रोपाई शुरु भएपछि थारु समुदायमा मनाइदै छ ‘फाहर पएनक भिख’ माग्ने पूजा


रामअवतार चौधरी
कपिलवस्तु, असार ६ गते । थारु समुदाय संस्कृतिलगायत अन्य क्षेत्रमा पनि धनी समुदाय मानिन्छ । विशेषगरी पश्चिमी थारु समुदायमा पूर्खौँदेखि चल्दैआएको एउटा चलन फाहर पएनक भिख पनि रहेको थारु जानकारहरु बताउँछन् ।

बर्षा (बर्खा) को बीच अर्थात् रोपाई आसपास यो पूजा गर्ने गरिन्छ । “फाहर पएनक भिख” भनेको लौरोमा फाली बाँध्ने काम हो । गाउँमा प्रयेक घरबाट अन्न दक्षिणा माग्ने चलन छ । त्यहि दक्षिणालाई बजारमा लगेर बेचेबापत हुन आउने रकमले गेरु, ढागा, भेली, सोँठ, धार, टीका, फुलरा र कर्धुन लगायत सामाग्री खरिद गरिन्छ । भोलीपल्ट गाउँका सबै मान्छे एक लठाउँमा जम्मा भई सबै सामाग्री बाँडिन्छ ।

त्यसपछि आ–आफ्नो घर गएर मिठोमसिनो खानेकुरा पकाइन्छ । गोरुलाई मिठो परिकार खुवाउने, सिङमा गेरु र फुलरा लगाए पश्चात फाली र लाठीको पूजा गर्ने गरिन्छ । साथै धार (बेसार, निमको पत्ता र पानी) लोटामा घोलेर आफ्नो घरदेखि गाउँ बाहिरसम्म बाटैबाटोे घोलेको पानी छम्कनुपर्छ ।

त्यो पानी छम्कदै लग्नुको अर्थ थारु गाउँबाट रोगव्याधी गाउँभन्दा बाहिर जाओस भन्ने मान्यता छ । यो चलन थारु समुदायमा मात्रै नभएर मधेसी समुदायमा समेत रहेको भदोखर निवासी राधेश्याम कुर्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया