एमालेको कार्यक्रममा नेताहरुबाटै नेतृत्वको कडा अलोचना

कुराभन्दा काम गरेर देखाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह


SAM_2933

काठमाडौं, माघ १९ गते । नेकपा (एमाले) का वरिष्ठ नेताहरुले पार्टी नेतृत्वको कामगर्ने शैली व्यक्तिवादी चरित्रको भएको भन्दै कडा अलोचना गर्नुभएको छ । सरकारले कामभन्दा कुरा बढी गरेको भन्दै पार्टी अध्यक्ष नेतृत्वको सरकारको समेत उहाँहरुले आलोचना गर्नुभयो ।

मदन भण्डारी अध्ययन केन्द्रद्वारा मंगलबार यहाँ आयोजित संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण विषयक राष्ट्रिय विमर्स कार्यक्रममा बोल्दै नेताहरुले त्यस्तो आलोचना गर्नुभयो । “पार्टीको महाधिवेशन सम्पन्न भएको डेढवर्ष पूराभयो, कार्यकर्ताले जिम्मेवारी पाएनन्, सरकार गठन भएको चार महिना भयो, नागरिकले राहत पाएनन्” नेताहरुको आरोप थियो ।

नवौं महाधिवेशनले पारित गरेको एजेण्डाहरु कार्यान्वयन नभएको र सरकारले कुनै कामको शुरुवात गर्दा पार्टीभित्र आन्तरिक छलफल बिनै गरिरहेको भन्दै नेताहरुले आरोप लगाउनुभयो । “कम्युनिष्ट पार्टी सिद्धान्ततः सामुहिकतामा चल्ने हुनुपर्छ न कि व्यक्तिवादी चरित्रको आधारमा” भन्नुहुँदै नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकल निर्णयले कामगर्दा पार्टी र सरकार दुवै अप्ठेरोमा परिरहेको टिप्प्पणी गर्नुभयो ।

कसले के भन्यो ?

१) झलनाथ खनालः

Khanal
वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी नेतृत्वको कामगर्ने एकल शैलीकाकारण पार्टी समस्यामा पर्दैगएको बताउनुभयो । “कम्युनिष्ट पार्टीमा व्यक्ति हाबी हुनुहुँदैन, सामुहिक नेतृत्वले पार्टी चल्नुपर्छ” नेता खनालले भन्नुभयो “गुटबन्दी त झन कम्युनिष्टमा सहनै नसक्ने महारोग हो, यसले पार्टीलाई समाप्त गर्छ ।”

“पार्टीमा झाङ्गिएको गुटकैकारण संविधानसभाको दोस्रो निर्वाचनमा पार्टी धेरै ठाउँमा पराजित हुनुप¥यो” पूर्व प्रधानमन्त्री खनालले भन्नुभयो, “अहिलेको अवस्था हेर्दा एमाले पार्टी गुटैगुटमा बाँडिने सम्भावना छ, पार्टीलाई बचाउने हो भने यसको अन्त्य गर्नुपर्छ ।”

अर्को प्रसंगमा कुरागर्दै खनालले नयाँ संविधान विशेषतै विशेषताले भरिएको भएपनि मधेसमा भ्रमको कुहिरो चलाइएको आरोप लगाउनु  भयो । नयाँ संविधान लोकतान्त्रिक, देशभक्तिपूर्ण, प्रगतिशील र ऐतिहासिक चरित्रले भरिएको उहाँले दावी गर्नुभयो । संविधानको कार्यान्वयनको चुनौति भने उहाँले औल्याउनुभयो ।

२) माधवकुमार नेपालः

Madhav
अर्का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी महाधिवेशन भएको डेढवर्ष भैसक्दासमेत कार्यकर्ताहरुले जिम्मेवारी नपाउँदा बेकामे भएको बताउनुभयो । पार्टीको केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै पार्टी अध्यक्षको आलोचना गर्दै उहाँले भन्नुभयो, “पार्टीमा गुटबन्दी हाबी छ, राम्रो काम गर्दासमेत आलोचना हुन्छ, खुट्टा तान्ने प्रयास गरिन्छ ।” राम्रो काम गर्नेलाई राम्रो र सम्मान गर्ने परिपाटीको विकास हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

“पार्टीको नेतृत्वमा सरकार छ तर आन्तरिक छलफल गर्ने परिपाटी छैन” नेता नेपालले भन्नुभयो, “विषयवस्तुको अध्ययन नै नगरी बोल्ने हतारोले सरकार आलोचित भइरहेको छ, यस्तो प्रबृत्तिको अन्त्य हुनुपर्छ ।” कुराभन्दा काम गर्न सुझाव दिनुहुँदै नेता नेपालले भन्नुभयो, “एक वर्षमै लोडसेडिङ् अन्त्य गर्ने कुरा, हावाबाट विजुली निकाल्ने कुरा र घर–घरमा ग्यासको पाइप पु¥याउने कुरा परिस्थितिजन्य भएन ।”

अर्को प्रसंगमा बोल्दै नेता नेपालले सिमाङ्कनबाहेक मधेसी मोर्चाको करिब अधिकांश मागहरु जायज भएको बताउनुभयो । तराई मधेस नेपालको अभिन्न अङ्ग हो, मधेस राष्ट्रको छुट्टै माग गर्नु मोर्चाको अशोभनीय माग हो उहाँले भन्नुभयो । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानलाई पनि उहाँले ‘जनतामा भ्रम पैदा गर्ने नयाँ नाटक मात्र हो’ भन्नुभयो ।

३) अष्टलक्ष्मी शाक्यः

Asta
उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको बैठक, गतिविधि तथा जिम्मेवारी बाँडफाँटको विषय विधानमै सीमित भएको भन्दै नेतृत्वको आलोचना गर्नुभयो । “हाम्रो पार्टी कम्युनिष्ट हो तर कामगर्ने शैली सामन्तवादी चरित्रको भयो” शाक्यले आरोप लगाउनुभयो । नयाँ संविधान समावेशीताको हिसावले उत्कृष्ट भएकाले यसको कार्यान्वयनमा जोड दिन सबैमा आग्रह गर्नुभयो ।

४) घनश्याम भुषालः

Bhusal

उपमहासचिव घनश्याम भुषालले नयाँ संविधान सबै हिसावले उत्कृष्ट र समावेशी चरित्रको भएकाले त्यसको कार्यान्वयनमा प्रमुख चुनौति रहेको बताउनुभयो । “यो संविधानलाई भारत र देशभित्रकै दलाल पूँजीपतिवर्गले कार्यान्वयन हुन दिंदैनन्” नेता भुषालले भन्नुभयो, “अबको तीन वर्षमा यो संविधान कार्यान्वयन नभएरै खारेज हुनेछ ।”

नेताले नीति नचिन्ने र नीतिले नेता नचिन्ने समस्याले देश भद्रगोलमा फँसेको छ भन्दै उपमहासचिव भुषालले “पैसाको बलमा मन्त्री, सांसद र अन्य ठूलो पद किन्ने प्रबृत्तिले देश र पार्टी दुवैलाई समाप्त गर्छ” भन्नुभयो । भयङ्कर मेहनतले पार्टीमा गुट सृजित भएको बंग्य गर्नुहुँदै नेता भुषालले गुटबन्दी अन्त्य नगर्दासम्म पार्टीले नयाँ जीवन नपाउने दावी गर्नुभयो ।

५) योगेश भट्टराई

Yogesh
सचिव योगेश भट्टराईले पार्टी नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाउँदै सामूहिक प्रणालीलाई जोड दिन आग्रह गर्नुभयो । “एकजनाको निर्णय, सोंच र प्रबृत्तिले पार्टी सुचारु हुन सक्दैन, पार्टीको पुनर्गठन, रुपान्तरण गर्ने जिम्मेवारी हामीसामु आइपुगेको छ” उहाँले भन्नुभयो । समाजको प्रतिविम्बअनुसार पार्टीलाई रुपान्तरण गर्नसकेमात्र पार्टीले फड्को मार्नसक्ने उहाँले तर्क गर्नुभयो ।

“हाम्रो पार्टी अध्यक्षात्मक प्रणालीको पार्टी हैन, कतिपयलाई त्यस्तो भ्रम छ” भन्नुहुँदै सचिव भट्टराईले पार्टी अध्यक्षलाई सामुहिक प्रणालीमा चल्न आग्रह गर्नुभयो । पार्टीलाई चुस्त र प्रभावकारी बनाउन सकेमात्र मुलुकलाई सबल बनाउन सकिन्छ उहाँले भन्नुभयो ।

६) सुरेन्द्र पाण्डेः

Surendra

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय निकायको निर्वाचन गर्नसकेमात्र सही अर्थमा संविधान कार्यान्वयन भएको मानिने तर्क गर्नुभयो । पार्टीको ठूलो पङ्क्ति काम नपाएर बेकामे भएको भन्दै उहाँले पार्टीको बैठक र जिम्मेवारी बाँडफाँटमा ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

७) लालबाबु पण्डितः

Pandit
पूर्वमन्त्री लालबाबू पण्डितले पार्टीले उल्टो बाटो पकडेकाले देशको अवन्नति शुरुभएको बताउनुभयो । पैसा हुनेले सबैथोक पाउने, नहुनेले हेरेर बस्नुपर्ने प्रवृत्तिले मुलुक कहीं पुग्न सक्दैन भन्दै नेता पण्डितले प्रश्न गर्नुभयो, “उखान टुक्काले देश चल्ने भए मानिस किन मेहनत गर्थे ? सबै उखान टुक्कामा लाग्यौं भने देश कसले बनाउँछ ?” मधेसी नेताहरु दिल्ली, पटना र विहारको शरणमा परेकाले उहाँहरुबाट देश नचल्ने बताउँदै देश र जनताकालागि मधेसभन्दा माथि उठ्न उहाँले मधेसी नेताहरुलाई आग्रह गर्नुभयो ।

८) रामकुमारी झाँक्रीः

Jhakri
केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले वर्तमान सरकार सपनाको व्यापार गरिररहेको आरोप लगाउनुभयो । “पार्टीका अध्यक्षले धमाधम नयाँ नयाँ योजनाहरु सरकारप्रमुखको नाताले घोषणा गर्नुहुन्छ, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यलाई मिडियाको समाचार हेरेर थाहा हुन्छ” टिप्पणी गर्दै झाँक्रीले भन्नुभयो, “सपना त बेहोसीमै देखिने चिज हो, त्यसलाई रेकर्ड गर्न सकिदैन, त्यस्तो सपना नबाँड्नुस् ।”

SAM_2884

अध्ययन केन्द्रका अध्यक्ष भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा पोलिटव्यूरो सदस्य वेदुराम भुषाल, केन्द्रीय सदस्य ठाकुर गैरे, बैजनाथ चौधरी, गरिमा शाह लगायतको सहभागिता थियो । बहस कार्यक्रमलाई देशव्यापी बनाउन नेताहरुले केन्द्रलाई सुझाव दिनुभएको   छ । नेता नेपाल गुटकोजस्तो देखिने कार्यक्रममा गुटबन्दीको चर्को आलोचना भएको थियो ।

प्रस्तुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया