गुरुवा (गुर्वा) अर्थात् गुरु+बुवा= गुरुवा । थारु–नेपाली–अंग्रेजी २०५७ शब्दकोषका अनुसार ‘गुरुवा’ भन्नाले “थारु धर्ममा प्रथम प्रजापति, थारुको रक्षा गर्ने व्यक्ति, थारु धर्मशास्त्र सम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति, थारु धार्मिक सम्प्रदायका प्रणेता, विधि विधानका व्याख्याता, थारुका आदि प्रवर्तक व्यक्ति, थारु सन्त, महात्मा, महर्षी वा सिद्ध, आध्यात्मिक सिद्धि प्राप्त गरेका योगी थारु पुरुष, समाजका दुर्गुणहरु हटाउँदै सुधार्दै लैजाने थारु सुधारक, थारु आख्यान अनुसार संसारको सिर्जना कार्यलाई अगाडि बढाउने सृष्टिकर्ता ।” थारु संस्कृतिविद अशोक थारुका अनुसार थारु धार्मिक लोकसाहित्यमा नीहित रहस्यलाई राम्रोसँग पर्गेल्न सक्ने क्षमता भएको व्यक्ति नै गुरुवा हो ।
थारु समुदाय परम्परागत ज्ञान र सीपमा धनी छ । जन्मदेखि मृत्युसम्म तिनका आफ्नै सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यास छन् । गुरुवा थारु समाजको महत्वपूर्ण व्यक्ति हो । गाउँको संरक्षकको रुपमा गुरुवालाई हेरिन्छ । समाजमा गुरुवा प्रणालीले ठूलो विश्वास आर्जन गरेको छ । थारुको धर्म, संस्कृति, संस्कार र आपसी विश्वासलाई यस प्रणालीले बचाइ राखेको छ । गुरुवाको मुख्य काम धार्मिक क्रियाकलापलाई हेरचाह गर्नु हो । त्यसैले समाजमा गुरुवाको सम्मान र शक्ति हुनेगर्छ । गुरुवा प्रथा अनुभवसिद्ध आत्मिक, नैतिक, दिव्य ज्ञानको प्रयोग गर्दै विरामीको उपचार गर्ने प्रक्रिया हो । गुरुवा ईश्वरले दिएको शक्ति, आध्यात्मिक मुक्तिको चाहना र आवश्यकताबाट उत्पत्ति भएको मानिन्छ । गुरुवा प्रणालीले थारु गाउँको एकतालाई पनि कायम गरेको हुन्छ । थारु सदस्यहरु गुरुवाले भनेअनुसार सामुहिक व्यवहारमा चल्ने गर्छन् । गुरुवाकै सुझावमा सामुहिक पूजापाठ तथा धार्मिक कार्यक्रम हुनेगर्छ ।
नेपाल एकीकरण हुनुअघि थारु समाजमा गुरुवाको भूमिका प्रगन्नाको रुपमा हुनेगथ्र्यो । सरकारद्वारा प्रशासनिक भूमिका पनि उसलाई दिइएको थियो । स्थानीय तहमा कर (राजस्व) संकलनको जिम्मा पनि उसलाई थियो । अर्थात् जीविकाको त्यो उपाय पनि गुरुवासँग थियो । तराईमा महामारी, मलेरियाका कारण अरु समुदायको बसोबास थिएन । त्यसैले सरकारी प्रशासनले गाउँको अगुवाको हैसियतले गुरुवालाई नै राजस्व संकलनको जिम्मा दिन्थ्यो । अर्थात् प्रशासनले पत्याएको व्यक्ति थियो गुरुवा । तर अहिले गुरुवा गाउँघरमा सीमित भएको छ । खासगरी २००७ को आन्दोलनपछि थारु गुरुवाहरु प्रशासनिक जिम्मेवारीबाट मुक्त पारिए ।
थारु समुदायले गाउँ सञ्चालन गर्न विभिन्न प्रणालीको विकास गरेका हुन्छन् । त्यसमध्ये गुरुवा प्रणाली, बरघर प्रणाली र कुलोपानी प्रणाली छन् । आफ्नो आत्मरक्षादेखि गाउँमा महामारी फैलिएमा, गाउँका सदस्य विरामी परेमा, टाउको दुःखेमा, केटाकेटी धेरै रोएमा, महिला बाँझो भएमा, सर्प विच्छीले टोकेमा निवारणका लागि गुरुवा आफूले जानेको आध्यात्मिक ज्ञान, मन्तर र जडिबुटीको प्रयोग गर्नेगर्छ । विगतमा दूरदराज गाउँमा अस्पताल, मेडिकल थिएनन् । मान्छे विरामी पर्दा गाउँका गुरुवाले नै आफ्नो ज्ञान, सीपको सदुपयोग गरी वैद्यको भूमिका निर्वाह गर्नेगथ्र्यौ । मानिससँग उपचारको अन्य विकल्प नै थिएन । उपचार गर्न गुरुवाकै भर पर्नुपर्ने बाध्यताले नै गुरुवाप्रति स्थानीयको विश्वास बढ्दै गयो । विरामी निको भएपछि त झन गुरुवालाई दैवी शक्तिभएको व्यक्तिको रुपमा हेरियो । तर अहिले आधुनिक समाज निर्माणसँगै गाउँघरमा पनि मेडिकल तथा अस्पताल खुलेका छन् । गाउँका सदस्यमा चेतनाको विकास हुँदैगएपछि गुरुवा वैद्यको पेशा संकटमा पर्दैगएको छ । हिजोसम्म गुरुवाको माग जिल्लाभरी थियो । अहिले गाउँमा सीमित छ ।
कसरी बन्छ गुरुवा ?
खासगरी गुरुवा बन्ने उचित महिना चैत र असोज हो । यद्यपि जुनसुकै बेला पनि गुरुवा बन्न छुट रहन्छ । गुरुवा बन्नलाई पहिले व्यक्तिमा ईच्छाशक्ति चाहिन्छ । जोकोही गुरुवा बन्न सक्दैन । अर्थात् ईच्छाशक्ति राख्ने सबैले गुरुवा बन्न सक्दैनन् । गुरुवा बन्न चाहने व्यक्तिले नुहाई धुवाई गरी सफा भएर घरका देवतासँग आफू गुरुवा बन्ने चाहना राखेर पुकार गर्छ । थारुले आफ्नो देवतालाई ‘देउता’ या ‘भुत्वा’ भन्छन् । देवतालाई बोका, भेडा, सुंगुर, मुर्गा (मुर्घा) पनि बली बढाउँछन् । मुर्गा बली चढाउँदा कालो या रातो रङ्को चाहिन्छ । थारु देवताले सो दुई रङको भाले (मुर्गा)को माग गर्छन् भनिन्छ । बली चढाएमा देवता खुशी भएर गरुवा बनाइदिने विश्वास गर्छन् । तर सबैको सपना पूरा हुँदैन । गुरुवा बन्न चाहने व्यक्तिको सुची बनाएर बड्का गुरुवा (देशबन्ध्या गुरुवा) ले उनीहरु गुरुवा बन्न लायक छन् कि छैनन्, परीक्षण गर्छन् । अर्थात् उनीहरुलाई आफ्नो तन्त्रमन्त्रको सहायताले सामुहिकरुपमा गुरुवा चढाउँछन् । त्यो बेला मादल वा ढक पनि बजाइन्छ । मादलको तालमा ‘सु.. सु..’ भन्दै उफ्री उफ्री नाच्न लगाइन्छ । थारुमा यसलाई ‘अखरिया खेल्ने’ भनिन्छ । मन्त्रले काम गरेमा गुरुवा बन्ने व्यक्तिको शरीर काँप्न थाल्छ । शरीर काँपेपछि त्यसको शरीरमा देवता सवार भयो । अर्थात् ऊ गुरुवा बन्ने लायकको भयो भन्ने बड्का गुरुवाले अनुमान गर्छ । जसको शरीर काँप्दैन, जति मन्त्र र अछता छर्के पनि उसको शरीर काँपेन भने ऊ गुरुवा बन्ने लायक मानिदैन । अर्थात् उसलाई गुरुवाकोरुपमा देवताले स्वीकार गरेनन् ।
