महेन्द्रनगर, चैत १३ गते । कम्मरको बोन क्यान्सरबाट पीडित नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटी सदस्य एवं युवा संघ नेपालका जिल्ला अध्यक्ष जनक शाहीलाई उपचार गर्न खर्चको अभाव भएको छ ।
हाल भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचाररत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका निवासी ३७ वर्षीय शाहीको कम्मरमा वोन क्यान्सर भएपछि उपचार गर्न खर्चको अभाव भएको हो । उपचार गर्ने खर्च नभएपछि क्यान्सर पीडित शाहीका परिवारजन र आफन्तले सबैसंग सहयोगको अपिल गरेका छन् ।
शाहीको राजधानीस्थित ग्वार्काेमा रहेको बी एण्ड बी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा दायाँ कम्मरमा वोन क्यान्सर लागेको र उपचार गराउँदा पनि सञ्चो नभएपछि शल्यक्रिया गर्नुपर्ने भएकोले थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पताल लगिएको थियो ।
उपचारका लागि अस्पतालले सुरुमै २० लाख रुपैयाँ धरौटी राख्नुपर्ने भनेपछि शाही उपचार खर्चको अभावमा अस्पतालको बेडमा मृत्यु कुरिरहेका छन् । पैसा अभावकैकारण उनको शल्यक्रिया हुन सकिरहेको छैन् ।
अस्पतालले सुरुमै पैसा डिपोजिट गर्न भनेपछि आफूहरु निराश भएको परिवारजनले बताएका छन् । अस्पतालले मागेको रकम घरबास नै बेचेपनि नपुग्ने भन्दै पीडितका आफन्त धर्म शाहीले भने– ‘जनकको जीवन रक्षाका लागि सबैसंग सहयोगको हात फैलाउँदै हिडेका छौं ।’
युवा संघ कञ्चनपुरका वर्तमान अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य शाही मालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष पनि हुन् । उनी विभिन्न संघ संस्थामा आबद्ध रही सामाजिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।