पाहुनाको पर्खाइमा सैनामैना थारु होमस्टे, सस्तो शुल्कमा आरामदायी व्यवस्था


लक्की चौधरी
सैनामैना (रुपन्देही), चैत १ गते । रुपन्देही २, उचडिहवामा सञ्चालनमा आएको सैनामैना थारु होमस्टे पहुनाको पर्खाइमा छ । २०७८ पुस १९ गते औपचारिकरुपमा सञ्चालनमा ल्याइएको थारु होमस्टेमा युवाहरुको विशेष आकर्षण रहेको छ । गाउँमै घरको काम गर्दै सेवामुलक व्यवसाय सञ्चालन गर्न पाउँदा गाउँलेहरु खुशी रहेको उचडिहवाका थारुहरुको भनाई छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष खुशीराम चौधरीकाअनुसार नवलपरासीको अमल्टारी थारु होमस्टेको अनुगमन भ्रमणले उचडिहवामा थारु होमस्टे सञ्चालन गर्ने भेउ मिलेको बताउनुभयो । थारु कला संस्कृति र परिकार बेचेर गाउँमै युवाहरुलाई स्वरोजगार बनाउने राम्रो उपाय होमस्टे भएको उहाँको भनाई छ । उचडिहवाको नजिकमा लुम्बिनी र चुरे पहाड अवस्थित रहेकाले पाहुनालाई दुई तीन दिनसम्म घुमाउन सक्ने राम्रो अवसर आफूहरुलाई भएको उहाँले बताउनुभयो ।

२०७१ सालबाट होमस्टे सञ्चालनका लागि भौतिक संरचना बनाउन शुरु गरेपनि गाउँमा होमस्टे सञ्चालनमा ल्याउन सात वर्ष लागेको उहाँको भनाई छ । गाउँको साझा देवताको थान डिहुवारथान रहेको परिसरमै होमस्टेको सांस्कृतिक हल निर्माण गरेका गाउँलेहरुले त्यही हलमा औपचारिक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेगरेका छन् । अध्यक्ष चौधरीकाअनुसार बैठक हल निर्माणपछि मात्र घरमा होमस्टे सञ्चालन ल्याइएको हो ।

होमस्टे सञ्चालनका लागि दुई लाख रुपियाँको दरले सरकारले सहयोग गरेपनि व्यक्तिको थप ६ लाख लगानी गरेर ८ लाखमा होमस्टे घर निर्माण गरिएको उहाँको भनाई छ । अहिले ६ वटा घरमा मात्र होमस्टे सञ्चालनमा रहेपनि त्यसलाई बढाउँदै लगिने योजना रहेको बताउनुभयो । एक घरमा दुई कोठा र चारवटा बेडको हिसावले अहिले होमस्टे सञ्चालनमा ल्याइएको छ । होमस्टे थारु घरको डिजाइनमा भने नरहेको उहाँको भनाई छ । बजारको होटल रुमजस्तै आधुनिक पक्की भवनमा होमस्टे सञ्चालनमा ल्याइएका छन् । सफा र सुन्दर बेड होमस्टेमा भएपनि थारु संस्कृति झल्किने घर नभएको उहाँले प्रष्ट पार्नुभयो ।

होमस्टे सञ्चालन घर निर्माणका लागि गाउँलेहरुले थारु संस्कृति झल्किने घर निर्माणको प्रयास गरेपनि नगरपालिकाका इन्जिनियरले नमानेर अर्कै डिजाइन गरिदिएपछि त्यस्तो भएको अध्यक्ष चौधरीले बताउनुभयो । नगरपालिकाको केही लगानी रहेकाले पनि त्यस्तो हुन गएको उहाँले सुनाउनुभयो । यद्यपि बाँकी संरचना थारु संस्कृति र परम्परा झल्किने खालको बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

होमस्टे सञ्चालक समितिले पाहुनालाई राख्ने पालो प्रणाली बनाएको छ । गाउँमा पाहुना बस्न आएमा पालैपालो होमस्टेमा पाहुना राख्ने र थारु परिकार खुवाउने व्यवस्था मिलाइएको अध्यक्ष थारुले बताउनुभयो । एक रातको कोठाको शुल्क ५ सय रुपियाँ मात्र तोकिएको छ । सादा खाना १५० रुपियाँ शुल्क तोकिएको भएपनि पाहुनालाई थारु युवाहरुको सांस्कृतिक कार्यक्रम देखाउने व्यवस्था मिलाइएको छ । सांस्कृतिक कार्यक्रम देखाएबापत युवाहरुले एक रातको ३ हजार रुपियाँ शुल्क लिने गरेको र त्यसमध्ये १० प्रतिशत रकम सञ्चालक समितिलाई जानेगरेको अध्यक्ष चौधरीको भनाई छ ।

अध्यक्ष चौधरीकाअनुसार होमस्टेमा आउने पाहुनालाई थारु परिकार अनदीको भात, चेची, पतोसनी, ढिक्री, लोकल कुखुराको मासु, हाँस, सुंगुरको मासु, माछा, सिध्राको परिकार, सिपी, घोङ्घी, मुसाको अचार, बयरको चटनी, लोकल पेयपदार्थले स्वागत गर्ने गरिएको छ । मुख्य राजमार्ग छेउमै रहेको सैनामैना थारु होमस्टेमा आउन पाहुनालाई समस्या नरहेकाले व्यवसाय बढ्ने अपेक्षा रहेको अध्यक्ष चौधरीको बुझाई छ ।

होमस्टे सञ्चालक समितिका सचिव सूर्जमान थारुले सैनामैनामा ६७ थारु घरधुरी रहेकाले थप घरमा होमस्टे विस्तारको तयारी भइरहेको बताउनुभयो । भर्खर सञ्चालनमा आएको होमस्टे भएकाले अझै प्रचार प्रसारको काम हुन नसकेको उहाँको भनाई छ । होमस्टे सञ्चालनमा युवाहरुको सक्रियताले आशा जगाएको उहाँले बताउनुभयो । अरु गाउँको थारु होमस्टेमा बुढापाकाहरुको सक्रियता देखिने भएपनि सैनामैना थारु होमस्टेमा युवाहरुको आकर्षणले गाउँबासी उत्साहित रहेको सचिव थारुले बताउनुभयो ।

खुशीराम चौधरी (अध्यक्ष)

थारु डिहुवारथान परिसरमा करिब पाँच कठ्ठा सरकारी जमिन छ । एक छेउमा देवता बस्ने डिहुवारथान र छेउमा सांस्कृतिक कार्यक्रम गर्ने करिब तीनसय व्यक्ति अट्ने सांस्कृतिक पक्की हल निर्माण गरिएको छ । डिहुवारथान र सांस्कृतिक हल निर्माण गरेको जग्गा अहिलेसम्म दर्ता नरहेको अध्यक्ष चौधरीले बताउनुभयो । नेकपा (एमाले) का नेता विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्रमा रहेको सो उचडिहवा थारु गाउँमा होमस्टे सञ्चालनको भौतिक संरचना निर्माणमा नेता पौडेलको आर्थिक सहयोग रहेको चौधरीले बताउनुभयो ।

थारु सांस्कृतिक हल रहेको भवन छेउमै ससाना दुई कोठे भवन छन् । एउटा भवनमा होमस्टेमा आउने पाहुनाका लागि खाना पकाउने भान्सा प्रयोजनको काम हुनेगरेको छ भने अर्को दुई कोठे भवनमा वडा कार्यालय राखिएको छ । वडा कार्यालयको सबै काम त्यहीबाट सञ्चालित छ । ठूलो आङ्गन परिसर भएकाले गाडी पार्किङको पनि राम्रो सुविधा छ । सांस्कृतिक भवन तथा डिहुवारथान रहेको जग्गा वरिपरि पक्की पर्खाल र राम्रो गेट निर्माण गरिएकाले जग्गा सुरक्षित रहेको अध्यक्ष चौधरीले बताउनुभयो । मुख्य राजमार्गबाट करिब तीनसय मिटर उत्तरमा अवस्थित थारु सांस्कृतिक भवनरहेको जग्गा दर्ता प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

पक्की डिहुवारथान
गाउँको सझा देवता बस्ने डिहुवारथान छेउमै ठूलो पीपलको रुख छ । पीपलको रुखमुनि उहिले गाउँबासीले देउता राखेर पूजापाठ गर्नेगरेका थिए । तर अहिले सोही ठाउँमा पीपलको रुखमुनी एक कोठे पक्की भवन बनाइएको छ । सो भवनमा थारु देउताहरु आसीन छन् । गाउँको सामुहिक पूजापाठ गर्दा र देउताको संरक्षणमा पक्की भवन निर्माणले सहयोग गरेको गाउँलेहरुको बुझाई छ । तर सो डिहुवारथान भवनभित्र थारु देवी देउता आसिन भएपनि डिहुवारथानको पहिचान दिन भने बाँकी रहेको अध्यक्ष चौधरीको भनाई छ ।

तिव्ररुपले शहरीकरण भइरहेको सो ठाउँमा थारु डिहुवारथानको जग्गा संरक्षण गर्नु नै प्रमुख चुनौति रहेको उहाँले बताउनुभयो । जग्गा दर्ता नभएपनि गाउँलेको सामुहिक प्रयासले सदियौंदेखि सो जग्गा थारुहरुले उपभोग गर्दैआएको स्थानीय सरकारलाई जानकारी रहेको उहाँले बताउनुभयो । अहिले पक्की पर्खालले घेरबार गरी जग्गाको राम्रो संरक्षण गरिएको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया