प्रधानमन्त्रीको भारत भ्रमणले चिसिएको सम्बन्ध सुध्रिन्छ त?


PM
काठमाडौं, फागुन ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको यही फागुन ७ गतेबाट हुने आसन्न भारत भ्रमणमा भारतसँग चिसिएको सम्बन्धलाई सुधार गर्नु नै पहिलो एजेण्डा बन्नुपर्ने पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रविदहरुको सुझाव रहेको छ ।

“आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धभन्दा पनि राजनीतिकतवरले भारतसँग सम्बन्ध सुधार गरिनुपर्ने र नयाँ सहमति सम्झौता गर्नुभन्दा यसअघि भएका सहमति सम्झौताको कार्यान्वयनको वातावरण निर्माण गर्नु नै प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्नुपर्छ” परराष्ट्रमन्त्रीहरुको सुझाव छ । नेपालप्रति भारतको दृष्टिकोण र भारतप्रति नेपालको हेर्ने दृष्टिकोणबारेमा दुवै मुलुकबीच स्पष्ट हुने वातावरण निर्माण भ्रमणले गर्नुर्ने सुझाव उहाँहरुको छ ।

भारतसँगको सम्बन्ध र दुवै देशबीचको एकअर्कालाई हेर्ने दृष्टिकोणमा प्रष्टता ल्याउने विषयमा भ्रमणमा ध्यान दिइनुपर्छ

पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीको भारत भ्रमण नितान्त राजनीतिक भएकाले आर्थिक एजेण्डामा प्रवेश नगर्दा नै उपयुक्त हुने सुझाव दिनुहुन्छ । भारतसँगको सम्बन्ध र दुवै देशबीचको एकअर्कालाई हेर्ने दृष्टिकोणमा प्रष्टता ल्याउने विषयमा भ्रमणमा ध्यान दिइनुपर्छ उहाँले भन्नुभयो । “यसअघि भारतले नेपाललाई सहयोग गरेको एक अर्व डलर सहयोग नेपाल सरकारले हालसम्म खर्च गर्न सकेको छैन, फेरि आर्थिक सहयोग माग्न नैतिकताले मिल्दैन” उहाँले भन्नुभयो ।

पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतसँगको सम्बन्ध सुधार गर्नु नै प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रीत हुनुपर्ने सुझाव दिनुभयो । “भारतसँगको हाम्रो सम्बन्ध परापूर्वकालदेखिको छ, तर केही समयदेखि दुवैबीचको सम्बन्ध चिसिएको छ यो भ्रमणको पहिलो काम सम्बन्ध सुधारमा हुनुपर्छ” कोइरालाले भन्नुभयो । “सम्बन्धविना शान्ति स्थापना हुँदैन, शान्ति स्थापना विना लगानी आउँदैन, लगानी विना विकास निर्माण हुँदैन प्रधानमन्त्रीले यतातिर ध्यान दिनुपर्छ” उहाँको सुझाव छ ।

पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रविद भेषबहादुर थापाले भारतसँगको सम्बन्धसुधारसँगै सञ्चार, यातायात तथा लगानी अभिबृद्धि गराउनमा भ्रमणले भूमिका खेल्नुपर्ने बताउनुभयो । “भारतसँगको गहिरो मित्रतासँगै जटिलता पनि त्यतिकै छ, पछिल्लो पटक नेपाली जनताले पाएको दुःख र पीडालाई पुनः त्यसो हुन नदिनप्रति भ्रमणमा ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो ।

“भारतसँगको गहिरो मित्रतासँगै जटिलता पनि त्यतिकै छ, पछिल्लो पटक नेपाली जनताले पाएको दुःख र पीडालाई पुनः त्यसो हुन नदिनप्रति भ्रमणमा ध्यान दिनुपर्छ”

नेपालको राजनीतिक, आर्थिक विषयमा बाह्य चासो बढिरहेकाले अनावश्यकरुपमा त्यस्तो चासो बढ्न नदिनेप्रति प्रधानमन्त्री ओली चनाखो हुनुपर्छ भन्नुहुँदै उहाँले त्यस विषयमा उहाँ जानकार भएको बताउनुभयो । दुई देशबीचको आपसी समझदारी बनाएर लगानीकर्ता बढाउनेतर्फ पनि भ्रमणले ध्यान दिनुपर्छ उहाँले भन्नुभयो ।

पूर्व परराष्ट्रमन्त्री तथा परराष्ट्रविद रमेशनाथ पाण्डेले नेपाल भारतबीचको सम्बन्धमा भर्खरै भएको एकखालको दुर्घटनालाई पत्ता लगाएर त्यसको निदानमै प्रधानमन्त्रीले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । “चिसिएको सम्बन्धमा आपसी सहमति, समझदारी बनाएर विश्वासको आधार तयार गर्नु नै प्रधानमन्त्रीको यो भ्रमणको मूल एजेण्डा बन्नुपर्छ” उहाँले भन्नुभयो ।

“पसलमा किनमेल गर्नजाँदा सपिङलिष्ट तयार पार्नुपर्छ तर बजारमा ती वस्तु उपलब्ध छन् कि छैनन् भन्ने पनि बुझ्नुपर्छ” पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीको यो भारत भ्रमणले दुई देशको सम्बन्धमा पारेको घाउमा मल्हम लगाउन सक्नु नै उपलब्धी हुनेछ ।”

“पसलमा किनमेल गर्नजाँदा सपिङलिष्ट तयार पार्नुपर्छ तर बजारमा ती वस्तु उपलब्ध छन् कि छैनन् भन्ने पनि बुझ्नुपर्छ” पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीको यो भारत भ्रमणले दुई देशको सम्बन्धमा पारेको घाउमा मल्हम लगाउन सक्नु नै उपलब्धी हुनेछ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणलाई सफल र उपलब्धीमूलक बनाउन सो विषयमा अहिले विभिन्न पक्षसँग राय, सल्लाह र सुझाव लिइरहनुभएको छ । उहाँले राष्ट्रियता, सार्वभौमसत्ता, राष्ट्रिय हित, भौगोलिक अखण्डता र स्वाभिमानमा कुनै सम्झौता नगर्ने अडान दोहो¥याइरहनु भएको छ । उहाँको सो अडानलाई परराष्ट्रमन्त्रीहरुले पनि प्रसंशा गर्नुभएको छ ।

प्रतुतिः लक्की चौधरी

तपाईको प्रतिक्रिया