थारु साहित्यिक भेला र पटेला गाउँ

विचार

सुशील चौधरी

भाषा साहित्यको विकास निरन्तर लेखन, प्रकाशन, विचार विमर्श र समीक्षाबाट हुने गर्दछ । साहित्य समकालीन समाजको प्रतिविम्ब हो । भाषा त्यसको सशक्त माध्यम । नेपालमा १२५ जात जाति र १२३ भाषाभाषी रहेका छन् । खस् नेपाली भाषा सरकारी कामकाजको भाषा हो । मैथिली, भोजपुरीपछि चौथो ठूलो भाषिकसमूह थारु हो । नेपालमा भाषाको भौगोलिक फैलावटको हिसाबले नेपालीपछिको थारु भाषा नै हो । तराई र भित्री तराईका बाइस जिल्लामा थारुभाषीहरु सघनरुपमा बसोबास गर्दछन् । अब त राजधानी लगायत प्रमुख शहरहरुमा थारु भाषीहरुको उल्लेख्य बसोवास छ । तराईको सम्पर्कभाषा थारु भाषा नै हो । साहित्यिक उन्नयनका लागि स्रष्टाहरुको स्वतःस्फूर्त प्रयास जारी छ ।

२०७३ सालको बैशाख पहिलो हप्तामा ऐतिहासिकरुपमा पहिलो थारु साहित्य मेला ः एक, दाङको घोराही र राजपुरमा भव्यरुपमा सम्पन्न भयो । मेलामा थारु भाषाको विकास र साहित्यको समीक्षात्मक छलफल गरिएको थियो । मेलाले घोषणापत्र जारीगर्दै वार्षिकरुपमा साहित्य मेला आयोजना गर्ने पनि उद्घोष गरिएको थियो । सोही बमोजिम २०७३ चैत १९ र २० गते कैलालीको धनगढी नगरपालिकाको सुन्दरगाउँ पटेलामा भर्खरै सकिएको छ । आमसंचार माध्यमहरुमा र सामाजिक संजालमा मेलाकोबारेमा चर्चा परिचर्चा, विचार टिप्पणी भइरहेका छन् । बर्सेनी यस्तो साहित्यिक महोत्सब हुनु आफैमा खुशीको कुरा हो । संवाद, अन्तरसंवाद, विचार विमर्श, समीक्षा, समालोचनाले नै सर्जक र सृजनालाई निखारपन दिन्छ । यो मेलाले पनि थारुभाषा, साहित्यको क्षत्रेमा पराकम्पन ल्याएको छ । पक्कै पनि त्यसको प्रभावबाट आगामी दिनमा बढीभन्दा बढी सर्जकहरु जन्मने छन् । आफ्नो इतिहास आफै लेख्ने र थारु वाङ्मय संवृद्ध बनाउने अभियानमा लामवद्ध हुनेछन् ।

दोश्रो थारु साहित्यिक मेला समावेशी होस्, सामाजिक सद्भाव र एकताको सन्देश पनि जाओस भन्ने सन्दर्भमा पनि ध्यान दिइएको थियो ।

लेखक तथा पत्रकार कृष्णराज सर्वहारीको संयोजकत्वमा गतवर्ष गठन भएको थारु पत्रकार संघको आयोजनामा साहित्यिक मेला धनगढी उपमहानगरपालिका अन्तर्गतको पटेलामा भएको थियो । दोश्रो थारु साहित्यिक मेला समावेशी होस्, सामाजिक सद्भाव र एकताको सन्देश पनि जाओस भन्ने सन्दर्भमा पनि ध्यान दिइएको थियो । कविता र आख्यान लेखन रचना गर्भको विषयमा यसैवर्ष ऐना कथासंग्रहमा मदन पुरस्कार विजेता रामलाल जोशी, रोल्पा सुइना कथा संग्रहका लेखक युवा साहित्यकार नवीन विभसलाई प्यानलिष्ट बनाइएको थियो । थारु भाषामा मानकताको प्रश्नलाई भाषा शास्त्रीय ढंगबाट सघाउनका लागि भाषाशास्त्री पदम राई र मातृभाषामा शिक्षाको आवश्यकताबारे छलफल गर्नका लागि नेवा बस्ती नेवा स्कुलका अभियन्ता दिपक तुलाधर निम्त्याइएका थिए । संस्कृतिविद् अशोक थारुको थारु लोकसाहित्यक र दर्शन विषयमा सारगर्भित मन्तव्यसंगै अन्तरसंवाद सुरुभयो । थारुमुद्दा र साहित्य लेखन, महिला लेखन, पत्रकारितामा थारु सवाल लगायतका विषयमा छलफल भएको थियो । आधा दर्जन कृति विमोचन पनि मेलामा भएको थियो । सयौको संख्यामा लेखक, कवि कलाकार, लोककलाकार, शिक्षक र बुद्धिजिवीहरुको सक्रिय सहभागिता रहेको मेलामा पुस्तक मेलामा उल्लेख्य संख्यामा पुस्तक विक्री भएको थियो । गतवर्ष नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्य भएपनि यसपटक भने हुन सकेन । सरकारी निकायबाट सहयोग हुनसकेको    देखिएन । सयौको संख्यामा स्रष्टाहरुको सहभागितामा भाषा, साहित्य र संस्कृतिबारेमा विचार विमर्शको आरम्भ हुनु नै ऐतिहासिक र महत्वपूर्ण कार्य मान्नु पर्दछ । नेपाली वाङ्मयलाई बलियो र धनी बनाउन यस्ता गतिविधिहरुले धेरे नै योगदान दिन्छन् ।

मेलाको अन्तरवंवादमा मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले थारु पात्रहरुलाई होच्याएको, टीकापुर घटनाबारे एकतर्फी विचार व्यक्त गरेकोजस्ता आरोप खेप्नु पर्यो । उनले आफु थारु समुदायमा लामो समयसम्म संगै बसेकोले अन्याय गर्ने कुरा आउँदैन, आफुले देखेको भोेगेको र महसुस गरेको कुरा ऐना कथा सङ्ग्रहमा लेखेको बताए । थारु समाजका नीरिह पात्र मात्र नभएर गैरथारु समुदायको खलपात्रहरुको पनि बेनकाब गरेको बताए । यसका साथै ऐना कथा सङ्ग्रहमा परेका थारु समुदायका कथाहरु पनि मदन पुरस्कार पाउन सघाएको स्वीकार गरे । अर्का कवि एवं आख्यानकार नवीन विभासले आफु रोल्पाको भएकोले रोल्पाली माटोको सुगन्ध कथासंग्रह रोल्पा सुइनामा दिने प्रयास गरेको र अध्ययनकाक्रममा दाङमा लामो समय रहेकोले थारु समुदाय र पात्रहरु पनि समेटेको बताए । कृष्ण सर्वहारीले सहजीकरण गरेको त्यस अन्तरसंवाद साँँच्चै भन्नुपर्दा थारु समुदायका सवाल यथोचित लेखनमार्फत बाहिर नआएकोले आख्यान र गैरआख्यानमा आउनुपर्ने अनुभूत गरायो ।

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीले थारु पात्रहरुलाई होच्याएको, टीकापुर घटनाबारे एकतर्फी विचार व्यक्त गरेकोजस्ता आरोप खेप्नु पर्यो ।

मातृभाषाका शिक्षाको अवस्था शीर्षकमा भएको संवादमा नेवाबस्ती नेवा स्कुलका अभियन्ता दिपक मानन्धरले नीति, नियम, ऐन कानुन हुदाहुदै पनि हामीले लागुगर्न नसक्नु दुःखको कुरा भएको बताए । आफुहरुले काठमाण्डौमा सयौ विद्यालयमा नेपाल भाषामा पठनपाठन गराउन सफल भएको भन्दै थारु समुदायले थारुबस्ती थारु स्कुल संचालन गर्न ढिलो गर्न नहुने बताए । यसकालागि आफ्नो अनुभव र अन्य सहयोग गर्न तयार रहेको बताए । थारु समुदायको मुद्दा र साहित्यलेखन विषयमा भएको अन्तरसंवादमा थारु नेता कृष्णकुमार चौधरीले आफु दसवर्षे सशस्त्र द्वन्द्व छिचोलेर आएको भएपनि ती अनुभवहरु लिखित साहित्यमा सार्वजनिक गर्न नसकेको जुन अति आश्यक रहेको बताए ।

अधिवक्ता सन्तराम धारकटुवाले थारुहरुको गौरवमय इतिहास रहेको बताए । उनले भने – २००८ सालमा नै बर्दियाको भौराटप्पामा पर्ने बेलवा गाउँमा कोइली ्थारु लगायत दर्जनौले जमिन्दारविरुद्ध विद्रोहगर्दा मारिएका थिए । २०१७ सालमा दांगको बेलवाबंजारीमा गुम्रा थारुले जमिन्दारविरुद्ध भूमि अधिकारकालागि लड्दा शहादत प्राप्त गरे । बाँकेमा बैजनाथ चौधरी, बर्दियामा ठुम्नीकाण्डमा मोहन थारु, कन्डरा आन्दोलनमा रुन्चे थारुको शहादत भयो । दसवर्षे सशस्त्र द्वन्दमा जुना थारु लगायत हजारौको बलिदानी भएको छ । तर शहीदगाथा लेखिएको छैन, जुन हुनुपर्दछ । सहभागीहरुले टीकापुर घटनाको आख्यानीकरण किन भएन भन्ने प्रश्न पनि गरेका थिए ।

थारु नागरिक समाज, कैलालीका संयोजक– दिलबाहादुर चौधरीले सिमांकनको मुद्दा प्राथमिक मुद्दा भएको बताए । संयुक्त राष्ट्रसंघीय आदिवासी जनजातिसम्बन्धी स्थायी समितिका सदस्य, फूलमान चौधरीले थारुहरुले आदिवासी जनजातिकोरुपमा पाउनु पर्ने अधिकार पाउनुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि नं १६९ का प्रावधानहरु सरकारी उदासीनताकाकारण लागु हुननसकेको बताए । त्यस सत्रले राष्ट्र निर्माणमा थारु समदायको महत्वपूर्ण योगदान रहेको तर दस्तावेजीकरण कमजोर रहेकोले व्यवस्थित पहल गरिनु पर्ने निष्कर्ष निकालिएको थियो । दुबै सत्रको सहजकिरण सुशील चौधरीले गरेका थिए ।

राष्ट्र निर्माणमा थारु समदायको महत्वपूर्ण योगदान रहेको तर दस्तावेजीकरण कमजोर रहेकोले व्यवस्थित पहल गरिनु पर्ने निष्कर्ष निकालिएको थियो ।

भाषिक मानकताको भाषाशास्त्रीय दृष्टिकोणबारे पदम राईले प्रस्तुति गरेका थिए । भाषिक मानकताका लागि भाषा शास्त्रीय निष्कर्षमात्र पूर्ण नहुने भएकोले भाषा बोल्ने र लेख्ने समुदाय र संगठनहरुले पनि सहमति जनाउनु पर्ने सुझाव दिए । मेलाको अन्त्यमा थारु ठेट शब्द उच्चारणअनुसार लेख्ने र आगन्तुक शब्दहरु जस्ताको तस्तै लेख्ने घोषणा गरियो, जसले भाषिक मानकताको क्षेत्रमा नयाँ आयाम थपेको छ ।
साहित्यिक मेलाको अर्कोसत्र थारु महिला लेखन रहेको थियो । जीवनका बक्ररेखाहरु निबन्ध संग्रहका लेखक बालिका चौधरी र गजलकार रवीना चौधरी प्यानलिस्ट थिए भने इन्दु चौधरीले सहजीकरण गरेकी थिइन् । महिला लेखकहरुले खुलेर संवाद गरेका थिए । श्रृंगारिक साहित्यको नाममा पुरुष साहित्यकारले महिलाहरुको गलत चरित्र चित्रण गरिरहेको, भद्दा शब्दको प्रयोग गरिरहेको आरोप लगाए । महिलालाई सार्वजनिकरुपमा बोल्न र विचार राख्न सकस परिरहेकोबेला लेख्ने स्वतन्त्रता पाउनु अति कठिन कुरा रहेको अनुभव बताए । पुरुष कवि गजलकारहरुले महिलालाई होच्याउने र सस्तो मनोरंजनको साधनकोरुपमा प्रस्तुत नगर्न पनि चेतावनी दिएका थिए ।