गुरुवा बन्नलाई गुरुलाई एकजोडी धोटी, अङ्गौछा, चप्पल, कट्टु, शर्त, पैन्ट, रुमाल, टोपी सहित नगद २० हजार रुपियाँसम्म खर्च गर्नुपर्छ । गुरुले बढीमा एक वर्षसम्म तन्त्रमन्त्र सिकाएपछि गुरुवा निपूर्ण हुन्छ । त्यसपछि ऊ गुरुवा भई काम गर्न थाल्छ ।
गुरुवाको रुपामा छनौटमा परेका व्यक्तिले तन्त्रमन्त्र सिक्नलाई आफूभन्दा जान्ने बुझ्ने गुरुवासँग मन्त्र सिक्नुपर्छ । अर्थात् जान्ने गुरुवालाई गुरुकोरुपमा स्वीकार गर्नुपर्छ । गुरुले चेलालाई मन्त्र सिकाउँछ । यसरी मन्त्रमा निपूर्ण हुन करिब ६ महिनादेखि एक वर्षसम्म समय लाग्नेगरेको बड्का गुरुवा रामप्रसाद चौधरी (७८) बताउनुहुन्छ । कैलालीस्थित हसुलिया –२, लक्कड गाउँका देशबन्ध्या (बड्का गुरुवा) चौधरीले यसरी मन्त्र सिकाए बापत चेलाले गुरुलाई विभिन्न उपहार दिने गर्छन् । गुरुबाट बढीभन्दा वढी तन्त्रमन्त्रको ज्ञान सिक्नलाई चेलाले गुरुलाई खुशी बनाउनु पर्छ । त्यसो नगरेमा गुरुले चेलालाई सबै विद्याको ज्ञान नदिनसक्छ, मानिन्छ । बड्का गुरुवा चौधरीले आफू धेरै अगाडि गुरुवा बनेकाले २० आना पैसामा गुरुवा बनेको बताउनुहुन्छ । तर अहिले गुरुवा बन्नलाई गुरुलाई एकजोडी धोटी, अङ्गौछा, चप्पल, कट्टु, शर्त, पैन्ट, रुमाल, टोपी सहित नगद २० हजार रुपियाँसम्म खर्च गर्नुपर्छ । गुरुले बढीमा एक वर्षसम्म तन्त्रमन्त्र सिकाएपछि गुरुवा निपूर्ण हुन्छ । त्यसपछि ऊ गुरुवा भई काम गर्न थाल्छ ।
के छ महत्व
थारु समाजमा गुरुवाको स्थान सर्वोच्च हुन्छ । गाउँको संरक्षकको भूमिकामा रहने हुनाले धार्मिक कामको सबै जिम्मा गुरुवालाई हुन्छ । थारु गुरुवाको मन्तर (मन्त्र) मा शिव, पार्वती, ब्रह्मा, विष्णु, भगवती, सरस्वती, पाँच पाण्डव, द्रौपडीको समेत प्रसङ्ग हुन्छ । त्यसैले गुरुवाको मन्त्रमा दैवीय शक्ति हुन्छ, भनिन्छ । त्यही शक्तिले गुरुवाले गाउँको संरक्षण गरेको विश्वास दिलाउँछ । गाउँका सदस्य विमार परेमा, घाउ खटिरा आएमा, टाउको पेट दुखेमा, शरीरका अन्य अङ्ग दुखेमा, हात खुट्टा भाँचिएमा गुरुवाले मन्त्र र जडीबुटीको सहयोगले उपचार गर्छ । सर्प विच्छी, अन्य किरा वा जंगली जनावरले टोकेमा त्यसको उपचार पनि मन्त्रकै सहायताले निको पार्छ । हुँदाहुँदा गर्भवती महिला बच्चा जन्माउन नसक्दा समेत गुरुवाले मन्त्रको सहायताले सुरक्षित बच्चा जन्माउने भूमिका खेल्छ । अर्थात् गुरुवाले नजान्ने कुनै मन्त्र छैन । उसले गाउँका सदस्यलाई जस्तोसुकै संकट पर्दा पनि उपचार गर्ने सामथ्र्य राख्छ । त्यसैले थारु गाउँका सदस्यलाई उपचारका लागि अस्पताल वा चिकित्सकको खासै आवश्यक पर्दैन । चिकित्सकको भूमिकामा पनि गुरुवाले नै काम गर्छ ।
थारु गाउँमा कसैको विवाह हुँदा पनि दुलहा–दुलहीको संरक्षकमा गुरुवा नै हुन्छ । जन्ती वा बरात हिड्नुअघि दुलहा–दुलहीले लगाउने कपडा, बस्ने डोलालाई गुरुवाले आफ्नो मन्त्रले बाँध्ने गर्छ । मन्त्रले चामल (अक्षता) साजेर त्यसलाई पवित्र पार्छ । ताकि बाटोमा कुनै दुश्मनको आँखा नलागोस् । त्यतिमात्र होइन, गाउँका सदस्यको जन्मदेखि मृत्यु संस्कारसम्म गुरुवाको भूमिका अग्रणी रहन्छ । त्यसैले गुरुवाको महत्व थारु गाउँमा अत्यधिक हुन्छ । गाउँका देवतालाई सञ्चालन गर्ने (चलाउने) मुख्य पात्र गुरुवा हुन्छ । देवतालाई पूजा गर्ने, विधि विधान बनाउने सबै काम उसको जिम्मा हुन्छ । महिनैपिच्छे गाउँको देवताको पूजा हुन्छ । विभिन्न बली दिएर खुशी पार्ने गरिन्छ । यसरी पूजागर्दा घरमै बनाएको रक्सी (दारु) अनिवार्य हुन्छ । अर्थात् थारु देवताले पूजामा रक्सी अनिवार्य चाख्ने गर्छन् ।
थारु देवता
थारुको देवी देवतामा गुर्वावा (महादेव), लटौ महादेव, मैया (पार्वती), सौंरा (गणेश), चतुर्वाहु (ब्रह्मा) डहरचण्डी (काली), खेख्री, मुराहा (कृष्ण), पाँच पाण्डव, द्रोपडी, लागुबासु (नाग), धमरज्वा (धर्मराज देवता), चैतिक पठ्या, भेंर्वा, रिख्या (नारद), जगन्नठ्या, चुरिन्या, दनुवा, बाघेश्वरी, पूर्वी भवानी, कोटिया, बडेल्वा, वनस्पति आदि हुन्छन् । देवताहरु माटाका घोडाकोरुपमा, फलामको त्रिशुल, काठ र माटाका थुम्काका रुपमा रहन्छन् । यी देवताहरु देवथान, मर्वा, देहुरार आदि ठाउँमा आसिन हुन्छन् ।
भ्रम कि वास्तविकता
आधनिक समाजले गुरुवाका मन्त्रलाई भ्रम वा अन्धविश्वासको रुपमा हेर्छ । परम्परागत रुपमा उपचार विधी अपनाउने गुरुवाको मन्त्रको भूमिकालाई आधुनिक औषधि र चिकित्सा विकासले ओझेल पारेको सत्य हो । समाज शिक्षित हुँदै गएपछि गुरुवाको मन्त्रको आकर्षण देखिदैन । तर गुरुवाको भूमिकामा रहेकाहरुले तन्त्रमन्त्र भ्रम नभई वास्तविकता भएको दावी गर्छन् । परापूर्वकालदेखि तन्त्रमन्त्रको शक्ति रहेको र चिकित्सा क्षेत्रको विकास नभएका बेला उपचारको एउटै विकल्प मन्त्र र जडिबुटी भएकाले अहिले त्यसलाई कमजोर आँक्न नहुने तर्क गुरुवाहरुको छ । बड्का गुरुवा रामप्रसाद चौधरीले समाज विकसित भएपछि स्वाभाविक रुपले गुरुवाको भूमिका कमजोर देखिए पनि मन्त्रको भूमिका कमजोर नभएको दावी गर्नुहुन्छ । “गुरुवाको मन्त्र त्यही हो, शक्ति पनि यथावत नै छ, पहिलेको तुलनामा बुझाईमा कमी आएको सही हो” चौधरी भन्नुहुन्छ ।
उसो त विषालु सर्पले डसेमा गुरुवाले मन्त्रको प्रयोग गरी घाउ भएको ठाउँमा चुसेर विष निकाल्छ । त्यसरी गाउँका कैयौं सदस्यलाई ठीक गरेको उदाहरण पनि छ । कोबरा, करेटजस्ता विषालु सर्पले टोकेमा पनि गाउँमा उपचार गर्ने गुरुवाले नै हो । कैलालीमा करिब दुईसय गुरुवा बर्षा याममा ‘सर्प डंस’को विमारी उपचार गर्न सक्रिय हुनेगरेको चौधरी बताउनुहुन्छ । यसवर्ष मात्रै करिब दुईसय जनाको सफल उपचार गरिएको चौधरीको भनाई छ । त्यतिमात्र होइन, दशैंमा अखारी खेल्दा मरेको कुखुरालाई गुरुवाले जिउँदो बनाउँछ । कुखुराको घाँटी निमोठेर पहिले मार्छन् । घण्टौं लगाएर गुरुवाले उफ्री उफ्री मादलको तालमा नाच्ने र कुखुरालाई जिउँदो गराएर मन्त्रको परीक्षण गर्छ । यसो गर्नुमा मन्त्रको शक्ति जीवित छ कि छैन परीक्षण गर्ने गरिन्छ । “मरेको कुखुरा आफै उठेर दौडेर भागेमा मन्त्रको शक्ति छ, उठेन भने मन्त्र कमजोर भयो” आँकलन गुरुवाहरुले गर्छन् । हरेक दशैंमा अखारी खेल्ने काम हुन्छ । यसो गर्दा धर्ती जागा हुने र अन्नबाली सप्रिने तथा उत्पादन बढ्ने विश्वास धनगढी– ४, उत्तरबेहडीका गुरुवा दलबहादुर चौधरीको छ । गुरुवा चौधरीले मरेको कुखुरा जगाउन त सकिदैन, तर अर्धचेत भएको कुखुरा भने जागा हुनसक्ने बताउनुहुन्छ । तर केही गुरुवाले नजरबन्दी मन्त्रले त्यस्तो काम गर्नेगरेको उहाँको भनाई छ ।
लैङ्गिक विभेद
थारु गाउँमा पुरुष–महिलाको स्थान बराबर मानिन्छ । अझ रानाथारु समुदाय महिलाप्रधान हुन्छ । थारु समुदायले महिला–पुरुषबीच कुनै विभेद गर्दैनन् । घरका अन्य कारोबार व्यवहारमा पनि महिला–पुरुषको समान हैसियत हुन्छ । तर गुरुवा बन्ने प्रक्रियामा भने पुरुष हाबी हुन्छन् । समाजले गुरुवाको रुपमा पुरुषलाई मात्र स्वीकार्छ । गाउँघरमा कोही दुःख, विमार परेमा राती पनि उठेर उपचारमा लाग्नुपर्छ । गाउँघरमा विजुली बत्ती हुँदैन । अँध्यारो, गर्मी–जाडो जुनसुकै बेला पनि उपचारमा हिड्नुपर्छ । यस्तोबेला महिलाले सक्दैनन् । अँध्यारोमा एक्लै हिड्दा बलात्कारको शिकार हुनसक्ने देखेर प्रायः महिलालाई गुरुवा बनाइँदैन । समाजले महिलालाई गुरुवाको रुपमा स्वीकारेको देखिदैन । तर मन्त्रको ज्ञान भने महिलाले राख्न सक्छन् । ज्ञानसम्म राख्छन् तर उपचार वा सेवामा उनीहरुको भूमिका गौण रहन्छ । सुडेनी र वैद्यको भूमिकामा भने महिलाले काम गर्छन् । पुरुषले मन्त्र सिकेमा गुरुवा हुने तर महिलाले सिकेमा ‘बोक्सी’ को आरोप खेप्छ । यद्यपि गुरुवा बन्नेक्रममा चाहिने सबै सामग्रीको जोहो महिलाले नै गर्छन् ।
रुपान्तरण आवश्यक
थारु गाउँमा पूजापाठ गर्दा या चाडपर्वमा जाँडरक्सीको प्रयोग अधिक हुन्छ । देवताले पनि रक्सी स्वीकार गर्छन् भनेर गुरुवाले हरेक पूजामा देवतालाई रक्सी चढाउँछन् । खेतबारीमा उब्जेको फसल देवतालाई चढाएर मात्र घरका सदस्यले ग्रहण गर्छन् । त्यसैगरी नयाँ अन्नबाट बनाइएको रक्सीको पहिलो बुँद देवतालाई चढाएर (चखाएर) मात्र घरका सदस्यले आफू खान्छन् । देवताले पनि रक्सी स्वीकार्ने विषयलाई भ्रमकोरुपमा हेर्ने गरिएको छ । गुरुवा आफै रक्सी खानलाई देवतालाई चढाउने गरेको युवापींढीको बुझाई छ । थारु गाउँमा देवथान (मर्वा) भन्ने गाउँघरका देवता बस्ने साझा स्थान बनाइएको हुन्छ । जहाँ वार्षिक ठूला पूजा लगाइन्छ । पूजामा बड्का गुरुवा (देशबन्ध्या गुरुवा), केसौका (सानो गुरुवा), र अन्य फुटकर गुरुवा सक्रिय रहन्छन् । तर अहिलेका युवाहरु गुरुवाको तन्त्रमन्त्रमा धेरै विश्वास गर्दैनन् । अर्थात् गुरुवाले मन्त्रको पुस्तान्तरण गर्न नसक्दा साख जोगाउन हम्मे छ । समय धेरै बदलिसकेको छ । देवतालाई जाँड रक्सीले पूजा गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । त्यसको ठाउँमा मिठाई, ल्वाङ, धुप, फूलले पूजा गर्ने परिपाटीको विकास गरिनुपर्छ । केही गाउँमा त्यसको अनुशरण गरेको पनि देखिन्छ । त्यसो गर्दा देवतालाई बली चढाउने प्रबृत्तिको पनि अन्त्य हुन्छ ।
त्यस्तै, गुरुवा प्रथाले थारु गाउँमा गहिंरो विश्वास जडा गाडेर बसेको छ । चिकित्साको विकास जति भएपनि त्यसबाट थारुको विश्वास यतिचाँडो हटिहाल्ने देखिदैन । युवाहरुले मन्त्रज्ञान नराख्ने हो भने गुरुवा प्रथाको अन्त्य हुनसक्छ । तर गुरुवा प्रणाली थारुको पहिचानसँग जोडिएकाले यसलाई चटक्कै छाड्न समाज तयार देखिदैन । वरु पूजा गर्ने शैलीमा परिवर्तनको खाँचो छ । त्यस्तै, पुरुषले मात्र गुरुवा सिक्ने र समाजमा उनीहरुको मात्र अधिपत्य रहनु लैङ्किरुपले अनुचित छ । महिलाले पनि समाजसेवामा भूमिका निर्वाह गर्न सक्छन् भन्ने हेतुले मन्त्र ज्ञानमा महिलाको स्थान सुरक्षित गरिनु पर्छ । महिलाले मन्त्र सिकेमा ‘बोक्सी’े आरोपको अन्त्य गरिनुपर्छ । पुरुष गुरुवाजस्तै तन्त्रमन्त्रमा महिलाको स्वतन्त्रता कायम गरिनु पर्छ ।
धनगढी ५, कैलाली
तस्विर सहयोगः अविनाश चौधरी, लखन चौधरी र लेखक स्वयम्