संस्कृतमा एउटा भनाइ छ, मातृदेवो भव, पितृदेवो भव । यथार्थमा ज्येष्ठ नागरिक ‘जिउँदा देवता’ हुन् । यसो भन्नुको कारण वर्तमानमा जेजति उपलब्धि भएको छ, ती सबैका हकदार ज्येष्ठ नागरिक नै हुन् । ज्येष्ठ नागरिकले विगतमा गरेको मिहिनेत, बगाएको पसिना, लगाएको बुद्धि र विवेक तथा आरम्भ गरेको आधुनिक विकासले नै वर्तमान पुस्ता सुख र सुविधामा रमाउँछ । नेपालीमा एउटा उखान छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको (बुढाबुढीको) अर्थात् युवामा भएको जोश र ज्येष्ठ नागरिकमा भएको होसकै सम्मिश्रणबाट जस्तोसुकै समस्या पनि समाधान निकाल्न सकिन्छ । फेरि जीवनको उकालीओराली पार गरेका ज्येष्ठ नागरिक अनुभवका खानी नै हुन् । अनुभव ज्ञानको स्रोतमध्ये उत्कृष्ट स्रोत हो ।
अन्तर्राष्ट्रिय परिवेश
विश्वमा आएको परिवर्तनको प्रभावले नेपालमा पनि ज्येष्ठ नागरिकको सङ्ख्या द्रुतगतिमा बढ्दैछ । हाल नेपालमा ६० वर्षमाथिको जनसङ्ख्या ३३ लाख रहेको अनुमान छ । यो नेपालको कुल जनसङ्ख्याको ८।१३ प्रतिशत हो । विश्वमा चाहिँ यस उमेर समूहको जनसङ्ख्या १३ प्रतिशत छ भने वार्षिक ३ प्रतिशतले बढिरहेको छ । सन् २०५० सम्ममा करिब २१ प्रतिशत पुग्ने र १० वर्षमुनिका कुल बालबालिकाभन्दा बढी हुने अनुमान गरिएको छ । एक प्रक्षेपण अनुसार सन् २०२५ मा इटाली र जापानको कुल जनसङ्ख्याको ३४ प्रतिशत, जर्मनीको ३२।२ प्रतिशत, स्पेनको ३१।४ प्रतिशत, बेलायतको २९।४ प्रतिशत, फ्रान्सको २८।७ प्रतिशत, चीनको २८।६ प्रतिशत, भारतको १३।१ प्रतिशत र नेपालको १२ प्रतिशत जनसङ्ख्या ज्येष्ठ नागरिक हुनेछन् ।
संय्ुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १४ मा निर्णय गरेअनुरूप सन् १९९१ देखि अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । नेपालले चाहिँ सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । विश्व अल्जाइमर चेतना दिवस २१ सेप्टेम्बर, ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्ध विश्व चेतना दिवस १५ जुनमा मनाइन्छ । स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादा मानवअधिकार घोषणापत्र, १९४८ का मान्यता हुन् । ज्येष्ठ नागरिकका हकमा यी अधिकारको प्रचलनको प्रत्याभूति हुनुपर्छ ।
ज्येष्ठ नागरिकसम्बन्धी भ्रम
कतिपयले ज्येष्ठ नागरिकलाई अनुत्पादक वर्ग र राज्यको भार ठान्ने गरेका छन् । यथार्थमा ज्येष्ठ नागरिकसँग भएको अथाह ज्ञान, सीप र अनुभवको सदुपयोग गर्ने अक्कल नभएकाले यस्तो सोच पलाएको हो । उहिलेका कुरा खुइलिए, अहिलेका कुरा फैलिए भन्नेको पनि कमी छैन । यो अन्तरपुस्ता ज्ञान, सीप र अनुभव हस्तान्तरण हुन नसकेको कारण उब्जिएको भ्रम हो । ज्येष्ठ नागरिकको दुःख बताउने उखान पनि छ– बाह्र छोरा तेह्र नाति बुढाको (बुढाबुढी) धोक्रो काँधैमाथि । यसका निमित्त वर्तमान पुस्ताले ‘सेवा हि परमो धर्मः’ सम्झी अरूको सेवा गर्न नसके पनि आफ्ना हजुरबा, हजुरआमा, बा, आमा र परिवारका ज्येष्ठ सदस्यको आदर र सेवा गर्नुपर्छ । यी घरैका देवता हुन् । यिनैको आशीर्वादले हाम्रो जीवन फल्छ÷फुल्छ ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्नु भनेको न्यायिक, सामाजिक र आर्थिक सहयोग गर्नु हो । उचित व्यवस्थापन, हेरचाह र औषधि उपचारमा कमी हुन नदिनु हो । पाउनुपर्ने सेवा, सुविधा र अधिकारका विषयमा वकालत गर्नु हो । आवाजविहीन ज्येष्ठ नागरिकको तर्फबाट बोल्नु हो । पारिवारिक कलहका कारण ज्येष्ठ नागरिकहरू दुव्र्यवहार चूपचाप सहन, एक्लै टोलाउन, एकान्तमा तपतप आँसु चुहाउन र चाँडो मृत्युको कामना गर्न बाध्य हुन्छन् । यसबाट जोगाउनुपर्छ । कुनै पनि क्षण ज्येष्ठ नागरिकमा नैराश्य, एक्लोपन र शिथिलताको अनुभूति आउन नदिई मृत्युको पर्खाइ होइन, नयाँ जीवनको आरम्भका लागि हामी सबैले मन, वचन र कर्मले सघाउनु नै ज्येष्ठ नागरिकप्रतिको सच्चा सम्मान प्रकट गर्नु हो ।
सेवा तथा सुविधा
२०५१ सालमा तत्कालीन मनमोहन अधिकारी प्रधानमन्त्री हँुदा मासिक एक सय रुपियाँबाट आरम्भ गरिएको ज्येष्ठ नागरिकको मासिक भत्ता हाल तीन हजार रुपियाँ पुगेको छ । वर्तमान सरकारले यो भत्ता ५ हजार रुपियाँ पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ । यथार्थमा यस्तो भत्ता जीवन धान्न पुग्ने बराबरको हुनुपर्ने विश्वव्यापी मान्यता छ ।
इटालीमा कुल गार्हस्थ उत्पादनको १६ प्रतिशत सामाजिक सुरक्षा भत्तामा खर्च गरिन्छ भने फ्रान्समा यसको अंश १४ प्रतिशत छ । छिमेकी मुलुक भारतमा ४ प्रतिशत छुट्याइएको छ । त्यसैले नेपालमा यो अंश ५ प्रतिशत विनियोजन गरी ज्येष्ठ नागरिकको मासिक भत्ता कम्तीमा दोब्बर गर्नुपर्छ । दोब्बर गर्दा ७० देखि ८० वर्ष समूहलाई ५ हजार, ८० देखि ९० वर्ष समूहलाई १० हजार, ९० देखि १०० वर्ष समूहलाई २५ हजार र यसभन्दा माथिका वर्ष समूहलाई ५० हजार रुपियाँ मासिक भत्ता दिनु वैज्ञानिक र न्यायोचित हुनुका साथै राज्यलाई पनि ठूलो भार पर्ने देखिँदैन । संवैधानिक तथा कानुनी हिसाबबाट हेर्ने हो भने नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको छ । यस हकको प्रचलनका लागि जारी भएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने व्यवस्था छ । यिनै कानुनका आधारमा कुनै ज्येष्ठ नागरिक आर्थिकरूपमा विपन्न, बेवारिसे वा अन्य कुनै कारणले गाँस, बासको टुङ्गो नभएमा निजलाई वृद्धाश्रममा राख्नु राज्यको कर्तव्य हो । केही सुविधासम्पन्न वृद्धाश्रमको व्यवस्था भई ज्येष्ठ नागरिक आश्रममा बस्ने गरेको र दिवासेवा केन्द्रमा पनि भेटघाट गर्ने प्रचलन भने बढेको पाइन्छ । नेपालको कानुन अनुसार वृद्धाश्रम बनाउँदा कम्तीमा दुई रोपनी क्षेत्रफल, आवश्यकता अनुसार ज्येष्ठ नागरिक मैत्री भवन र फर्निचर भएको हुनुपर्छ । यस्तै शौचालय, स्नानगृह, भान्छा र भण्डारकक्ष, भोजनकक्ष, अध्ययनकक्ष, टीभीकक्ष, प्राथमिक उपचारकक्ष, प्रतीक्षालय र पुस्तकालयको प्रबन्ध पनि गरिएको हुनुपर्छ । यस्तै स्वच्छ पिउने पानीे, भवनका कोठामा हावा र प्रकाशको पहुँचका लागि पर्याप्त झ्याल हुनुपर्छ तर दुर्भाग्य ज्येष्ठ नागरिकले यति सुविधा पनि पाउन सकिरहेका छैनन् । त्यसैले सात प्रदेश र ७५३ पालिकाले वृद्धाश्रम निर्माण गरी निःशुल्क सञ्चालन गर्नुपर्छ । योसँगै ज्येष्ठ नागरिक मिलनकेन्द्र, ज्येष्ठ नागरिक चौतारो वा ज्येष्ठ नागरिक आरोग्य आश्रम तयार गरी सञ्चालनमा ल्याउनुपर्छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन, योग तथा व्यायाम गर्नका लागि वाटिका÷पार्कको पनि स्थापना गर्नुपर्छ । जसले ज्येष्ठ नागरिकको दिनचर्यालाई सहज बनाउन मद्दत गर्छ ।
केही पालिका र वृद्धाश्रमले ज्येष्ठ नागरिकलाई तीर्थयात्रा र वनभोजमा सहभागी गराएका पनि छन् । देउसीभैलोबाट रकम सङ्कलन गरी मनोरञ्जनका सामग्री खरिद गर्ने, रेडियो पत्रिका उपलब्ध गराउने, न्यानो कपडा वितरण गर्ने, ज्येष्ठ नागरिकबीच वक्तृत्वकला, निबन्ध प्रतियोगिता, कविगोष्ठी गर्ने तथा फलफूल र मिठाई वितरण गर्ने कार्यसमेत भएको पाइन्छ । कतिपय ठाउँमा ज्येष्ठ नागरिक कल्याणकोष स्थापना, कुशल बुहारी सम्मान, सासूबुहारी मित्रता जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन हुनाले ज्येष्ठ नागरिकको दुःख बिर्साएको पनि छ ।
यसैगरी ज्येष्ठ नागरिकले बिहानबेलुका नियमित लेखपढ गर्न पाउनुपर्छ । कसैलाई पीएचडी वा एम।फिल गर्ने इच्छा भए छात्रवृत्ति उपलब्ध गराउनुपर्छ । स्कुल वा कलेजमा प्राध्यापनको इच्छा जाहेर गरे प्रतिसेसन न्यूनतम पारिश्रमिक दिने कोषको प्रबन्ध गर्नुपर्छ । ज्येष्ठ नागरिकद्वारा लिखित पुस्तक साझा प्रकाशन वा प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरिदिनुपर्छ । स्कुल र कलेजको पाठ्यसामग्रीमा बुढेसकाल बाँच्ने कला र उनीहरूप्रति गर्नुपर्ने सम्मानको विषय
समावेश गर्नुपर्छ ।
मुलुकभरिका ज्येष्ठ नागरिकमध्ये उत्कृष्ट काम गर्ने, कुनै क्षेत्रमा विशिष्ट योगदान पु¥याउने १० प्रतिभालाई बर्सेनि १० लाख रुपियाँका दरले पुरस्कृत गर्ने गरी कोषको व्यवस्था हुनुपर्छ । स्थानीयस्तरमा योगदान गरेका ज्येष्ठ नागरिकको सम्मानमा पालिकाहरूले तत्तत् व्यक्तिका नाममा कार्यक्रम र सडकको नामकरण गर्नुपर्छ ।
ज्येष्ठ नागरिकको उपचारका लागि नेपाल सरकारले विभिन्न १६ वटा अस्पतालमा ‘जेरियार्टिक वार्ड’को व्यवस्था गरेको छ । ७५ वर्षमाथिकालाई तोकिएको अस्पतालबाट डायलासिस तथा मुटुरोगको निःशुल्क उपचारको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकको उपचारमा संलग्न नर्स तथा प्यारामेडक्सलाई जेरियाट्रिक तालिम पनि दिइरहेको छ । उमेर पाको हँुदै गएपछि मानिसको सुद्धि हराउँछ भन्छन् । त्यसैले हाम्रो नारा, ‘विस्मृति रोगबारे चर्चा गरौँ ः हेय भावना अन्त्य गरौँ’ भन्ने हुनुपर्छ । सामान्यतया वृद्धावस्था पुगेपछि मनोभ्रम हुने गर्छ । यो ३ प्रतिशत मानिसमा देखिएको छ । नेपालमा ७८ हजार व्यक्ति यो समस्याबाट पीडित छन् । डिमेन्सिया, डिप्रेसन जस्ता रोगले पनि यो उमेरमा सताउने गर्छ ।
ज्येष्ठ नागरिकमा पेटसम्बन्धी रोग, ब्लडप्रेसर र मुटुरोग ज्यादा पाइन्छ । हाडजोर्नी, नसा, पायल्स, ग्यास्टिकले पनि सताउँछ । कानमा इयर फोन राख्नुपर्ने, नियमितरूपमा रगत तथा मूत्र परीक्षण गराउनुपर्ने र फिजियोथेरापी गर्नुपर्ने हुन्छ । यस स्थितिमा निःशुल्क औषधि, मल्टी भिटामिन र क्याल्सियम उपलब्ध गराउनुपर्छ । आँखा शिविरमा परीक्षण गरी चस्मा दिने वा मोतिया बिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था हुनुपर्छ । ज्येष्ठ नागरिकका परिवारलाई स्याहारकर्ताको तालिम दिनुपर्छ । एम्बुलेन्स सेवा निःशुल्क दिनुका साथै निजी अस्पतालमा पनि कम्तीमा ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्छ । यसबाट उमेरजन्य विभेद अन्त्यको यात्रा आरम्भ हुन्छ र ज्येष्ठ नागरिक ढुक्कले बाँच्न पाउँछन् ।
यसैगरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि, २०७० जारी भई बसमा दुई सिट छुट्याउने र ५० प्रतिशत भाडामा छुट दिने व्यवस्था छ । यसका लागि पेन्सनपट्टा, मतदाता परिचयपत्र वा जुनसुकै परिचयपत्र देखाए पनि सुविधा पाउने प्रबन्ध गर्नुपर्छ । यो सुविधा ट्याक्सी र हवाईजहाजमा पनि उपलब्ध हुनुपर्छ । यस अतिरिक्त, ज्येष्ठ नागरिकले आफ्नो प्रयोजनका लागि बाह्रसय सीसीसम्मको एउटा मोटर किन्दा राजस्वमा पचास प्रतिशत छुट दिनुपर्छ । घरजग्गा खरिदमा ७५ प्रतिशत राजस्व छुट दिनुपर्छ ।
ज्येष्ठ नागरिक आफैँले सञ्चालन गरेको व्यवसायमा आयकरमा ५० प्रतिशत छुट दिनुपर्छ । ज्येष्ठ नागरिकको स्वरोजगारका लागि प्राइम लोकेशनमा ९एयरपोर्ट, सिंहदरवबार आदि० कारोबार गर्न दिनुपर्छ । आफ्नै आम्दानीको बैङ्कको बचत खातामा ५० प्रतिशत अतिरिक्त ब्याज दिनुपर्छ । आफैँले कुनै व्यवसाय गर्ने गरी पाँच लाख रुपियाँसम्मको ऋण लिएमा ३ प्रतिशतसम्म ब्याज लाग्ने प्रबन्ध गर्नुपर्छ । यो परियोजनाको बीमा गरी प्रिमियममा सरकारले अनुदान दिनुपर्छ । ज्येष्ठ नागरिक उत्थान कार्यक्रम घोषणा गरी व्यवसायका लागि बीउ पुँजी दिने कोषको प्रबन्ध गर्नुपर्छ । हाल केही ज्येष्ठ नागरिकले आयआर्जनका लागि धागो कात्ने, डोको, मान्द्रो, ढक्की, टोकरी बनाउने, खुर्सानी र कुरिलो खेती गर्ने र करेसाबारी, फलपूmल गोडमेल गर्दै आएका छन् । यी काममा आवश्यक उपकरण पालिकाले उपलब्ध गराउनुपर्छ ।
ज्येष्ठ नागरिक सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवासुविधाबाट वञ्चित छन् । अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा छन् । रेखदेख र सहयोग गर्ने व्यक्तिको अभाव घरभित्रै पनि छ । भएकाहरूमा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवं अनुभवको अभाव छ । गाउँबाट सहर, सहरबाट विदेशमा बसाइसराइ र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौती थपिँदै गएको छ ।
यो समस्या समाधानका लागि सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्र्नुपर्छ । ज्येष्ठ नागरिकको बहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा परिचालन गर्नुपर्छ । आम सचेतीकरण, संवाद र सहकार्यमार्फत अन्तरपुस्ताबीचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुसीपूर्वक बस्ने वातावरण सिर्जना गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि आवश्यक राहत र पुनःस्थापनाको कामलाई प्राथमिकीकरण गर्नुपर्छ ।
साझा दायित्व
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध आवश्यक कानुनी सल्लाह तथा परामर्श दिन हेल्पलाइन स्थापना गर्नुपर्छ । दुव्र्यवहारको जड सम्पत्ति पनि हो । यसर्थ ज्येष्ठ नागरिकले आर्जेको सम्पत्तिमा निजको इच्छा अनुसार हुने व्यवस्था गर्नुपर्छ । साथै ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारलाई दण्डनीय बनाउनुपर्छ । जुनसुकै ठाउँमा ज्येष्ठ नागरिकको छुट्टै लाइनको व्यवस्था हुनुपर्छ । हाम्रा सुविधा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनुपर्छ । छोराछोरीको मासिक कमाइको आमाबाबुको आग्रह अनुसार १० देखि २५ प्रतिशतसम्म आमाबाबुले पाउने कानुन निर्माण हुनुपर्छ ।
केही पालिकाले भने परिचयपत्र वितरण गर्ने, केहीले यातायातमा सहुलियत दिने, केहीले सिरक, केहीले थर्मस, केहीले लौरो बाँडेका छन् । केही पालिकाले स्वास्थ्यजाँच निःशुल्क गरिदिने, केहीले चस्मा वितरण गर्ने, केहीले स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । यस्ता सत्कार्यलाई वृद्धि गर्दै निरन्तरता दिनुपर्छ ।मुलुकभरिका ज्येष्ठ नागरिकको पक्षमा राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले आफ्नो आवाज बुलन्द गर्दै आएको छ । नेपालकै ख्यातिप्राप्त बरिष्ठ कलाकार मदनदास श्रेष्ठको कुशल नेतृत्वमा महासङ्घले सरकारसमक्ष राखेका सुझावलाई उच्च प्राथमिकता दिइनुपर्छ ।
(लेखक नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ ।)
साभार गोरखापत्र दैनिक