काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी रफ्तारमा

आयोजक संस्थाका प्रतिनिधिहरु आन्तरिक छलफलमा


A

काठमाडौं, पुस ११ गते । माघ १ गते काठमाडौंमा मनाइने थारु माघी महोत्सव २०७२ को तयारी तिब्ररुपमा भइरहेको महोत्सव मूल आयोजक समितिले बताएको छ । महोत्सवलाई सफल पार्न आयोजक प्रतिनिधिहरु तिब्र आन्तरिक छलफल र तयारीमा रहेका छन् ।

थारु कल्याणकारिणीसभाको पुरानो बानेश्वरस्थित कार्यालयमा हरेक शनिबार हुने छलफल कार्यक्रममा आयोजक प्रतिनिधिहरुले यस शनिबार पनि गम्भीर छलफल र तयारीका विषयमा आन्तरिक संवाद गरेका छन् । हरेक वर्ष सरकार प्रमुखले उद्घाटन गर्ने महोत्सवको परिपाटी रहेपनि यसवर्ष प्रमुख अतिथि कसलाई बनाउने विषयमा आन्तरिक विवाद कायमै छ ।

थारु समुदायले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छन् । यस हिसावले यो सालको महोत्सव तेह्रो महोत्सव रहेको आयोजकले बताएको छ । हरेक वर्ष टुँडीखेलमा मनाउँदै आएको महोत्सव यसवर्ष दशरथ रंगशालामा हुने भएको छ । टुँडीखेलको मैदानमा हरेकवर्ष मनाइने महोत्सव यसवर्ष मगर समुदायले थारु समुदायभन्दा अगाडि नै टुँडीखेल बुकिङ् गरेपछि थारुको महोत्सव रंगशालामा हुने भएको हो ।

SAM_6679

महोत्सवमा करिब २० लाख रुपियाँ खर्च हुने मूल आयोजक समितिका संयोजक सुमन चौधरीले जानकारी दिनुभयो । महोत्सवका लागि नेपाल सरकारले, आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, महोत्सवको स्टलको आम्दानी, टिकट शुल्क, पर्यटन बोर्ड तथा अन्य संघ संस्थाहरुको सहयोगमा महोत्सव हुँदै आएको छ ।

अन्य सालको तुलनामा यसवर्ष मधेस र तराईमा देखिएको बन्द, हडताल, भारतीय अघोषित नाकाबन्दीका कारण महोत्सवमा प्रत्यक्ष असर पर्ने बुझाई आयोजक समितिको छ । महोत्सवमा यसवर्ष प्रवेशका लागि ५० रुपियाँ कायम गरिएको आयोजक चन्द्रप्रसाद चौधरीले बताउनुभयो । अन्य सालको तुलनामा यस वर्षको महोत्सवलाई अझ भव्यताका साथ मनाउने तयारी थारु समुदायको छ ।

SAM_2426

बैठकमा कसले के भन्योः
(१) सुमन चौधरी (संयोजक, महोत्सव मूल आयोजक समिति)
महोत्सव सम्पन्न गर्न गएको सालको तुलनामा यसवर्ष बढी चुनौति छ । सरकारको तर्फबाट पाउने आर्थिक सहुलियत र सहयोगको पनि टुंगो लागिसकेको छैन । अन्य वर्ष करिब १२ लाखजति खर्च भएपनि यसवर्ष करिब २० लाख खर्च हुने अनुमान छ । सबैले पाएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्नुस् महोत्सव सम्पन्न गर्न सकिन्छ । प्रमुख अतिथिको विषयमा प्रधानमन्त्रीलाई ल्याउने कि कसलाई ल्याउने विषयमा टुंगो लगाउँ । नृत्य र सांस्कृतिक समूह कतिलाई ल्याउने हो टुंगो लगाउँ । आर्थिक सहयोग कसले कहाँ कहाँबाट ल्याउन सक्छ जिम्मेवारी लिउँ ।
(२) प्रेमीलाल चौधरी (केन्द्रीय सदस्यः थारु कल्याणकारिणीसभा)
महोत्सव गरेको तेह्रौवर्ष हुँदैछ । अहिलेसम्मको अनुभवमा टेकेर महोत्सवलाई अझ बढी प्रभावकारी बनाउनतिर लागौं । यसपाली सबै क्षेत्रमा महंगी बढेको छ । अन्य सालको तुलनामा बढी खर्च हुन्छ कि भन्ने सबैलाई लागेको छ । यस वर्षको वास्तविक कति खर्च हुन्छ ? र कति आम्दानी कहाँ कहाँबाट ल्याउन सक्छौं सो विषयमा केन्द्रित भएर छलफल गरौं । महोत्सव सफल पार्नकालागि कसेले के जिम्मेवारी लिने, तोकेर जाउँ र सबैले आफ्नो भूमिका निर्वाह गरौं ।

SAM_2428
(३) लक्की चौधरी (केन्द्रीय सदस्यः नेपाल पत्रकार महासंघ)
थारु माघी महोत्सव काठमाडौंमा मनाउनुको मूल ध्येय थारु संस्कृति र कलालाई विश्वव्यापीरुपमा प्रचार गर्ने हो । थारु समुदायको हस्तकला, सांस्कृतिक कार्यक्रम, थारु विशेष परिकार, थारुको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयलाई उजागर गर्ने उद्देश्यले महोत्सव मनाउने लक्ष्य बनाइएको हो । सोहीअनुसार महोत्सवको प्रचार प्रसारका लागि मिडियालाई कसरी मोबिलाइज गर्ने र प्रचार प्रसार कसरी गर्ने विषयमा पूर्ण तयारी गर्नुपर्छ । अहिलेको युगमा सबैचिजको महत्व व्यापक प्रचार प्रसार र सञ्चारले हुने हुनाले महोत्सवलाई उद्देश्य अनुरुप सफल पार्न मिडियासँग समन्वय गरेर अगाडि बढ्ने योजना बनाउनुपर्छ ।
टिकट शुल्कमा न्यूनतम राखेर बढीभन्दा वढी दर्शक र सहभागी ल्याउने प्रयास गर्नु उपयुक्त हुन्छ । यसवर्ष महोत्सवको स्थान परिवर्तन भएकाले पनि प्रचार प्रसारका लागि अरुभन्दा वढी मेहनत गर्नुपर्ने होला । दशरथ रंगशालाबारे धेरैलाई थाहा छैन । टुँडीखेलमा सबैलाई पायक पर्ने र सबैले देखिने ठाउँमा रहेकाले पनि सजिलो थियो । तर रंगशाला कुनामा परेकाले प्रचार प्रसारको बढी खाँचो छ । प्रचार प्रसार पर्याप्त नभए महोत्सव सफल हुन सक्दैन ।
(४) चन्द्रप्रसाद चौधरी (संयोजकः साउण्ड तथा टेन्ट व्यवस्थापन समिति)
महोत्सव सफल पार्न पहिले आर्थिक हिसाव किताव गरौं । प्रोपोजलको आधारमा टेन्टमा करिब ३ लाख खर्च लाग्ने अनुमान छ । साउण्ड सर्विसमा एकलाख ७० हजार जति खर्च लाग्ने अनुमान गरिएको छ । महोत्सवलाई सफल पार्न सबैको जिम्मेवारी आवश्यक छ । एउटै व्यक्तिलाई धेरै जिम्मेवारी दिनु हुन्न । एक व्यक्ति एक पद र जिम्मेवारी दिनुपर्छ । कामहरु पारदर्शी हुनुपर्छ ।

छलफलमा भाँडभैलोः
शनिबार १ बजेकालागि बोलाइएको बैठक दुई बज्दासमेत कार्यालयको चावी उपलब्ध नभएपछि बैठकमा सहभागी हुन आउनेहरु घण्टौ अलपत्र परे । थारु कल्याणकारिणीसभाको कार्यालयको साँचो लिएका प्रतिनिधिहरु बैठकमा उपस्थित नभएपछि बैठकमा सहभागीहरु धेरै समय अलपत्र हुनुप¥यो ।

SAM_2413

बैठकका लागि थारु कल्याणकारिणीसभाको सहकारी कार्यालयका साँचो ल्याएर केही समय बैठक बस्ने तयारी भएपनि ठाउँ अभावका कारण बैठक बस्ने मेसो मिलेन । पछि सभाका केन्द्रीय सदस्य रामलाल चौधरीले  कार्यालय सहयोगी प्रदुम्न चौधरीसँग रहेको साँचो लिएर आएपछि बैठक सुचारु भएको हो ।

बैठक शुरुभएपछि आर्थिक समितिका संयोजक पृथ्वीचन्द्र चौधरी बैठकमा उपस्थित हुन नसकेपछि बैठकमा खासै ठोस निर्णय केही हुन सकेन । कार्यालयको काम विशेषले विदेशमा रहेकाले मूल आयोजक समितिका संयोजक सुमन चौधरीले अर्थको सबै जिम्मेवारी लिन नसक्ने बताएपछि बैठक छलफलमै कायम रह्यो ।

SAM_2415

थारु विद्यार्थीहरुले जिम्मेवारी सबैलाई दिनुपर्ने र पारदर्शी तरिकाले गर्नुपर्ने आवाज उठाएपछि बैठक अनिर्णित भयो । प्रमुख अतिथिको विषयमा पनि आन्तरिक विवाद भएपछि टुंगो लाग्न सकेको छैन । यद्यपि अहिलेसम्मको परम्परा सरकार प्रमुखलाई ल्याउनुपर्छ भन्ने रहेकाले सोहीअनुसार गर्नुपर्ने सभाको बुझाई छ ।

तपाईको प्रतिक्रिया