मधुपर्क सम्मानबाट चारजना स्रष्टा सम्मानित


SAM_4763

काठमाडौं, जेठ ३० गते । गोरखापत्र संस्थानको सहप्रकाशन साहित्यिक पत्रिका मधुपर्कले चारजना वरिष्ठ साहित्यकारहरुलाई आइतबार यहाँ सम्मानित गरेको छ । साहित्यिक रचना र सृजनशीलताको माध्यमबाट नेपाली साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै गोरखापत्रले सो सम्मान प्रदान गरेको हो ।

गोरखापत्र संस्थानले वि.सं. २०५९ बाट हरेक वर्ष दुईजना वरिष्ठ साहित्यकारलाई सम्मानित गर्दैआएको छ । तर ०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण सम्मान प्रदान गर्न नसकेपछि ०७२ र ०७३ सालको सम्मान एकैसाथ चारजना साहित्यकारलाई आइतबार यहाँ प्रदान गरेको छ । राष्ट्रकवित माधव घिमिरेले साहित्यकारलाई नगदसहित सम्मानपत्रले सम्मानित गर्नुभयो ।

सम्मानित हुने साहित्यकारहरुमा ०७२ तर्फको मधुपर्क सम्मानबाट केशवप्रसाद उपाध्याय (गद्य) र द्वारिका श्रेष्ठ (पद्य) हुनुहुन्छ । त्यस्तै ०७३ तर्फ साहित्यकार शैलेन्द्र साकार (गद्य) र भुवन कोइराला ढुंगाना (पद्य) हुनुहुन्छ । उहाँहरुलाई गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले माला तथा राष्ट्र«कवि घिमिरेले नगद तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानित व्यक्तित्वको छनौटका लागि मधुपर्कले डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा सम्मान समिति २०७२ गठन गरेको थियो । त्यस्तै, वरिष्ठ कवि तुलसी दिवसको संयोजकत्वमा सम्मान समिति २०७३ गठन गरेको थियो । सोही समितिले चारजना वरिष्ठ साहित्यकारलाई सम्मानका लागि नाम छनौट गरेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रकवि माधव घिमिरेले कवि साहित्यकारहरु स्वतन्त्र भएकाले सरकारले निर्दिष्ट गरेको बाटोमा मात्र हिड्न नसक्ने बताउनुभयो । गोरखापत्रको सहप्रकाशन मधुपर्कको साहित्यिक श्रीबृद्धिमा महत्वपूर्ण भूमिका रहेकाले अस्वस्थ भएपनि मधुपर्कको कार्यक्रममा आफूले सहभागीता जनाएको बताउनुभयो ।

राष्ट्रकवि माधव घिमिरेले कवि साहित्यकारहरु स्वतन्त्र भएकाले सरकारले निर्दिष्ट गरेको बाटोमा मात्र हिड्न नसक्ने बताउनुभयो ।

समय र युग परिवर्तन भइसकेकाले नेपालको साहित्य पनि युगअनुसारको परिस्कृत हुन आवश्यक रहेको बताउँदै राष्ट्रकवि घिमिरेले छन्द विधालाई विगार्नेगरी मधुपर्कमा कविताहरु प्रकाशन गर्न नहुने सुझाव दिनुभयो । सम्मानित वरिष्ठ साहित्यकारहरुलाई राष्ट्रकवि घिमिरेले बधाई ज्ञापन गर्दै मधुपर्कको निरन्तरताको शुभकामना दिनुभयो ।

वरिष्ठ साहित्यकार तथा सम्मान समिति २०७२ का संयोजक डा. ध्रुवचन्द्र गौतमले नेपालको साहित्यिक वाङमय क्षेत्रको विकासमा मधुपर्कको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मधुपर्कको पहिलो अंकमा आफने कथा प्रकाशन भएकाले सुरुवातीकालदेखि आफ्नो नाता मधुपर्कसँग जोडिएको बताउनुभयो ।

वरिष्ठ कवि तथा सम्मान समिति २०७३ का संयोजक तुलसी दिवसले समाज परिवर्तनमा साहित्यिक सृजना र रचनाको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । मूलधारको उपयोगीतालाई साहित्य र संस्कृतिले स्थापित गरेको उहाँले चर्चा गर्नुभयो । मधुपर्क सम्मानको गरिमा कायम गरेको चर्चा गर्नुहुँदै उहाँले सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

०५९ बाट पाँचहजार राशीबाट शुरुभएको मधुपर्क सम्मान कार्यक्रमको राशी बृद्धिगरी २५ हजार एक रुपियाँ पु¥याइएको छ ।

सम्मानित व्यक्तित्व डा. केशवप्रसाद उपाध्यायले साहित्यिक सृजना र विकासमा मधुपर्कको योगदानको चर्चागर्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । अर्का सम्मानित व्यक्तित्व भुवन कोइराला ढुंगानाले मधुपर्कको सम्मान पाउनु आफ्नोलागि अहोभाग्य भएको चर्चा गर्दै गोरखापत्र संस्थानलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले मधुपर्कको साहित्यिक विकासको चर्चागर्दै छपाई र कागजको स्तरीयतामा ध्यान दिन उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा गोरखापत्रका महाप्रबन्धक सुशील कोइरालाले ०७१ को प्रतिवद्धताअनुसार मधुपर्क सम्मानको राशीमा बृद्धिगरी २५ हजार एक रुपिया बनाएको स्मरण गराउनुभयो । “सम्मान ठूलो कुरा हो, राशी होइन” भन्दै उहाँले पैसाले मुर्धन्य साहित्यकारलाई आँक्न नसक्ने बताउनुभयो । मधुपर्कको स्तरीय छपाई र कागजको गुणस्तर बृद्धिकालागि संस्थानले प्रयास गरिरहेको बताउनुभयो ।

सरकारी मातहतमा भएकैले गुणस्तर बृद्धि गर्न सकेको छैन, निजी भएको भए अहिलेको भन्दा पाँचगुणा स्तरीय छपाई गर्नसक्थें महाप्रबन्धक कोइरालाले भन्नुभयो । सबैको साथ, सहयोग र माया पाएमा आगामी दिनमा स्तरोन्नति गर्दैजाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व शैलेन्द्र साकार, द्वारिका श्रेष्ठ, संस्थानका नायव महाप्रबन्धक अञ्जली जोशी, मधुपर्कका सम्पादक कमल रिजाल, तुलसीहरि कोइराला लगायतले धारणा राख्नुभएको थियो ।  ०५९ बाट पाँचहजार राशीबाट शुरुभएको मधुपर्क सम्मान कार्यक्रमको राशी बृद्धिगरी २५ हजार एक रुपियाँ पु¥याइएको छ ।

तपाईको प्रतिक्रिया