थारु मातृभाषा जगेर्नामा थारु समुदाय स्वयम् सचेत हुनुपर्ने अगुवाहरुको सुझाव


हमार पहुरा डट कम
उदयपुर, पुस २६ गते । थारु मातृभाषाको जगेर्ना तथा प्रवद्र्धनमा थारु समुदाय स्वयम् लाग्नुपर्ने धारणा थारु अगुवाहरुले राख्नुभएको छ । पश्चिम महाकालीदेखि पूर्व झापासम्म थारु समुदाय छरिएर बसेकाले भाषामा पनि विविधता हुन गएकाले एकीकृत पाठ्यक्रम निर्माणमा समस्या भएको उहाँहरुको बुझाई छ ।

उदयपुरको त्रियुगा ४, बगाहामा आयोजित थारु मातृभाषाको जगेर्नामा स्थानीय तहको भूमिका विषयका कार्यक्रममा थारु अगुवाहरुले सो धारणा राख्नुभएको हो । थारु भाषामा एकरुपता ल्याउन एकीकृत शब्दकोष, व्याकरण र मानकीकरणको अभ्यास गर्नुपर्ने उहाँहरुको भनाई छ ।

थारु आयोगका सदस्य भोलाराम चौधरीले प्रदेश १ मा थारु भाषा सिफारिस नगरिए पनि जनसंखयाको बाहुल्यता र वक्तासंख्याकोे आधारमा जिल्लागत, पालिकागत र वडागत रुपमा थारु भाषा लागू गर्न सकिने बताउनुभयो । भाषा आयोगले स्थानिय तहको सरकारी कामकाजको भाषा लागु गर्न १० वटा आधारहरु निर्धारण गरेको उहाँले चर्चा गर्नुभयो ।

सदस्य चौधरीकाअनुसार भाषा आयोगले निर्धारण गरेका आधारहरुमा अधिक जनसंख्या, स्तरीय भाषा, लेखन प्रणली, अभिलेखिकरण, आधारभूत सेवामा भएको प्रयोग, शिक्षाको माध्यम भाषाको आधार, बक्ताहरुको सघनता, भाषिक् जीवन्तता, सञ्चारमा भएको प्रयोगको आधार र भाषाका वक्ताको आधार रहेको छ ।

थारु आयोगले मानक भाषा निर्माण गर्न पहल सुरु गरिसकेको जानकारी दिनुहुँदै आयोगका सदस्य चौधरीले थप गृहकार्यको काम भइरहेको बताउनुभयो ।

थारु अगुवा तेजनारायण चौधरीले तीन वर्ष अगाडि नै थारु भाषाको पाठ्यपुस्तक छपाई भए पनि उदयपुर जिल्लामा लागु गर्न नसकिएको बताउनुभयो । थारु भाषामा विविधता रहेको र स्कुलमा अध्ययन गर्ने बालबालिकाहरु विभिन्न समुदायबाट आउने गरेकोले पाठ्यक्रम लागू गर्न नसकिएको उहाँको भनाई छ ।

अर्का थारु अगुवा पुलकित चौधरीले थारु भाषालाई सरकारी कामकाजीको भाषामा मान्यता दिलाउन पहल गर्नुपर्ने बताउनुभयो ।

थारु आयोगको संयोजनमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय सदस्य जयराम पन्जियार, महिला सभाका केन्द्रीय कोषाध्यक्ष विक्रमी चौधरी, उदयपुर सभापति शिवकान्त चौधरी, नगरसभापति बेचुदास चौधरी, थारु अगुवा बासुदेव चौधरी, हरिभक्त चौधरी लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया