राहतकोषमा सनोफीको सहयोग


Medicine

काठमाडौं, मंसिर ४ गते । भारतको भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले प्रधानमन्त्री दैबीप्रकोप उद्धार राहत कोषका लागि ५२ लाख ८७ हजार १ सय ४२ रुपियाँ राहत सहयोग प्रदान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सो कम्पनीको तर्फबाट प्रधानमन्त्रीलाई सो राहत वापतको चेक हस्तान्तरण गरिएको हो । यसअघि पनि सो कम्पनीले भूकम्प पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग प्रदान गरेको कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो अवसरमा भूकम्पपीडित नेपाली जनताको सहयोगका लागि कम्पनीले गरेको आर्थिक सहयोग र सहानुभूतिको प्रशंसा र धन्यवाद ज्ञापन गर्नुभयो । सीमामा नाकबन्दीका कारण औषधिजस्ता अत्यावश्यक बस्तुहरु रोकिएको र इन्धन अभावले नेपालीहरुले विभिन्नखालका समस्या व्यहोर्न बाध्य भएको जानकारी गराउनुभयो । संकटका बेला कम्पनीको सहयोग र सदभावले आफ्नो मनलाई छोएको प्रधानमन्त्रीले बताउनु भएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले हडताल, बन्द र नाकाबन्दीका कारण स्वास्थ्य संस्था र विरामी, एम्बुलेन्स, विद्यालय र विधार्थीहरु समेत गम्भीर मर्कामा परेको कम्पनीका प्रतिनिधिलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले अहिले नेपाल आफ्नो कठिन दिनको सामना गरिरहेको चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया