दाङको रिहारमा नुनखानी भएको विश्वास, उत्खननको प्रतिक्षामा स्थानीय


लक्की चौधरी
लमही (दाङ), माघ २९ गते । लमही नगरपालिका वडा नं. ८, बाघखोलीस्थित राजमार्गको उत्तर–दक्षिण छेउमा करिब १० विघा क्षेत्रमा नुनखानी भएको विश्वास स्थानीयहरुको छ । चिसो मौसम सुरुभएपछि दलदले बलौटे माटोमा नुनको सतह देखिन्छ । त्यसलाई स्थानीय थारु समुदायले ‘रेह’ भन्छन् । त्यही अपभ्रंश भएर त्यो ठाउँको नाम रिहार भएको मानिन्छ ।

स्थानीय ज्वालाप्रसाद चौधरी (६०) ले परापूर्वकालदेखि यो नुनखानी भएको स्थानीयको विश्वास भएपनि सरकारले अझसम्म त्यसको उत्खनन्मा ध्यान नदिएको बताउनुभयो । जमिनको सतहमा निस्कने नुनको सतहलाई गाईगोरु, भेडाबाख्रा तथा जंगली जीव जनावरले नुन खानेगरेको बताउनुभयो । नुनको सतह बाक्लो भएपछि गाई गोरुले चाटेर सतह पातलो गर्नेगरेको उहाँको भनाई छ ।

नुनको सतहले जमिनमा सेताम्मे देखिन्छ । ढुङ्गाको साना टुक्रा र माटो मिसिएको जमिनमा दिउँसो चहकिलो घाम लागेपछि नुनको सतह देखिने गरेको स्थानीयहरुको भनाई छ । लमही बजारबाट करिब २३ किलोमिटर पश्चिम राजमार्ग जंगल छेउमा त्यो नुनको सतह देखिने गरेको छ । स्थानीय चौधरीले आफू ६० वर्षको भएपनि जानेदेखि नुनको सतह यसैगरी देखिने गरेको बताउनुभयो ।

पानी परेपछि नुनको सतह बगाउने गरेको भएपनि नुनको सतह चिसो मौसमभरी देखिने गरेको स्थानीय पत्रकार छविलाल कोपिलाले बताउनुभयो । स्थानीय गाउँबाट जंगल चर्न आउने गाई गोरु, भेडा बाख्राले नुनको सतह चाटेर पातलो गर्नेगरेको उहाँले बताउनुभयो । स्थानीयहरुले नुनको खानी भएको विश्वास गरेपनि सम्बन्धित निकायबाट यसको उत्खननमा चासो नदेखिएको उहाँले बताउनुभयो ।

स्थानीयले त्यो नुनको सतह कति भित्रसम्म छ भनेर इनार खन्दासमेत तलैसम्म नुनिलो पानी निस्केको थियो, पत्रकार चौधरीले भन्नुभयो “सरकारले यो ठाउँको उत्खनन् गरेमा नुन खानी भेटिन सक्छ, विज्ञ र प्राविधिक समूहबाट यसको खोज गराउन आवश्यक छ ।”

नुन खानी हो वा होइन त्यो त उत्खनन् गरेपछि पत्ता लाग्ला तर हातमा लिएर चाट्ने हो भने त्यो नुनिलो हुने भएकाले गाई गोरुले घण्टौंसम्म चाट्ने गर्छन् स्थानीय चौधरीले भन्नुभयो । अरु ठाउँमा नदेखिने तर यही दलदले माटोमा नुनको सतह देखिनुले केही रहस्य भएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया