हमार पहुरा डट कम
सौराहा (चितवन), चैत ६ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन आजदेखि चितवनको सौराहामा शुरु हुँदैछ । महाधिवेशनमा भाग लिन संघीय प्रतिनिधिहरु सौराहा पुग्नेक्रम जारी रहेको छ । महाधिवेशनको उदघाटनसत्र आज साँझ ३ बजे लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गर्नुहुने फोनिज केन्द्रले जनाएको छ ।
महाधिवेशनमा प्रस्तुत हुने महासचिवको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन फोनिज सचिवालय र संघीय समितिले पारित गरेको छ । शनिबार साँझ बसेको सचिवालय बैठकले पारित गरेको प्रतिवेदन लगत्तै पछि बसेको संघीय समितिले अनुमोदन गरेको थियो । यसअघिको ३७ सदस्यीय संघीय समितिलाई विस्तार गरी ४७ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ ।
यसअघि फोनिजको छैठौं महाधिवेशन २०७४ चैत २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको थियो । सो महाधिवेशनपछि चार वर्षपछि सातौं महाधिवेशन हुन लागेको हो । फोनिज कार्यसमितिको समयावधि तीन वर्षको भएपनि कोभिड १९ का कारण महाधिवेशन अवधि लम्बिन गएको फोनिजको भनाई छ । महाधिवेशनका लागि पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका प्रतिनिधि चितवन पुग्नेक्रम जारी रहेको छ । केही जिल्लाका प्रतिनिधि शनिबार रातीसम्म सौराहा पुगिसक्नुभएको छ भने बाँकी प्रतिनिधिहरु आज दिउँसोसम्म आइपुग्ने आयोजकले जनाएको छ । उदघाटनसत्र सौराहामा रहेको थारु कल्चरल हाउसको सभाकक्षमा हुने तय भएको फोनिजले जनाएको छ ।
फोनिजमा देशभरका ६० जिल्ला शाखा, ७ प्रदेश समिति र ८ वटा वैदेशिक शाखा रहेका छन् । फोनिजमा चार हजार बढी आदिबासी जनजाति पत्रकार आवद्ध छन् । फोनिज संघीय समितिकाअनुसार सातौं महाधिवेशनमा ४२४ जना प्रतिनिधिहरुले भाग लिनुहुनेछ । दुई कार्यकाल अध्यक्ष रहनुभएका अध्यक्ष डण्ड गुरुङकाअनुसार सातौं महाधिवेशनले सर्वसम्मत कार्य समिति चयनको प्रयास थालेको छ ।
फोनिज नेतृत्वका लागि अहिलेसम्म तीन जना प्रत्यासी देखिनुभएको फोनिज केन्द्रले जनाएको छ । जसमा वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष लक्की चौधरी र महासचिव मनोज घर्तीमगरको दावी देखिएको छ । अध्यक्ष गुरुङकाअनुसार यसअघि छैठौं महाधिवेशनले पदाधिकारीमा सर्वसम्मत गरेको अनुभवका आधारमा सातौं महाधिवेशनबाट पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास थालिएको छ । पदाधिकारीमा सर्वसम्मत गर्ने र सदस्यमा धेरै आकांक्षी देखिएमा निर्वाचन गराउने तयारी फोनिज केन्द्रको छ । यद्यपि कार्य समिति सबै पदमा सर्वसम्मतको प्रयास भइरहेको उहाँको भनाई छ ।
फोनिजको मुख्य उद्देश्य आदिबासी जनजातिको सवाल र अधिकारको पैरवी गर्ने, आदिबासी जनजाति पत्रकार मातृभाषी पत्रकारिताको स्तरबृद्धि तथा सशक्तीकरणको पहल गर्ने तथा आदिबासी जनजातिका भाषा, संस्कृति, संस्कारको प्रवद्र्धन गर्ने रहेको फोनिज केन्द्रले जनाएको छ । राज्यको सबै संरचनामा आदिबासीको पहुँचका लागि दवावमूलक कार्यक्रम पनि फोनिजले गर्दैआएको छ ।