विश्वमा शान्ति कायम गर्ने अभियानमा पत्रकारको साझा प्रतिवद्धता


हमार पहुरा डट कम
काठमाडौं, माघ १६ गते । विश्वमा शान्ति कायम गर्ने उद्देश्यसाथ स्थापित एचडब्लुपीएल संस्थामा आवद्ध पत्रकारले सञ्चार माध्यमको सहयोगमा विश्वमा शान्ति कायम गर्न सकिने र त्यसकालागि भूमिका खेल्ने सामुहिक प्रतिवद्धता जनाउनुभएको छ । सो संस्थाले शनिबार आफ्नो पब्लीसिटी एम्बासडर्स नियुक्त गर्ने अभियानका क्रममा पत्रकारले सो प्रतिवद्धता जनाउनुभएको हो । सो अवसरमा नेपालबाट दुई जना पत्रकार संस्थाको पब्लिसिटी एम्बासडर्स नियुक्त हुनुभएको छ ।

भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा एचडब्लुपीएलले एसियाका विभिन्न देशहरुबाट पब्लिसिटी एम्बासडर नियुक्त गरेको छ । सो अवसरमा नेपालकाबाट अर्थन्यूज टेलिभिजनमा कार्यरत पत्रकार रञ्जन झा, गोरखापत्र दैनिकमा कार्यरत पत्रकार लक्की चौधरी  एचडब्लुपीएलको नयाँ पब्लिसिटी एम्बासडर नियुक्त हुनुभएको हो ।

पब्लिसिटी एम्बासडरहरुले विश्वमा शान्तिको सन्देश प्रवाह हुने सकरात्मक र सुखद समाचारहरु आफ्नो सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित गर्ने प्रतिवद्धता जनाएका छन् । शान्तिका क्षेत्रमा राजनीतिक, शैक्षिक वा सामाजिक नीति निर्माण गर्न सम्बन्धित देशका सरकारलाई घच्घच्याउने काम पनि पब्लिसिटी एम्बासडरहरुले गर्ने सो संस्थाका पदाधिकारीहरुको विश्वास छ ।

एचडब्लुपीएलका विभाग प्रमुख एलिस किमले शान्ति स्थापनाको अभियान सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । एचडब्लुपीएलका केन्द्रीय अध्यक्ष मान ही लीको भावनाअनुरुप विश्वका ७० भन्दा बढी देशहरुमा पब्लिसिटी एम्बासडर क्रियाशील रहेको जानकारी दिनुभयो ।

साइनिङ सेरोमेनीमा धारणा राख्ने विभिन्न देशका वक्ताहरुले शान्तिका लागि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । विश्वमा शान्ति भएमा मात्र सही विकास र नागरिकको अधिकार सुनिश्चित हुने विश्वास गर्नुभयो । पत्रकारको सामुहिक प्रयासले शान्तिबारे सर्वसाधारणमा चेतना अभिबृद्धि हुने र शान्ति कायम गर्न सकिने विश्वास धेरैको छ ।

नेपालसहित विश्वका १३० बढी देशहरुमा क्रियाशील एचडब्लुपीएलले विद्यालय तहबाटै शान्ति शिक्षाको पठनपाठनका लागि विभिन्न देशका सरकारसँग समन्वय, सहकार्यका लागि सहमति सम्झौता समेत गर्दैआएको छ । सो संस्थाले मिडिया सँगसँगै युवासहित अन्य क्षेत्रमा पनि शान्तिको सन्देश फैलाउन सक्रिय रहँदैआएको छ ।

कार्यक्रममा नव नियुक्त पब्लिसिटी एम्बासडरहरुले संस्थाको नियम र योजनाअनुसार विश्वभर शान्ति फैलाउन भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो । आफू आवद्ध सञ्चार माध्यममार्फत सक्रिय रहने बताउनुभयो । कार्यक्रममा नेपालका पब्लिसिटी एम्बासडर एवम् पत्रकार दीपेन्द्र दोङ तामाङ र पियारत्न महर्जन लगायतले स्वागत सन्देश व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्य पत्रकारमा हेन्ड्री नुर्सल, राना सेतिवन, स्टिभ पालिमा, सोनी टाजृुरे, गिना मापे, मेरी बाल्गौरसहितका पत्रकार पब्विसिटी एम्बासडर नियुक्त हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया