
रुक्मिणी देवकोटा
उपमेयर (उपप्रमुख) पदको उम्मेदवार
नेकपा (एमाले), धनगढी उपमहानगरपालिका, कैलाली
उद्योग व्यवसायमा ३४ वर्षे अनुभव संगाल्नुभएकी रुक्मिणी देवकोटा करिब २८ वर्षदेखि राजनीतिसँग नजिक भएर काम गर्नुभएको छ । हाल उद्योग बाणिज्य महासंघ कैलाली जिल्लाको उपाध्यक्षको जिम्मेवारीमा समेत रहनुभएकी देवकोटालाई नेकपा (एमाले) ले धनगढी उपमहानगरपालिकाको उपमेयर (उपप्रमुख) को उम्मेदवार बनाएको छ । लामो अनुभव र परिपक्वता हासिल गर्नुभएकी उहाँसँग पत्रकार लक्की चौधरीले गर्नुभएको चुनावी कुराकानीको सारसंक्षेप–
चुनावी अभियानमा होमिनु भएको छ, मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
एकदम राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । मतदातासँगको घरदैलोले यहाँको वास्तविक समस्या र चुनौतिको विषयसँग प्रत्यक्ष साक्षात्कार हुने अवसर जुरेको छ । नागरिकको समस्या र चुनौति आफ्नै समस्या हो भन्ने महशुस गरिरहेकी छुँ ।
उपमहानगरपालिकाको कुन कुन वडामा अहिलेसम्म पुग्नुभयो ? र मतदाताको खास माग र सुझाव के छन् ?
उपमहानगरापलिकामा १९ वडा छन् । चुनावी अभियानका क्रममा अहिलेसम्म वडा नं. १, २, ३, ४, ६, १०, ११, १३, १४ र १८ मा पुगिसकेकी छुँ । बाँकी वडामा पुग्नेक्रम जारी छ । घरदैलोमा पुग्दा धेरै समस्याको पहिचान भएको छ । कतिपय समस्याहरु साझा छन् । कतिपय समस्या विल्कुल्लै भिन्न र फरक छन् । कहीं बाटो छैन, बाटो भएको ठाउँमा पुल, कल्भर्ट छैन । कहीं खानेपानीको व्यवस्था छैन, कहीं सिंचाईका समस्या छन् । शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या छन् । विजुलीबत्ति सबै वडामा पुगिसकेको छैन । समस्याको पहिचानले भोलिका दिनमा त्यसको सम्बोधनमा सहज हुने मलाई लागेको छ ।
उपमहानगरपालिकामा तत्कालै गरिहाल्नुपर्ने समस्या के हुन् जस्तो लाग्छ ?
समस्या त ठाउँ र परिवेश अनुसारकै छन् । कुनै गाउँमा मोटर जाने बाटो छैन । साना खोलामा कल्भर्ट र पुल छैन । उपमहानगरपालिकाजस्तो ठाउँमा मोटर बाटोले छोएको छैन । कहीं शिक्षाको खाँचो छ । ७५ वर्ष उमेर पुगेका दलित र जनजाति समुदायमा नागरिकता नपाएको समस्या पनि देखें । जनचेतना र विकास निर्माणको काम सँगसँगै लग्नुपर्ने खाँचो महुशस भएको छ । म निर्वाचित भएर आएमा प्राथमिक समस्या तत्काल समाधान गरी दीर्घकालिन विकास योजनाको काम अगाडि बढाउने छुँ । धनगढीजस्तो शहरमा सार्वजनिक शौचालयको अभाव छ । त्यसको तत्काल व्यवस्थापन र निर्माण प्रक्रिया अगाडि बढाउनेछुँ । विकासका लागि भ्रष्टाचार शुन्य पार्नु अनिवार्य विषय हो । त्यसमा पारदर्शी र जिम्मेवार भएर म लाग्ने प्रतिवद्धता गर्दछुँ ।
ती समस्या समाधान गर्ने तपाईसँग के योजना छ ?
पहिलो काम समस्याको पहिचान हो । त्यसपछि त्यसको सम्बोधनकालागि आवश्यक योजनाको तर्जुमा गर्नु हो । समस्या समाधानकालागि मसँग स्पष्ट योजना छ । मेरो पार्टीसँग योजना छ । पार्टीको साथ, समर्थन सहयोगले ती समस्या सहजरुपले समाधान गर्न सकिन्छ । उपमहानगरपालिकालाई साँच्चिकै सुन्दर बनाउन म र मेरो पार्टीसँग ईच्छाशक्ति र योजना दुवै भएकाले यहाँको विकासले उपमहानगरपालिकाको मुहार फेर्न गाह्रो छैन भन्ने मलाई लाग्छ ।
चुनाव जित्न कतिको कठिन होलाजस्तो लाग्छ ? तपाईको प्रतिस्पर्धी को हो ?
मतदाताको भावनासँग निकै नजिक भएकीले होला चुनाव जित्न खासै गाह्रो होलाजस्तो मलाई लाग्दैन । सबैको चाहना र मनोविज्ञान बुझ्नेक्रममा छुँ । अहिलेसम्मको घरदैलो अभियानले सकारात्मक प्रतिक्रिया र सुझाव प्राप्त भएको छ । एमाले नेतृत्वको सरकारले गरेको काम र योजनाबाट यहाँका मतदाता धेरै परिचित हुनुहुन्छ । त्यसैले मलाई सहजरुपमा मतदाताको मत आउँछ अपेक्षा छ । जहाँसम्म प्रतिस्पर्धीको कुरा छ, मेरो प्रतिस्पर्धा कांग्रेसकै उम्मेदवारसँग होला । तर म धेरै मत अन्तरले उपप्रमुखमा निर्वाचित हुन्छु भन्ने विश्वास छ ।
कृषकहरुको समस्या कस्तो देख्नुभयो ? निर्वाचित भएमा के गर्ने प्रतिवद्धता छ ?
कृषकका समस्याबाट धेरै परिचित छौं । सिंचाई, मल, विउविजन, आवश्यक सामग्रीकै हो । धेरै ठाउँमा आकाशे पानीको घरमा खेती गर्नुपर्ने बाध्यता छ । समयमा मलविउ उपलब्ध नहुँदा कृषक समस्यामा छन् । मेहनत गरेर उत्पादन गरेको अन्न र फलफूलको बजार र त्यसको भाउ छैन । अन्न भण्डारणका लागि शितभण्डारको खाँचो छ । त्यसको सही व्यवस्थापन गर्नु र कृषकलाई सहुलियत ऋण उपलब्ध गराउने वातावरण बनाउन आवश्यक छ । म निर्वाचित भएमा त्यसको यथोचित पहल गर्छु ।
घरदैलो कार्यक्रममा जाँदा चुनावप्रति सबैभन्दा वढी उत्साहित कुन पक्षलाई पाउनुभयो ?
सबैभन्दा उत्साहित र खुशी ज्येष्ठ नागरिक, एकल महिला, दलित, सिमान्तकृत वर्गलाई पाएँ । एमाले नेतृत्वकै सरकारका पालादेखि ज्येष्ठ नागरिक र अन्य वर्गका लागि सुरक्षा भत्ताको व्यवस्था भयो । एमाले नेतृत्वकै सरकारमा सो भत्तामा शतप्रतिशत बृद्धि गरिएको छ । भोलिका दिनमा त्यसलाई थप बृद्धिगरी मासिक पाँचहजार रुपियाँसम्म पु¥याउने पार्टीको लक्ष्य छ । बुढेसकालको एकमात्र सहारा नेकपा (एमाले) पार्टी हो भन्ने बुवाआमाको प्रतिक्रियाले निकै उत्साहित बनाएको छ । पहिलो चरणको निर्वाचनमा एमालेको पक्षमा जनलहर देखिएको छ, त्यसलेगर्दा एमाले पार्टीलाई दोस्रोचरणमा पनि त्यसरी नै मत आउने आशा झन पलाएर गएको छ ।
महिलाका समस्या कस्तो पाउनुभयो ?
महिलामाथि अझै पनि विभेद छ । शिक्षित परिवारभित्र अझ बढी विभेद रहेको देखियो । महिलालाई नेपालको संविधान, ऐन कानून र नीति नियमले अधिकार सम्पन्न बनाएको छ । त्यसको व्यवहारिक कार्यान्वयनको खाँचो छ । शिक्षित र ग्रामीण क्षेत्रमा बसोबास गर्ने दिदीवहिनीहरुको चेतनास्तरलाई अझ फराकिलो बनाई अधिकार प्राप्तीको अभियानमा होमिन जरुरी देखें । महिलाको समस्या समाधानका लागि हरेकले आफ्नै घरबाट शुरुवात गरेमा समस्या सहजरुपले समाधान हुन्छ । महिलालाई नेतृत्वमा ल्याउन र पुरुषभन्दा महिलाहरु नेतृत्वतहमा कमजोर छैनन् भन्ने पुष्टि गर्न पनि महिलाहरु अगुवाई गर्न आवश्यक छ । राजनीतिक, सामाजिक, पारिवारिक सबै क्षेत्रमा महिलाको नेतृत्वको खाँचो छ ।
अन्य समस्या के के देख्नुभयो ?
भूमिहिन, सुकुम्बासी, मुक्त कमैयाका समस्या छन् । १७ वर्ष भयो कमैया मुक्त भएको तर अहिलेसम्म सहीरुपमा पुनस्र्थापना हुन सकेको छैन । भूमिहिनहरु भूमिबाट बञ्चित छन् । घरबास प्राप्त गर्न सकेका छैनन् । सुकुम्बासीको सही व्यवस्थापनको खाँचो छ । हामीले चाहेमा यो समस्या ठूलो समस्या होइन । हाम्रो इच्छाशक्ति र सही नीति नहुनाले समस्या बनाइएको हो । म निर्वाचित भएमा यसको समाधानको ठोस पहल गर्नेछुँ ।
निर्वाचित भएमा पहिलो, दोस्रो र तेस्रो यो काम गर्छु भन्ने तपाईलाई लागेको छ ?
अवश्य पनि । समस्या त धेरै छन् तर प्राथमिकीकरण गरेर समाधान गर्नु पर्छ नै । म निर्वाचित भएमा पहिलो काम उपमहानगरपालिकाको सबै वडामा सहज बाटो पहुँचको काम अगाडि बढाउनेछुँ । त्यसपछि यहाँका नागरिकको आधारभूत आवश्यकता गाँस, बास र कपासको हो । तेस्रोमा उपमहानगरबासीको उचित शिक्षा, स्वास्थ्य र रोजगारको कामलाई प्राथमिकता दिनेछुँ । चौथोमा, यहाँको वस्ती र शहर अव्यवस्थित छ, यसलाई व्यवस्थापनको स्पष्ट योजना अगाडि बढाउनेछु ।
अन्त्यमा केही भन्नु छ भने ?
यो उपमहानगरपालिकालाई सुन्दर, सुव्यवस्थित र समृद्ध बनाउन स्पष्ट योजना र इच्छाशक्तिको खाँचो छ । मतदाताको सहायोग र समर्थनको आवश्यकता छ । देशको विकास, समृद्धि र राष्ट्रिय एकताको नेतृत्व गर्ने पार्टी एमाले भएकाले एमालेकै सबै उम्मेदवारलाई यहाँहरुको अमूल्य भोटको खाँचो छ । नागरिकको चाहना र समस्यासँग हामी परिचित छौं । यहाँहरुको अमुल्य मत पाएमा भोलिको उपमहानगरपालिका ‘वाह !’ भन्न लायक बनाएर हामी देखाइदिन्छौं । त्यसैले सबै मतदाता बाबाआमा, दाजुभाइ दिदीवहिनीहरुको सहयोग प्राप्त होस् भन्ने आग्रह गर्दछुँ ।




