माछाले पल्टु चौधरी लखपति


3

कञ्चनपुर, कात्तिक २९ गते ।
कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख ऋण थियो । पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन् ।

“माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ ।” पल्टु चौधरीले भने– “त्यो ट्र्याक्टरले रु २२ लाखसम्म बैंकमा ऋण भयो ।” विसं २०४३ देखि माछापालन गर्दै आएका उनले २०५६ सालदेखि माछाका भुरा उत्पादन गर्ने हेचरी सञ्चालनमा ल्याए । भुरा उत्पादन गर्ने हेचरी कञ्चनपुरमै उनको मात्रै छ ।

“माछापालन र उत्पादनकै कारण आज म त्यो रु २२ लाख ऋण तिरेर वार्षिक रु सात÷आठ लाख आम्दानी गरिरहेको छु ।” डेढ बिगाहा खेतमा माछा पोखरी बनाएर व्यावसायिक माछापालनमा लागेका चौधरीले भने – “अहिले वार्षिक एक करोड जति भुरा उत्पादन गरी बिक्री गर्दैछु ।’

उनले उत्पादन गरेका भुरा कञ्चनपुर, डडेल्धुरा, बर्दियासम्मका किसानले खरिद गर्ने गरेका छन् । “मैले मागअनुसारको भुरा उत्पादन गर्न सकिरहेको छैन ।” विसं ०५६ को दशकमा सम्दीबाट हेचरी सञ्चालनको प्रेरणा पाएका चौधरीले भने – “हेचरीमा दक्ष प्राविधिक ज्ञान भएको किसान नभएकाले उत्पादन बढाउन सकिएको छैन ।”

रु १२ लाख लगानी गरेर हेचरी सञ्चालनमा ल्याएका चौधरीलाई इलम हेल्भटास नामक संस्थाले ५० प्रतिशत आर्थिक लगानी सहयोग गरेको थियो भने जिल्ला कृषि विकास कार्यालय, कञ्चनपुरले प्राविधिक तथा अन्य सहयोग गर्दै आएको चौधरीको भनाइ छ ।

“मलाई कृषि विकास कार्यालयले धेरै सहयोग गरेको छ ।” चौधरीले भने – “माछापालन फस्टाएकै कारण ऋण तिरेर घडेरीसमेत किनेको      छु ।” आफू माछापालन व्यवसायमा लागेर सन्तुष्ट रहेको बताउने पल्टु चौधरीलाई परिवारका सबै सदस्यले व्यवसायमा रामै्र साथ दिएका छन् ।

“दुईजनालाई रोजगारीसमेत दिएको छु ।” चौधरीले भने – “वार्षिक रु १४र१५ लाखको कारोबार हुन्छ” – त्यसमा रु सात लाखजति गत वर्ष फाइदा भएको उनले बताए । माछापालनमा जिल्लाकै सफल व्यवसायी मानिने चौधरी माछापालनसम्बन्धी तालिम तथा गोष्ठीमा सहभागी हुन भैरहवा, जनकपुरदेखि काठमाडौंसम्म पुगिसकेको बताउँछन् ।

“माछाको माग स्थानीय बजारमै बढी छ ।” उनले भने – “खपतका लागि बजारको कुनै चिन्ता छैन ।” हाल उनले सिल्लबर, नैनी, रोहुलगायतका जात प्रजातिका माछाका भुरा उत्पादन गर्ने गरेका छन् । “महँगोमा एउटा भुरा रु पाँचसम्मको पनि उत्पादन हुन्छ ।” उनले भने – “माछापालनका लागि प्राविधिक ज्ञान लिनु जरुरी छ ।”

सुदूरपश्चिममा कैलालीको सुख्खड र कञ्चनपुरको झलारीपिलाडी नगरपालिका–१ मा गरी दुईवटा हेचरीमात्रै रहेका छन् । “मैले गतवर्ष आठ क्विन्टलजति माछा बिक्री गरेको थिएँ ।” उनले भने – “पछिल्लो समय मैले भुरा उत्पादनमा बढी ध्यान दिएको छु ।” “जिल्लाको एकमात्रै सफल हेचरी सञ्चालक भनेर बेलाबखतमा सम्मानित हुँदा गर्भको सीमा रहँदैन ।” उनले भने – “हेचरीले दाम र नाम दुवै दिएको छ ।”

रासस

तपाईको प्रतिक्रिया