निबन्धकार बालिका चौधरीले आफुले धेरै दवावका बाबजुत पनि लेखिरहेको र लेख्दैजाने बताइन् । पारिवारिक अपहेलनाकाकारण आत्महत्या गर्न हिंडेको मान्छे पछि कलमको साहराले यहाँसम्म आएको र बाँच्नेआधार भेट्टाएको बताउँदा वातावरणमा स्तव्धता छाएको थियो । बाराकी अग्रज साहित्यकार शान्ति चौधरी पछि पश्चिम नेपालमा कैलालीकी उपन्यासकार शर्मिला सृष्टि र गजलकार रवीना चौधरी, निबन्धकार तथा कवि इन्दु चौधरी, उन्नति चौधरी, बर्दियाका निबन्धकार बालिका चौधरी, गजलकार सीता निश्चलले निरन्तर कलम चलाइरहेका छन् । युवा महिला साहित्यकारहरुको जोश र जाँगरले थप सम्भावनाको ढोका खोलेको छ । आत्मामा बेदनाका ज्वाला र हुरी बोकेर जिइरहेका महिला स्रष्टाहरु अबका दिनमा कलम मार्फत विद्रोह गर्ने धेरै दिन छैनजस्तो लाग्यो, अन्तरसंवादमा स्रष्टाहरुलाई सुन्दा । थारु पत्रकारिता विषयमा पत्रकार छविलाल कोपिलाले सहजीकरण गरेका थिए । प्यानलिष्ट पत्रकार गणेश चौधरीले एजेण्डा सेटिंग गर्ने ठाउँमा नपुगेसम्म थारुहरु समाचार बन्न नसक्ने बताए । पहुँरा दैनिकका लखन चौधरीले प्रेश विज्ञप्ती निकालेर “व्यानर न्युज ” दवाव दिने गलत चिन्तन रहेको बताए ।

आठबुँदे घोषणापत्र सहित भेला सकियो । ठेट थारु शब्द उच्चारणअनुसार र आगन्तुक शब्द जस्ताकोतस्तै लेख्ने, थारु भाषाको विकासका लागि पहलगर्ने लगायतका सवाल उजागर भयो ।

साहित्यिक मेलामा गीत गजल, कविताको झंकार पनि सुन्न पाइयो । समसामयीक सवाल, जीवन, प्रेम र वातावरणका विषय समेटिएका सिर्जनाहरु बेजोड थिए । कलाकार इन्द्र चौधरी कविता थरुहट क्षेत्रफलमा पहिलो शोलो अभिनय प्रस्तुत गर्दा दर्शकका आँखा रसाएका थिए । त्यस काव्यिक माहोलले थारु युवा गजलकार ठाकुर अकेलाले थारु गीतको अवस्था विषयमा कार्यपत्र पनि सुनाएका थिए । थारु गीतहरु अन्य भाषाको अनावश्यक प्रभावमा परेर मौलिकता गुमाइरहेकोमा चिन्ता व्यक्त गरियो ।

आठबुँदे घोषणापत्र सहित भेला सकियो । ठेट थारु शब्द उच्चारणअनुसार र आगन्तुक शब्द जस्ताकोतस्तै लेख्ने, थारु भाषाको विकासका लागि पहलगर्ने लगायतका सवाल उजागर भयो । भाषिक मानकताको बहसलाई निरन्तरता दिन, मातृभाषामा शिक्षाको सचेतना बढाउन, थारु समुदायको समाकलीन मद्दा र साहित्य लेखनको अवस्थाबारे विमर्श गर्न, लेखक साहित्यकारहरुबीच सम्बन्ध सुमधुर बनाउन र थारु स्रष्टाहरुद्वारा लेखिएका कृतिहरुको विक्रिवितरण र समीक्षा गर्न मेलाले महत्वपर््ण योगदान दिएको छ । आफ्नो इतिहास आफै लेख्न पहलकदमी र अग्रसरता बढाउन पनि मेलाले हौसला बढाएको छ । प्राज्ञिक बहसहरुमा राजनीतिककर्मीहरुको चासो कम हुनु, सरकारी निकायबाट सहयोग र सहकार्य नहुनु, मुलप्रवाहका सञ्चारमाध्यमहरुमा नसमेटिनु, देशव्यापी बनाउने प्रयास गरेपनि पश्चिम नेपालका सहभागीमात्र बढी सहभागी हुनुजस्ता सवालहरु आगामी दिनमा समाधान गर्नुपर्ने विषय हुन् ।

तपाईको प्रतिक्रिया