वर्षे जोखिमबाट बच्न थारु परम्पराअनुसार सुनसरीका थारुले गरे अखारीपूजा


सुनिल चौधरी
झुम्का,असार १९ गते । रामधुनी १ नयाँटोल भादगाउँको ग्रामथान (डिह्वार) मा परापुर्वकालदेखि नै असार महिनामा थारु परम्पराअनुसार मनाउदै आएको अखारीपुजा सोमवार सम्पन्न भएको छ ।

बर्षा सुरु भएसंगै त्यसबाट निम्तिन सक्ने सम्भावित घटनाको क्षतिबाट बच्न ग्रामथान (डिह्वार) मा थारु संस्कार अनुसार बिधिवत पुजा आराधना गरिएको हो ।

बर्षा हुदा सर्प, बिच्छि, बिषालु जनावहरुको बिगबिगीबाट बच्न, अत्याधिक बर्षाले निम्त्याउन सक्ने सम्भावित रोगबाट बच्न,गाउँघर, बालबच्चाको बर्षाले कुनै नोक्सानि नहोस र समयमै खेतीपातिको काम सकेर उब्जनी बढोस भन्ने कामना गदै थारु समुदाय असार महिनामा पुजा गर्ने चलन छ ।

बसोवासकै क्रम्मदेखि चल्दै आएको सो ग्रामथानका पुजारी सिताराम चौधरीका अनुसार हरेक वर्ष पूजा गर्नुपर्छ । बाहिरबाट आउने नाकारात्मक अदृश्य शक्तिबाट समेत बच्नकालागि थारुहरु बिशेष ग्रामथान स्थापनागरी पुजा आरधना गर्ने बाद्यवादन (मृदंग) बजाउने गुजकलाल चौधरीले बताउनुभयो ।

नयाँटोल भादगाउँको ग्रामथानमा बिशेष राजाजि, तुम्लुङ्ग मुखिया लगायत रहेको देवधरमलाई आराधनागरी पुर्खाकै पालादेखि पुजा लिएको सौन धामिलाई बिशेष बिधिवतरुपमा पुजागर्ने चलन छ । बर्षमा दुईपटक नेमानि र अखारी पुजा गर्ने परम्परा रहेको छ । गाउँबाहिर ग्रामथान स्थापनागरी मंसिरमा नेमानि र असारमा अखारी पुजा गर्दैआएको छ ।

अखारी पुजामा खिर, लड्डु, नयाँ फलेको फलफुल आँप, कटहर चढाएर देवतालाई खुसिपार्ने गरिन्छ । सो ग्रामथानमा पहिले–पहिले बोका, पाठि, भालेलाई बलि दिई, अण्डा चढाउँदै आएको थियो भने अहिले आएर बलि दिन छोडेको छ ।

ग्रामथान देवतालाई गोचर बिन्तिगरी देवतालाई मनाएर फलफुल लड्डु, खिर चढाई पुजा आराधना गर्दै आएको स्थानियहरुले बताएका छन् । यसरी बलि नदिई पुजा गर्दा पनि ग्र्रामदेवता खुसिहुने बताएका छन् ।

अखारी पुजा हुनुपुर्व पुजा सामाग्रीकालागि गाउँको प्रत्येक घरधुरिमा बेहरी (केहि रकम सहयोग पचास वा आवशयकता अनुसार) संलग्न गर्ने गरिन्छ । बेहरी संकलन भै सकेपछि पुजा गर्ने दिन अगुवाले निर्धारणगर्ने गरिन्छ । सो दिन बिहानै गाउँलेहरु भेला भएर ग्रामथानलाई सरसफाई, लिपपोतगरी दब्हारी (खर) वा कुसको मुठा प्रत्येक देव स्थानमा लागईन्छ ।

त्यसपछि अगुवाको घरमा पुजाको सबै तयारी गरी बेलुका साँझ पर्नेबेलामा बालबालिका देखि बृदबृद्धासम्म आएर साँझ बात्ति, दियोबालि बिधिवत पुजा सुरुगरी प्रसाद ग्रहण गर्ने चलन छ । पुजा गर्ने बेलामा झाईल मृदंग बजाएर पौराणिक धार्मिक गीतहरु गाउँदै अखारी पुजा सम्पन्न गर्ने पौराणिक मान्यता रहेको छ । अखारी पुजा घरघरमा पनि गरिने चलन छ । असार भरीनै कुल देवतालाई बिधिवत पुजागरी सुख शान्तिको कामना गर्ने गरिन्छ ।

ग्रामथानमा कामना गर्दै पुजा गर्नाले गाउँघरमा सुख शान्ति हुने आस्थाले मनाउदै आएको अखारी र नेमानि पुजामा गर्ने भजनकालागि बृद्ध भजन्याहरुको स्वर्गवासले समस्या भैरहेको पुजा आराधनामा झाल बजाउदै आएका ७५ बर्षिय भरतलाल चौधरीले बताउनुभयो ।

यसभन्दा पहिले ८ देखि १० जनाको समुहमा हामिले रमाई रमाई भजन गाएर पुजा गर्ने गथ्र्यौ भावुक हुदै ७५ बर्षिय चौधरीले भन्नुभयो, “साथिहरुको स्वर्गवासले अहिले दुईजना मात्रै बजाई रहेका छौ ।” नयाँ युवापुस्ताले गित गाउने, बाद्यबादनमा झाल मृदंग बजाउने कला ज्ञान लिन नचाहेकाले अबका दिनमा थारु समाजमा रहेकोे भजन गर्ने चलन हराएर जाने भन्दै पहिचान माथिनै खतरा आउने चौधरीको चिन्ता छ ।

कम्तिमा हामी रह्दासम्म भजन गर्ने शैलि बिधिबारे हस्तान्तरण गर्न पाए संस्कार जिबित रहिरहने भनेर युवाहरुलाई सचेत गराउदै पहिचान जोगाउने वा समाप्त गर्ने युवाहरुको हातमा रहेकाले युवाभुमिकाबारे समेत ७५ बर्षिय भरतलाल चौधरीले प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया