थारु हस्तकला जोगाउँदै गाउँघरमा रोजगारी सिर्जना गर्दै ज्ञानु थारु


राम अवतार चौधरी
कपिलवस्तु, माघ २४ गते । थारु समुदायको लोकप्रिय हस्तकला सामग्री हो ढकिया । ढकियासँगै पछिल्लो समय सो समुदायले विगतमा प्रयोग गर्दैआएका त्यस्ता थुप्रै सामग्री लोप हुँदैगइरहेको छ । नकारात्मक चालचलनलाई त्याग्दै समाजमा सकारात्मक प्रभाव पर्नेखालको हस्तकला लगायतका रीतिरिवाज तथा संस्कार अनुसरण गर्नु आजको आवश्यकता हो । यसलाई युवा पुस्ताले जिम्मेवारीका साथ वहन गर्ने उदाहरण बन्नुभएको छ ज्ञानु चौधरी ।

कपिलवस्तुकी एक २७ बर्षिय युवती चौधरी समाजमा थारु हस्तकलाको निर्माण गरी उदाहरण बन्नुभएको छ । बुद्धभूमि नगरपालिका ९, बरकुलपुर घर भएकी युवती ज्ञानु थारु अहिले थारु हस्तकला उत्पादन गरी व्यवसाय नै शुरु गर्नुभएको छ । उहाँ विगत केहि बर्षदेखि किर्डाक नेपाल लगायत संघ संस्थाको सहयोगमा सीप सिक्नुभयो । सामान्य परिवारमा हुर्केकी ज्ञानु अध्ययनसँगै सीपलाई निरन्तरता दिँदै स्नातक तहसम्म अध्ययन गरिसक्नुभएको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरेर उत्पादन भएका वस्तुले रोजगारीका अवसर सिर्जना गर्नुकासाथै आम्दानीको मुख्य पक्ष पनि बनेको छ ।

अनुभवलाई साथीभाइसँग शेयर गर्दै केही साथी त केही घर परिवारको सहयोग र हौसलाले ज्ञानुलाई व्यवसायिक बनाएको हो । घरमै उत्पादन गरेको हस्तकला सामग्रीलाई परम्परागत तरिकाले राखिने गरिन्थ्यो । तर केही दिन पहिले उहाँ व्यवसायिक रुपमा हस्तकला सामग्रीलाई उपयोग गर्नुभयो । फुर्सदिलो समयमा घर बस्दा थारु समुदायका महिलाले जंगलमा पाइने मुज (खर) र बजारमा पाइने मोती (प्लास्टिक दाना) र धागो प्रयोग गरेर ढकिया लगायतको हातले निर्मित थारु सामग्रीलाई व्यवसायिक रुप दिनुभएको छ ।

यस क्षेत्रमै पहिलो पटक यसरी थारु सुमदायमा लोप हुँदैगएको ढकिया लगायतका सामग्रीलाई जगेर्ना गर्ने हेतुले नमुना काम उहाँले गर्नुभएको छ । हामी परम्परागत तरिकाले पुर्खौँदेखि हस्तकला बनाउँदै आएका छौँ तर अब आधुनिक ढङ्गले व्यवसायिक गर्नुपर्छ उहाँले भन्नुभयो । पहिलो पटक यसरी आफूलाई यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्न घर परिवार लगायत साथीेले सुझाएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

पछिल्लो समय थारु समुदायका युवा पुस्ताले जिम्मेवारी लिनबाट पन्छिएको बताउँदै समाजको नेतृत्व युवाले लिनुपर्ने उहाँको सुझाव छ । स्थानीय सामग्री भएको हुनाले बाह्य ग्रहकहरुको ढकिया, पेन होल्डर, रोटी डानी, टोपी, लेंहगा र थारु गहना लगायत सामग्री खरिद गर्न आउने गरेको उहाँँ बताउनुहुन्छ । थारु हस्तकला सामग्रीलाई आफूले प्रोत्सहन गर्ने हिसाबले स्थानीयस्तरमा उत्पादन भएका ती वस्तु तथा गतिविधिलाई अगाडि बढाउने जनाउँदै काठमाडौंतिरका संघ संस्थासँग समन्वय गरिरहेको बताउनुभयो ।

नेपाली ग्रहकभन्दा विदेशी ग्राहकहरु बढी आकर्षक र खरिद गर्नेगरेको उहाँको भनाई छ । आम नागरिकको मागलाई मध्यनजर गर्दै आवश्यक सामग्रीको उत्पादन गरि स्थानीयलाई रोजगारी अवसर सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको उहाँले बताउनुभयो । घरमा आमा र बुवासहित ६ सदस्यको परिवार रहेको जनाउँदै पसलबाट सन्तोषजनक आम्दानी भइरहेको बताउनुभयो ।

यस्तै स्थानीय हेमन्त थारुले थारु जातिका लागि ज्ञानुले निकै सह्रानिय कार्य गरेको प्रशंसा गर्नुभयो । यस क्षेत्रको मात्र नभएर सिंगो थारु समुदायको पहिचान जोगाउने भुमिका खेलेको उहाँको बुझाई छ । स्थानीय स्रोत साधनको प्रयोग गरेर रोजगारीका अवसर सिर्जना गर्नुको साथै आम्दानीको राम्रो पाटो भएको समेत हेमन्तले चर्चा गर्नुभयो । अन्य थारुलाई पनि उहाँले सो बाटोमा लाग्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया