संविधान आएपछि सबैभन्दा खुशी भएँः नेम्वाङ


SAM_6504

संविधानसभाका तत्कालिन अध्यक्ष तथा व्यवस्थापिका संसदका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ् अहिले फुर्सदिलो हुनुभएको छ । सभामुखको जिम्मेवारीमा रहँदा निकै व्यस्त रहनुहुने नेम्वाङ् जिम्मेवारीबाट बाहिरिनुभएपछि केही समयका लागि फुर्सद पाउनुभएको छ । प्रायः सिंहदरवार सचिवालयमा मन्त्री, सांसद तथा पत्रकारहरुसँग बढि परामर्श गर्नुहुने उहाँ अहिले आफ्नो पुरानो पेशा वकालततिर फर्कने तयारी गर्नुभएको छ । राजनीतिलाई मागीखाने भाँडो बनाउन नहुने धारणा राख्नुहुने नेम्वाङ् व्यवहारमा आफूले पेशा व्यवसाय गरेरै बाँकी दिन राजनीति गर्ने बताउनुहुन्छ । प्रस्तुत छ हमार पहुराले उहाँसँग गरेको कुराकानी सारसंक्षेप–

नयाँ संविधान जारी गरेर देखाउनुभयो, कस्तो बनेको छ यो संविधान ?
समावेशीताका हिसावले, समानुपातिक प्रतिनिधित्वका हिसावले सबै जाति, वर्ग र समुदायको अधिकारका हिसावले यो संविधान अहिलेसम्मकै लोकतान्त्रिक र प्रगतिशील संविधान हो । यसको सही कार्यान्वयन गर्नसके सबैलाई अपनत्वबोध हुन्छ भन्ने मलाई लाग्छ ।
संविधान प्रगतिशील र लोकतान्त्रिक भन्नुभयो, समेट्न नसकेको पक्ष के हो जस्तो लाग्छ ?
नयाँ संविधानले सबैलाई अधिकार दिने हो दिएको छ । तर व्यक्तिगत क्षमताको विकास र बुद्धिविवेक भने संविधानले दिने होइन । त्यो व्यक्ति आफैले बनाउने विषय हो । सबैचिज संविधानमा खोजेर त कहाँ पाइन्छ तर अधिकारको विषयमा पर्याप्त विषय समेटेएिको छ ।
संविधान जारी हुनुमा सबैभन्दा सकारात्मक भूमिका कसले खेल्यो जस्तो लाग्छ ?
संविधान सहमतिको दस्तावेज हो । प्रमुख राजनीतिक दलका नेताहरु एक ठाउँमा उभिदा सम्भव भएको हो । त्यो भन्दा वढी भूमिका पत्रकार र सञ्चारमाध्यमले खेल्यो । जसले दलका नेताहरुलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनसक्यो । त्यसैले म सबै पत्रकार र सञ्चारमाध्यमलाई धन्यवाद दिन्छु । मेरो भूमिका र मलाई सफल बनाउन पनि पत्रकारको महत्वपूर्ण सहयोग रह्यो ।
अब राजनीति गर्नुहुन्छ कि कुनै पेशा ?
राजनीतिबाट अलग रहन त सकिदैन तर सँगसँगै पेशा व्यवसाय गर्ने मेरो उद्देश्य हो । यसअघि पनि समय पाएका बेला वकालत गर्दैआएको थिएँ । म कानूनको विद्यार्थी हुँ । त्यसैले मेरो पुरानो व्यवसाय गरेर अगाडि बढ्छुँ । राजनीतिलाई मागीखाने भाँडो बनाउनु हुन्न भन्ने मेरो सुझाव हो । म अन्य दलका नेताहरुलाई पनि पेशा व्यवसाय गरेर राजनीति गर्न सुझाव दिन्छु । त्यसो गर्दा राजनीति विकृत    हुँदैन ।
सभामुखको जिम्मेवारीमा रहँदा सबैभन्दा दुःख र खुशी कहिले हुनुभयो ?
पुनस्र्थापित प्रतिनिधिसभाको सभामुखदेखि संविधानसभाको दोस्रो निर्वाचनपछि पनि अध्यक्षको जिम्मेवारी निर्वाह गर्दा धेरै उतारचढाव र चुनौतिहरु आए । तथापि २०६९ जेठ १४ गते नयाँ संविधान जारी नै नगरी पहिलो संविधानसभा विघटन भएको दिन सबैभन्दा दुःखी भएको क्षण थियो । जहाँसम्म खुशीको कुरा छ, २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको दिन सबैभन्दा खुशी भएँ ।
संविधान जारी भएसँगै प्रमुख दल विभाजित भएका छन्, संविधानको कार्यान्वयनको चुनौति देख्नुहुन्छ ?
यो दुःखको कुरा हो । मैले त संविधान जारीगर्दा जसरी नेताहरु एक ठाउँमा थिए, कार्यान्वयन गर्दापनि एक ठाउँमा रहनु पर्छ भनेर पटक पटक सुझाव दिएको थिएँ, अहिले पनि दिन्छु । संविधान जारी गर्नु एउटा जिम्मेवारी पूरा भयो, तर संविधान कार्यान्वयन गर्नु अर्को जिम्मेवारी बाँकी नै छ । प्रमुख तीनदल नेपाली कांग्रेस, नेकपा (एमाले) र एमाओवादी सहित अन्य दलपनि संविधानको सहज कार्यान्वयन गर्नकालागि एक ठाउँमा उभिन जरुरी छ । त्यसो नगर्ने हो भने संविधानको सफल कार्यान्वयनमा समस्या पर्छ ।
संविधानले धेरै विषय समेटेको भनिन्छ तर पनि तराई र मधेसमा असन्तोष छ नि ?
सयमा सय त केही चिज हुँदैन । अधिकतमले सहमति गरेको संविधान हो यो । केही दल र सांसदहरु नयाँ संविधानमा हस्ताक्षर गर्नु भएन त्यो सही हो । तर त्यसो गर्नुहुन्थेन । यो संविधान एकदम लचिलो संविधान छ । संशोधनको ढोका पनि खोलेरै आएको छ । अपुग विषय र परिमार्जन गर्नुपर्ने विषय बाँकी भएमा प्रक्रिया र विविधअनुरुप संशोधन गर्न सकिने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया