धनगढीको जाइँ गाउँमा थारु हरेरी पूजा महोत्सव २०७६ को तयारी


लक्की चौधरी
धनगढी, साउन १५ गते । खेतीबारी हरियालीको कामना सहित थारु समुदायले मनाउने हरेरी पूजालाई धनगढी ५, जाइँ गाउँका थारु समुदायले हरेरी महोत्सवकोरुपमा मनाउने तयारी गरेका छन् । भदौ २ देखि ५ गतेसम्म महोत्सव आयोजना हुने बरघर (भलमन्सा) कुलवीर चौधरीले बताउनुभयो ।

रोपाईको काम सकेपछि खेतबारी हरियाली भएकाबेला किराकाँटी नलागुन् र धान राम्रो उत्पादन होस् भन्ने उद्देश्यसाथ यो हरेरीपूजा थारु समुदायले गर्ने गर्छन् । वर्षको एक पल्ट यो पूजा अनिवार्य हुन्छ । गाउँको देशबन्ध्या गुरुवा (ठूला गुरुवा) को सहयोगमा गरिने सो पूजापछि खेतबारीमा किरा नलाग्ने र धान राम्रो उत्पादन हुने विश्वास गरिन्छ ।

उहिले शिव पार्वतीले पनि खेती किसानीको काम गर्थे । खेतको हरियाली धान देखेर मोहित भएका शिव भगवान घर आउन पत्तो पाउँदैनथे । त्यस्तो भएपछि पार्वती घरमा कुर्दा कुर्दै हैरान हुन्थिन् । शिव छिटै खेतबाट घर आउन् भनेर पार्वतीले खेतमा किरा लगाएर शिवलाई निराश बनाएकी थिइन् ।

खेतमा लाग्ने पानीको मुहानमा शुद्ध दुधको धार चढाउनाले खेतका किराहरु नष्ट हुने र खेती पुनः हरियाली हुने उपाय पार्वतीले सुझाएपछि शिवले त्यसै गरे ।

खेत नराम्रो भएपछि शिव भगवान छिटै खेतबाट घर आउने गर्थे । तर शिवको निराशा देखेर पार्वतीले छिटै खेतबाट घर आउने वाचा गराएर खेतलाई पुनः हरियाली बनाइदिने बताएकी थिइन् । खेतमा लाग्ने पानीको मुहानमा शुद्ध दुधको धार चढाउनाले खेतका किराहरु नष्ट हुने र खेती पुनः हरियाली हुने उपाय पार्वतीले सुझाएपछि शिवले त्यसै गरे । फेरि खेतमा हरियाली कायम भयो, किंवदन्ती छ ।

यही किंवदन्तीअनुसार थारु गाउँमा गुरुवाको सहयोगमा शिव पार्वतीलाई सम्झेर पूजापाठ गर्ने र खेतबारीमा किरा फट्याङ्ग्रा नलागुन् कामना गर्ने गरिन्छ । अव यो पूजालाई थारुहरुले महोत्सवकोरुपमा मनाउन थालेका छन् ।

हरेरी पूजा प्रायः सबै थारु गाउँमा गर्ने गरिन्छ । तर जाइँ गाउँका थारुले २०७३ सालदेखि पूजालाई महोत्सवकोरुपमा मनाउन शुरु गरेका छन् । यस वर्षपनि चार दिने महोत्सवको तयारी भएको भलमन्सा चौधरीले बताउनुभयो । उहाँकाअनुसार भदौ १ गते देवथानमै गुरुवाहरुले भूमि देवाल जगाउने, २ गते गुरुवाले नै अखारी खेल्ने र दुधको धार हरियो धानमा चढाउने, ३ र ४ गते थारु संस्कृति झल्काउने नाचगान र खानपान गर्ने र ५ गते महोत्सव सम्पन्न गर्ने तयारी गरिएको चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु विशेष परिकार अनदीको भात, अनदीको जाँचर, घोङ्घी, रोटी, ढिक्री लगायतका परिकार खान पाइने भलमन्सा चौधरीले बताउनुभयो । यसअघिसम्म पूजामा मुर्घा (भाले) काट्ने गरिएको भएपनि पछिल्लो समय काटमार नगर्ने र साकाहारी पूजाको शुरुवात गरिएको उहाँले बताउनुभयो ।

जाइँ गाउँमा १७५ घरधुरी थारु किसान रहेका छन् । थारु समुदायले हरेरी पूजाजस्तै महिना महिनामा त्यस्ता ठूला पूजाहरु गर्ने गर्छन् । अन्य पूजामा धुरीया पूजा, लवाङ्ी पूजा, निकासी पूजा, पेण्डीया पूजा लगायतका छन् ।

तपाईको प्रतिक्रिया