शहरमा करिब २० प्रतिशत मधुमेहका रोगी


काठमाडौँ, कात्तिक २९ गते ।
बढ्दो शहरीकरणसँगै मधुमेहका बिरामीको सङ्ख्या पनि बढ्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । शहरी क्षेत्रमा मात्रै झण्डै २० प्रतिशत सर्वसाधारणलाई मधुमेह भएको अनुमान छ ।

मधुमेह विशेषज्ञ डा। ज्योती भट्टराईले नेपालमा मधुमेह रोगीको सङ्ख्या दिन प्रतिदिन निकै वृद्धि हँुदै गएको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्क अनुसार नेपालमा हाल आठ प्रतिशत मानिसमा मधुमेह देखिएको छ ।

सामान्यतया नेपालीमा ४० वर्ष नाघेपछि मधुमेह देखिने गरेको भन्दै उहाँले नेपालमा १० लाख मानिस मधुमेह रोगी रहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हरेक वर्ष मधुमेहका ७० लाख नयाँ बिरामी थपिने गरेको छ ।

मधुमेहका बिरामी बढेसँगै यसबाट बच्न सन्तुलित, रेसायुक्त आहार तथा शारीरिक व्यायाम अपनाउन  चिकित्सकले सुझाव दिएका छन् ।

शहरी क्षेत्रमा मधुमेह बढी मात्रामा देखिएको भन्दै यसको नियन्त्रणका लागि जनचेतना फैलाउनुपर्नेमा पनि चिकित्सले जोड दिएका छन् ।

डा। भट्टराईले मधुमेहबाट बच्न योग गर्नुपर्ने, सन्तुलित आहार खानुपर्ने, रोग लागिसकेपछि समयमै उपचार गराउनुपर्ने बताउनुभयो ।

आलु र चिनी खाएर मधुमेह हुने भ्रममा नलाग्न पनि डा। भट्टराईले आग्रह गर्नुभयो । सडक पुगेका ठाउँमा बढी मात्रामा मधुमेहका रोगी रहेको भन्दै उहाँले सुखमय जीवनयापनले पनि मधुमेहका रोगी बढिरहेको बताउनुभयो ।

हाल विश्वका ३० करोड मानिस यो रोगबाट प्रभावित छन् भने सन् २०२५ सम्ममा यो सङ्ख्या वृद्धि भई ३८ करोड ४० लाख पुग्ने आँकलन विश्व स्वास्थ्य सङ्गठनको छ ।

नेपालमा पनि कुल जनसङ्ख्याको २५ प्रतिशतमा मधुमेह रोग रहेको दाबी गरिएको छ । नेपालको शहरी क्षेत्रमा १८ देखि २० प्रतिशत र ग्रामीण क्षेत्रमा दुईदेखि पाँच प्रतिशत वयस्क मानिस मधुमेहबाट प्रभावित छन् ।

मधुमेह विशेषज्ञ डा। भट्टराईले बालबालिकालाई प्याकेटको कुनै पनि खाद्य पदार्थ नदिन आग्रह गर्दै यसले कालान्तरमा मधुमेह तथा मिर्गौलासम्बन्धी रोग लाग्ने बताउनुभयो ।

मधुमेहका रोगीले जमिनमुनिको खाद्य पदार्थ, जस्तै आलु, मुला, गाजर, पिँडालु आदि खान हँुदैन भन्ने भ्रम रहेको भन्दै डा। भट्टराईले ती खाद्यवस्तु रेसादार भएकाले खान सुझाव दिनुभयो ।

पोषणविद् प्राडा उमा कोइरालाले मधुमेहका रोगीले प्रशोधित खानेकुरा खानै नहुने बताउनुभयो ।

“मैदा, पीठो जस्ता प्रशोधित खानेकुराबाट बच्नुपर्दछ”, कोइरालाले भन्नुभयो, “दैनिक खानामा मात्रा कम गरेर खाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ ।”

अत्यधिक गुलियो फलफूल तथा चिनी भएको खानेकुरा नखान आग्रह गर्दै उहाँले सन्तुलन मिलाएर स्याउ, मेवा, केरा, सुन्तलाजस्ता फलफूल खान सकिने बताउनुभयो ।

प्राडा कोइरालाले मधुमेह भएका बिरामीले पसिना आउने खालको परिश्रम गर्न पनि सुझाव दिनुभयो ।

मधुमेहका लक्षण

– छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला वा कीरा झुम्मिनु

– धेरै भोक तथा प्यास लाग्नु

– बिना कारण तौल घट्दै जानु वा थकाइ धेरै लाग्नु

– घाउखटिरा सजिलै ठीक नहुनु वा सङ्क्रमण भइरहनु

– हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु

– दीर्घकालमा मिर्गौला, आँखा, स्नायु, मुटु, रक्तनलिमा असर देखिनु ।

–अनियन्त्रीत मधुमेहीमा हड्डी खिइने, मुखको कुनाकुना सुन्निने, घाउखटिराको सङ्क्रमण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया