हजारौं वर्ष पहिलेदेखि शरीर रङ्गाउन आदिबासी समुदायका महिलाले आफ्नो शरीरका विभिन्न भागमा खोप्थे । विशेषगरी विवाहित महिलाले ‘सुन्दरताको प्रतीक’को रुपमा गोडा, हात र निधारमा खोपेर टीका बनाउँथे । प्राचीन युगमा शरीरमा पहिरिने आधुनिक शृङ्गारका वस्तु उत्पादित थिएनन् । त्यहीभएर प्राकृतिकरुपमै खोपेर शरीर रङ्गाउँथे । सियो बन्नुअघि खोप्न जङ्गली काँडाको प्रयोग गरिन्थ्यो । जङ्गली काँडामा ‘बेल’, ‘निमुवा’ का काँडा बढी प्रयोगमा आउँथे । पछि सियो उत्पादन भएपछि त्यसको माध्यमबाट शरीर खोप्ने प्रचलन शुरुभयो । थारु शब्दमा खोप्ने कामलाई ‘गोदना’, ‘ठोप’ ‘गोदहा’, ‘खोदहा’ भनिन्छ । पश्चिमा थारुले ‘गोदना’ भन्छन् भने पूर्वका थारुले ‘ठोप, गोदहा’ र ‘खोदहा’ भन्छन् । उसो त कोही कोही पुरुषले पनि शरीरका विभिन्न अङ्गमा खोपेर टीका बनाउँथे, अद्यापी बनाउँछन् । खासगरी निधार र ओठको तल पुरुषले टीका बनाएको देखिन्छ । महिलाले पाखुरा, गोडा, निधारसहित अन्य भाग रङ्गाउनु प¥योभने खोप्न लगाउँछन् । गाउँघरकै सदस्यले आपसमा खोप्ने काम गर्थे । आजकोजस्तो ट्याटु बनाउने मेशिन थिएन । न व्यवसायीकरुपमा खोप्ने कोही सिपालु मानिस थिए । काम चलाउन आफैले साथीभाइसँग शरीर खोप्ने र विभिन्न बुट्टा बनाउँथे । खासगरी महिलाले खोपाउँदा टीका, फूल, मयुर, सुगा, घोडाको आकृति शरीरमा बनाउँथे । त्यसले शरीर सुन्दर देखिन्थ्यो । शारीरिक शृङ्गारको काम गथ्र्यो ।
किन खोपाउँछन् शरीर
पहिलो– थारु गाउँमा विवाहित महिलाले शरीर खोप्नु अनिवार्यजस्तै थियो । शरीर नखोपेका महिलालाई मृत्युवरण भएपछि ‘भगवानले नर्कमा पठाउँछन्’ भन्ने जनविश्वास विद्यमान थियो, अद्यापि छ । त्यही विश्वासका आधारमा महिलाले शरीर खोप्न लगाउँथे । ‘मरेपछि स्वर्ग पुगिन्छ’ भन्ने विश्वासले काम गरेको थियो ।
दोस्रो– जङ्गली आदिमयुगमा महिलाका लागि शृङ्गारका केही वस्तु थिएन । शरीर खोपेर रङ्गिन बनाउँदा शरीर आकर्षक र सुन्दर देखिन्थ्यो । आफ्नो दुलहालाई खुशी पार्न र आफू सुन्दर देखिन पनि महिलाले शरीर खोप्न तयार हुन्थे ।
तेस्रो– शरीरको भागमा खोप्दा औषधिको काम गर्छ भन्ने विश्वास थियो । टाउको निधार दुख्ने विमारीले दुख्ने भागमा खोप्न लगाउँदा ‘स्वस्थ भइन्छ’ भन्ने विश्वास थियो । खोपेको भागबाट रगत निकालेर टीका खोप्ने हुनाले विकार रगत बगेर शरीरलाई आनन्द हुने बुझाई थियो ।
