शिशुमा एड्स सर्न नदिने कार्यक्रम सञ्चालनमा


कञ्चनपुर, कात्तिक २९ गते ।
कञ्चनपुरमा सञ्चालनमा रहेका बर्थिङ सेन्टरमा सङ्क्रमित आमाबाट जन्मिने शिशुमा एचआइभी एड्सको सङ्क्रमण हुन नदिनका लागि कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाका सबै स्वास्थ्य संस्थाको बर्थिङ सेन्टरमा कार्यरत ८० जना स्वास्थ्यकर्मीलाई यसबारे तालिम प्रदान गरी दक्ष बनाइएको छ ।

जष्खएचआइभी एड्सबाट सङ्क्रमित आमा गर्भवती भएमा नियमित चेकजाँचका क्रममा औषधि सेवन गराई शिशुलाई सुरक्षित गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक रतनबहादुर विष्टले बताए ।

 

“स्वास्थ्य संस्थामा गर्भवती चेकजाँचका क्रममा आउने आमा सङ्क्रमित भए नभएको बारे तालिम पाएका दक्ष स्वास्थ्यकर्मीले यकिन गरी महाकाली अञ्चल अस्पतालबाट औषधि उपलब्ध गराई सुरक्षित तरिकाले सुत्केरी गराउने व्यवस्था मिलाएका छौँ” – उनले बताए ।

सङ्क्रमित भएका आमाले नियमित औषधि सेवन गरे जन्मिने शिशुमा सङ्क्रमणको असर नहुने उनले बताए । औषधि सेवन गर्ने सङ्क्रमित आमाले जन्माएका ८० प्रतिशत शिशु स्वस्थ्य जन्मिने बताइएको छ ।

हालसम्म औषधि सेवन गरेका यहाँका सङ्क्रमित चारजना आमाबाट स्वस्थ्य शिशु जन्मिएको उनले बताए । उनका अनुसार कञ्चनपुरमा ३३४ जना एचआइभी एड्सबाट सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी यौनकर्मी महिलाका कारण सङ्क्रमितको सङ्ख्या बढ्दो रुपमा रहेको छ । रासस

तपाईको प्रतिक्रिया