी पार्किङ्को व्यवस्था छ । सिंढी उक्लिएर एकछिनमै शितल सो वन पुग्न सकिन्छ । गोदावरी उद्यानको अवलोकन गर्नेहरुकालागि पनि शान्तिवनमा भगवान बुद्धको मूर्ति अवलोकन गर्ने अर्को उपयुक्त स्थान हो । तर शान्तिवनबारे पर्याप्त प्रचार प्रसार नहुँदा धेरै अवलोकनकर्ताको नजरबाट सो वन नजिक भएर पनि अझै टाढा रहेको अनुभूति हुन्छ ।
काठमाडौंको पुरानो बसपार्कबाट १३ किलोमिटर र लगनखेलबाट ९ किलोमिटरको दूरीमा दक्षिण दिशामा शान्तिवन रहेको छ । शान्तिबनको हेरचाह गर्ने एकजना मात्र कर्मचारी थीरमान तामाङ् छन् । एकवर्ष स्वयम्सेवकको रुपमा कामगरेका तामाङ् अर्को वर्षदेखि तीन हजार रुपियाँमा त्यहीं जागीर पाए । अहिले उनको सुविधा बढेर छ हजार रुपैयाँ छ । विहान १० देखि ५ बजेसम्म मात्र खुल्ने शान्तिवनको प्रवेशद्वार साँझ र विहान बन्द हुन्छ । आगन्तुक तथा बुद्धका अनुयायीहरु प्रायः विहान आउने गरेपनि शान्तिवनको गेट नखुल्ने भएपछि त्यहाँ जानेलाई केही सकस हुनेगरेको स्थानीयको गुनासो छ । विहानदेखि साँझसम्म शान्तिबन खुल्न थप एकजना अर्को कर्मचारीको व्यवस्था गर्नुपर्ने हेरालु तामाङ्को बुझाई छ ।

कति आउँछन् अवलोकनकर्ता
वर्षको दुई दिन मेला लाग्ने शान्तिवनमा वार्षिक हजारौं आगन्तुक आउँछन् । नयाँवर्ष वैशाख १ गते र बुद्धजयन्तीका दिन सो ठाउँमा ठूलो मेला लाग्छ । मेला लागेकोबेलामा दैनिक करिब पन्ध्रसय देखि दुई हजारले शन्तिवनको अवलोकन गर्छन् । अरुदिन दैनिक ५० सम्म र शनिबार तीनसय जतिले त्यहाँको अवलोकन गर्नेगरेको वनका संरक्षक तामाङ्को अनुभव छ । शान्तिवनमा शनिबार बाहेक अन्य दिन प्रायः युवा जोडीहरुको बढी घुइँचो हुन्छ । शान्तिवनमा भएको शितलता र मनोरम दृश्यको अवलोकन र क्यामेरामा कैद गर्न जोडीहरु व्यस्त देखिन्छन् । एकान्त वनको कुनामा बसेर दुःखसुखका कुरा गर्ने र मायाप्रेम साटासाट गर्नेकालागि उपयुक्त गन्तव्य बन्दैगएको छ शान्तिवन । भगवान बुद्धलाई साक्षी राखेर माया पिरती साटासाट गर्ने युवाहरुले शान्तिवनमा बस्दा मन शान्त हुने अनुभव सुनाउँछन् । अवलोकनकर्तामा विद्यार्थी, शिक्षक, युवायुवती, बालबच्चा, बुढाबुढीहरु पनि आउने गरेको वन संरक्षक तामाङको भनाई छ ।