चौथो– शरीरमा पहिरिने सबै शृङ्गार या चिजवस्तु क्षणिक हुन्छ । सुनचाँदीका गहना लगाउँदा पनि मरेपछि सङ्गै लग्न पाइँदैन । अन्य शृङ्गारका सामान चोरी हुनसक्छ । तर शरीरमा खोपेको शृङ्गार मरेपछि पनि शरीर सङ्गै जान्छ । प्रेमको प्रतीककोरुपमा लिइने खोप्ने टीकाले वैवाहिक सम्बन्धलाई दर्शाउने हुनाले महिलाले शरीर खोप्थे ।
पाँचौ– नव विवाहित दुलहीले शरीर खोपेर रङ्गीन बनाएमा आफ्नो दुलहा (श्रीमान्) को आयु लामो हुने विश्वास थियो । त्यही विश्वास मनमा लिएर नव दुलहीले शरीरमा विभिन्न रङ्गीन आकृति बनाउन लगाउँथे । शरीर खोप्न लगाउँदा शरीर दुखे पनि श्रीमानको सुखको लागि दुःख सहनुमा महिलालाई आनन्द आउँथ्यो ।
छैठौं– शरीरमा महिलाले खोप्न लगाएपछि थारुको समूह पहिचान हुन्थ्यो । आफ्नो समूह पहिचान गर्न पनि शरीरमा विभिन्न आकृति बनाउन लगाउँथे । त्यसैले शरीरमा गोदना गर्नु पहिचानसँग जोडिएको विषय थियो ।
सातौं– शरीर खोपाउँदा कालो रङ्ग प्रयोग हुन्छ । कालो रङ्को टीका शरीरमा हुँदा बैरी दुश्मनको नजर लाग्दैन । शत्रु, बैरीहरु डराउँछन् भन्ने विश्वास थारु समुदायमा छ । दुःख विमार र रोग लाग्न नदिन पनि खोपाउने गरिएको धेरैको बुझाई छ ।
कसरी बन्छ सामग्री
शरीरमा काँडा या सियोले खोप्दा टीका बनाउने सामग्री घरायसी नै थियो । बजारबाट किनेर टीका बनाइँदैनथ्यो । त्यतिबेला बजारमा रङ्गको उत्पादन भएको थिएन । आदिमयुगमा थारु समुदायले कुनै रङ्ग नपाउँदा सेतो रङ्गको प्रयोग गर्थे । माटोले बन्ने सेतो रङ्गको प्रयोग गर्दैजाँदा दशैंको ‘टीका’ समेत सेतो लगाउन थाले । पछि त्यसलाई चामलको ‘सेतो टीका’मा रुपान्तरण गरे । अद्यापि दशैंमा आदिबासी थारु र अन्य आदिबासीले चामलको पीठोबाट बनेको सेतो टीका लगाउँछन् ।
उहिले गाउँघरमा विजुलीबत्ति थिएन । माटाका, सिसिका मट्टितेलका टुकी (दियो) हुन्थे । त्यही दियोले घर उज्यालो बनाएर काम चलाउँथे । दियो राख्ने ठाउँलाई थारुले ‘ओंर्वा’ या ‘खोभ्री’ भन्थे । घरका भित्तामा दियो राख्ने खोभ्री निर्माण गरिएका हुन्थे । हरेक कोठामा दियो राख्ने खोभ्री हुन्थ्यो । खोभ्रीको माथिल्लो भागमा दियोको ‘राप’ (ध्वाँसो) गएर भित्ता कालो हुन्थ्यो । त्यही कालो खरानी (ध्वाँसो) लाई खाने तेल (करुवा तेल) मा मिसाएर रङ (मसी) बनाइन्थ्यो । कसैकसैले कपडा जलाएर त्यसको खरानी पनि प्रयोग गर्थे । तर दियोको खरानी पक्का रङ् हुन्थ्यो । सियो या काँडाले शरीरमा खोपेर त्यसमा त्यही रङ दल्ने र दलिसकेपछि काँचो गोवरले धुने प्रचलन थियो । रगत निकालेर खोप्ने हुनाले त्यो भागमा घाउ हुन्थ्यो । एक हप्तासम्म तेल र बेसार मिसाएर बनेको ‘लेप’ घाउमा लगाउँथे । घाउ निको भएपछि रङ पक्का गरी खोपेको ठाउँमा बस्थ्यो ।
पश्चिमा थारुले ‘गोदना’ भन्छन् भने पूर्वका थारुले ‘ठोप, गोदहा’ र ‘खोदहा’ भन्छन् । उसो त कोही कोही पुरुषले पनि शरीरका विभिन्न अङ्गमा खोपेर टीका बनाउँथे, अद्यापी बनाउँछन् ।
पुस्तान्तरण भएन
बेलौरी ७ कञ्चनपुरकी बुझौनी चौधरी (७०) ले आफ्नो घुँडामुनीको सबै भाग पैतलासम्म खोपेर रङ्गीन बनाउनुभएको छ । पहिले कालो टीका खोप्दा समय वित्दैगएपछि हरियो रङमा परिवर्तन भएको बताउनुहुन्छ । उहिले विवाहित थारु महिलाले अनिवार्यरुपमा शरीरमा खोप्न लगाउने प्रचलन भएपनि अहिलेका युवापुस्ताले त्यसमा विश्वास नगरेको बताउनुहुन्छ । ”अब खोपेर चित्र बनाउने प्रचलन हराउन लागिसक्यो, युवापुस्ता कसैले शरीर खोपेको देखेको छैन“ उहाँले भन्नुभयो । युवाहरु बजारका ‘ट्याटु’ बनाउनमा हौसिएपछि शरीर खोप्नेकाम बन्द भएको उहाँको बुझाई छ ।
त्यस्तै, सोही गाउँकी भलुनी चौधरी (६०) ले पनि गोडा र हातमा खोपेर शरीर रङ्गीन बनाउनुभएको छ । विवाह हुने पक्का भएपछि घरका सदस्यले शरीर खोप्न लगाएको उहाँ स्मरण गर्नुहुन्छ । “उहिले सबै महिलाले शरीर खोप्ने चलन थियो, अहिले त हाम्रा नातिनी, बुहारीहरुले खोपेका छैनन्, भन्दा पनि मान्दैनन्” उहाँले भन्नुभयो । शृङ्गार र प्रेमको प्रतीककोरुपमा रहेको खोप्ने थारु प्रचलन पुस्तान्तरण हुन नसके केही वर्षपछि लोप हुने चिन्ता उहाँलाई छ । अहिले बजारमा थरिथरिका आधुनिक शृङ्गारका सामग्री उपलब्ध भएपछि युवापुस्ता त्यसमा लहसिएको उहाँको बुझाई छ ।
अगुवाको सुझाव
थारु संस्कृतिविद महेश चौधरीकाअनुसार आदिमयुगमा थारु समुदाय प्रकृतिसँगै बस्ने हुनाले पर्यावरणसँग प्रभावित भएर शरीरमा विभिन्न आकृति खोप्ने प्रचलन शुरुभएको हो । जङ्गली झार जलाएर खरानी बनाई त्यसमा खाने तेलमा फिटेर रङ्ग बनाउने गरिएको उहाँ स्मरण गर्नुहुन्छ । रङमा जङ्गली फल ‘भेला’को रस चोपेर टीका बनाउँदा अझ पक्का हुने बुझाई उहाँको छ । शरीरमा बनाइएका फूल, मयुर, सुगा र घोडाका आकृतिले शरीर सुन्दर देखिने र अरु गहना लगाउन आवश्यक नपर्ने त्यतिबेला बुझाई रहेको उहाँ भन्नुहुन्छ । आजकोजस्तो आधुनिक शृङ्गारका वस्तु नभएकाले पनि महिलाहरु शरीर खोप्नेतिर बढी आकर्षित हुनसक्ने उहाँ बताउनुहुन्छ । यद्यपि केही पुरुषले पनि खोपेर निधारमा टीका बनाउनेगरेको, नाडीमा ‘प्रेमिका’को नाम लेख्ने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।
त्यस्तै, अर्का थारु संस्कृतिविद भुलाई थारुले महिलाले आफ्नो शरीर सुन्दर र आकर्षक बनाउन खोप्ने काम गर्नेगरेको सम्झनुहुन्छ । थारु समुदायमा ‘गोदना’ गर्ने प्रचलन आदिमकालदेखि भएपनि युवापुस्तामा पुस्तान्तरण हुन नसक्दा थारु महिलाको पहिचान मेट्ने अवस्थामा रहेको उहाँको चिन्ता छ । ‘विवाहित महिलाले प्रेमको प्रतीककोरुपमा शरीरमा गोदना गर्नु थारुको परम्परागत प्रचलन हो’ उहाँको तर्क छ । थारु समुदायले घरको भित्तामा पनि मयुर, घोडा, फूलका विभिन्न आकृति बनाउँथे । घरको शृङ्गार गर्न त्यस्तो विशेष कला थारु समुदायमा थियो । तर अहिले त्यो सीप र कला पनि लोप हुन थालिसकेको संस्कृतिविद थारुको बुझाई छ । ‘युवापुस्तामा रुपान्तरण गर्न नसके थारुको पुरानो प्रचलन लोप हुन्छ’ उहाँले भन्नुभयो ।
निस्कर्ष
शरीर खोप्नुलाई थारु महिलाले ‘सिन्दूर’को प्रतीक मान्थे । त्यसैले विवाहित महिलाले अनिवार्य शरीर खोप्न लगाउँथे । कसै–कसैले शरीर खोपाउनुलाई वीरताको प्रतीक पनि मान्छन् । जङ्गलीयुगमा विभिन्न समूह थिए । ती समूहबीच लडाई झगडा भइरहन्थ्यो । कहिले खानेकुराको बहानामा त कहिले युवतीको नाममा । लडाईमा विजयी बनेका समूहका महिलाले शरीर खोपेर विजयको प्रतीककोरुपमा शरीरमा खोप्न लगाउँथे । अहिले बजारमा छ्यापछ्याप्ती फैलिएको ट्याटु बनाउने आधार त्यही शरीर खोप्नुसँगै जोडिएको छ । उहिलेदेखि प्रचलनमा रहेको खोप्ने चलन आधुनिक युगमा ‘ट्याटु’ बनाउने कलाको रुपमा विकसित भयो । गोदना गर्नुको विकसित रुप ट्याटु गर्नु हो । शरीर खोप्ने प्रचलन थारु महिलामा मात्र थिएन । आदिाबासी समुदायमा त्यो प्रचलन विद्यमान थियो । अहिले पनि पुराना मानिसको शरीरमा खोपेको देख्न सकिन्छ । थारुसहित नेवार, मगर, गुरुङ, तामाङ लगायतका महिलाले शरीर खोपेर शङ्गार गरेको अद्यापि भेट्न सकिन्छ ।
शरीर खोप्ने प्रचलन कति ठीक थियो या थिएन, वहसको विषय बन्नसक्छ । थारु अगुवाले यसलाई थारुको पहिचानसँग जोडेर व्याख्या गर्छन् । युवापुस्तामा पुस्तान्तरणको आवश्यकता औल्याउँछन् । तर आजका युवाहरु गोदनाभन्दा ट्याटुतिर बढी आकर्षित छन् । युवापुस्तामा यसको महत्व र ऐतिहासिकताबारे जनचेतना जगाउन सके खोप्ने परम्परागत प्रचलनलाई जोगाउन सकिने विश्वास थारु अगुवाको छ । तर कसै कसैलाई भने खोपाउनु ‘दिग्दारी’ हुनेगरेको छ । प्रेमिकाको नाम हातमा खोपाएर पछि विछोड हुँदा मेट्न नसकिने भएकाले त्यसले जीवनभर पीडा दिने कतिपयको बुझाई छ ।
तस्विर सहयोगः कालीमैयाँ र सानु चौधरी ।