अवलोकनकर्ताको सुझाव
दुई पटक शान्तिवनको अवलोकन गरें । शुरुमा २०५७ साल मूर्ति भर्खर निर्माण हुँदैथियो । त्यतिबेलाको भिजिट र अहिलेको भिजिटमा निकै फरक महुशस भयो भन्छन् शान्तिवनमा भेटिएका काठमाडौं टीकाथली निवासी कृष्णलामा घिसिङ । जंगल, डाँडा उही भएपनि भगवान बुद्धको पूर्णकद्को मूर्ति र पूर्वाधार निर्माणले फरक अनुभूति गराएको उनको अनुभव छ । आन्तरिक तथा बाह्य पर्यटकीयका लागि एकदम उपयुक्त ठाउँ हो शान्तिवन । तर पर्याप्त प्रचारप्रचार नपाएर पर्यटकको कमी छ घिसिङले भने । पूर्वाधारको थप निर्माण गर्नसके आन्तरिक तथा बाह्य पर्यटकको रोजाई शान्तिबन बन्नसक्ने उनको अनुभव छ ।
ललितपुरको लगनखेल निवास राज सिंहले नजिक भएर पनि प्रचारप्रसारको कमीले शान्तिवन ओझेलमै परेको गुनासो गरे । रमणीय तथा आकर्षक शान्ति वनको एक पटक अवलोकन गर्नेले पुनः फर्केर आउने गर्छन् सिंहको बुझाई छ । शान्तिवनमा भेटिएका सिंहले आफ्नो शान्तिवनको अवलोकन सातौं पटक भएको बताए । कामले थकित भएकाबेला थकान मेट्न साथी लिएर प्रायः म यही शान्तिवन आउनेगर्छु उनले भने, “स्वच्छ हावा र जंगलको गाढा शीतलताले मनमा अर्कै आनन्द दिन्छ ।” धुलो धुँवाले थकित् मनलाई शान्तिवनको शितलताले क्षणभरमा मेट्नेगरेको सिंहको अनुभव छ ।
लगनखेलबाटै शान्तिवनमा अवलोकनका लागि आउनुभएका सरिना सिंहले पनि बुद्ध भगवानलाई शान्तिका अग्रदूत भनेर नै सो वनको नाम शान्तिवन नामाकरण गरिएको हुनुपर्छ भनिन् । यहाँ आउनेलाई मनमा शान्ति, आनन्द र अदभूत शितलता महुशस हुन्छ भन्दै सरिनाले थपिन् “प्रकृतिको काखमा अवस्थित शान्तिवनले जोकोहीको मन सजिलै लोभ्याउँछ ।”

Shanti ban1

सुधार्नु पर्ने पक्ष
शान्तिवनको प्रमुख आकर्षण भगवान बुद्धको मूर्ति नै हो । बुद्धका अनुयायी तथा शुभेच्छुकहरु प्रायः त्यहाँ सघनरुपले आउने गर्छन् । त्यससँगै त्यहाँको मनोरम प्राकृतिक दृश्य अर्को आकर्षणको पक्ष हो । तर विहान १० बजेपछि मात्र शान्तिवनको गेट खुल्ने हुनाले विहान आउने आगन्तुकहरु गेटबाट फर्कनुपर्ने अवस्था सृजना हुनु त्यसको कमजोर पक्ष हो । स्वाँस्वाँ गर्दै माथि उक्लिने आगन्तुकका लागि खानेपानीको व्यवस्था शान्तिवन परिसरमा छैन । तलको बजारबाटै खानेपानीको बोतल लिएर जानुपर्ने बाध्यता छ । शान्तिवनको विषयमा जानकारीमूलक पर्याप्त ब्रुसर, लिखत र पम्पलेटहरु राखिएको छैन । संरक्षणकर्ता नै शान्तिवनका सूचनाका मूल स्रोत हुन् । शान्तिवन संचालकले यस विषयमा पर्याप्त ध्यान दिनुपर्छ । मूर्ति परिसरमा दान पेटिका राखिएको छ । सो पेटिकामा कति दान संकलन हुन्छन् र त्यसको उपयोगक के कहाँ गरिन्छ भन्नेबारेमा अझै सर्वसाधारणलाई जानकारी दिने गरिएको छैन । त्यसको पारदर्शीता गर्नसके दानवीरहरुको सहयोगमा थप उत्साह बढ्ने देखिन्छ ।
शान्तिवनको हेरालुकोरुपमा स्थानीय थीरमान तामाङ्लाई जिम्मेवारी दिइएको छ । विहान १० देखि ५ बजेसम्म सरकारी कार्यालय समयमा मात्र शान्तिवन खुल्छ । उनले पाउने पारिश्रमिक निकै न्यून छ । पारिश्रमिक बढे विहानैदेखि गेटखोल्न तयार देखिन्छन् हेरालु तामाङ । घरको काम सकेर अतिरिक्त समय उनले शान्तिवनलाई दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया